आन्दोलनको रुपमा तमु ल्होछार मनाईयो

  नयाँ बुलन्द
126 Shares

मकवानपुर : मकवानपुरमा बसोबास गर्ने गुरुङ समुदायले आफ्नो बिशेष पर्वको रुपमा तमू ल्होछार अर्थात् नयाँ बर्षलाई सामुहिक रुपमा मनाएका छन् । शुक्रबार हेटौंडा ११ स्थित सहिद स्मारकमा शुभकामना आदनप्रदानसँगै नाचगान गरेर ल्होछारलाई मनाएका हुन् ।

तमु ह्युल छोंज धि(गुरुङ्ग राष्ट्रिय परिषद्)मकवानपुरले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले तमू ल्होछारसहित जनजातिको बिशेष पर्वहरुको संरक्षण र प्रवद्र्धनका लागि तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्ने बताए । गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रीय सदस्य जंगबहादुर गुरुङ्गले गणतान्त्रिक नेपालमा ल्होछारमा सार्वजनिक विदा दिनु सकारात्मक भएपनि मौलिक संस्कृती संरक्षण गर्न सरकारले बजेट विनियोजन गर्नुपर्ने बताए ।

‘तमू ल्होछार नेपालकै मौलिक पर्व हो, तर तीन तहको सरकार भएर पनि खासै ध्यान दिएको छैन,’ उनले भने, ‘आर्थिक सहयोग गरेर ल्होछारलाई साँस्कृतिक उत्सवको रुपमा मनाउन ध्यान दिनुपर्छ ।’ नेपाल आदिवासी जनजाति महासंघका मकवानपुर अध्यक्ष समेत रहनु भएको उहाँले आफ्नो भाषा, संस्कृतीसँगै ल्होछार जस्ता पर्वको मौलिकता जोगाउँन आदिवासी जनजाति गम्भीर हुनुपर्ने बेला भएको बताए ।

गुरुङ्ग राष्ट्रिय परिषद् मकवानपुरका अध्यक्ष अमिर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ मकवानपुरका सचिव आत्मराम मोक्तान, थारु कल्याणकारिणी सभा मकवानपुरका जिल्ला सभापती हरिलाल चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल कुमाल समाज सुधार समितिका केन्द्रीय सचिव भैरब बहादुर कुमाल, भुजेल समाज सेवा समितिका केन्द्रीय कोषाध्यक्ष भीम भुजेल, दनुवार जागरण सेवा समिति मकवानपुरका सचिव कृष्ण बहादुर राई दनुवार, सेनानी मेजर विमल गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ, गुरुङ्ग राष्ट्रिय परिषद् मकवानपुरका संरक्षक पुष्प बहादुर गुरुङ लगायतको आतिथ्य रहेको थियो ।

करिब तीन सय ५० जना गुरुङको सहभागिता रहेको कार्यक्रममा गुरुङ्ग पहिरनमा सजिएका गुरुङ्ग युवा युवती, बालबालिकाहरुले गुरुङ्ग साँस्कृतिक नाच, गान प्रस्तुत गरेका थिए । मकवानपुरमा वि.सं. २०५५ सालदेखी गुरुङ समुदायले सामुहिक रुपमा तमू ल्होछार अर्थात् नयाँ बर्ष मनाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार