लक्षित वर्गको क्षेत्रमा व्यवस्थित लगानी गर्दै चुलाचुली गाउँपालिका

  राम योङहाङ
196 Shares

इलाम :  संघीयताको कार्यान्वयनसँगै स्थानीय तहको संरचना निर्माणका कार्यहरु भएपनि लक्षित वर्गले भने राज्यबाट प्राप्त गर्नुपर्ने सेवाबाट बञ्चित भएको गुनासो आईरहेको छ । कतिपय स्थानीय तहले लक्षित वर्गका लागि कार्यक्रम नै राखेका छैनन् भने कतिपयले अत्यन्तै कममात्र खेका छन् । कार्यक्रम राखेका स्थानीय तहमा समेत लक्षित वर्गको सहभागिता शून्यजस्तै हुँदा राज्यको साथ पाउनुपर्ने वर्ग नै सेवाबाट बञ्चित भएको देखिएको छ ।

यसअघि स्थानीय स्वायत्त शासन ऐन, २०५५ अनुसार तत्कालीन स्थानीय निकायले अभ्यास गरिरहेको लक्षित वर्ग कार्यक्रमलाई संघीय शासन व्यवस्थामा झनै सहज र पहुँचयोग्य बनाउने भनिएपनि लक्षित वर्गले स्थानीय तहहरुबाट सामान्य सेवा लिनसमेत समस्या भोग्नुपरेको गुनासो आइरहेको छ ।

स्थानीय तहहरुले भौतिक विकासका कामलाई प्राथमिकता दिएको तर महिला, बालबालिका, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित तथा अल्पसङ्ख्यकको हितको विषय प्राथमिकतामा नपरेको भन्दै लक्षित वर्ग र त्यसका अभियान्ताहरु असन्तुष्ट छन् ।

सोही असन्तुष्टलाई इलामको चुलाचुली गाउँपालिकाले भने सम्बोधन गर्ने भएको छ । चुलाचुली गाउँपालकाले कानुनी रुपमा नै कार्यविधि तयार गरी लक्षित वर्गको क्षेत्रमा समेत लगानी बढाउने भएको छ । गाउँपालिकाले भौतिक विकाससँगै विषयगत क्षेत्रको विकास गर्न सम्बन्धित लक्षित वर्गको छुट्टाछुट्टै संचालन तथा व्यवस्थापन कार्यविधि पारित गरी सो क्षेत्रमा लगानी बढाउने तयारी गरेको हो ।

कार्यविधि बमोजिम पहिलो चरणमा गाउँपालिकाले पाँचवटा लक्षित वर्गको समन्वय समिति गठन गरेको छ । आदिवासी जनजाति, महिला, दलित, युवा तथा खेलकुद र भाषा, साहित्य, संस्कृति तथा पर्यटन प्रवर्द्धन समन्वय समिति गठन गरी सम्बन्धित क्षेत्रको नीतिनिर्माण गर्न, योजना तथा कार्यक्रम तर्जुमा एवम् कार्यान्वयन गर्न जिम्मेवारी दिएको छ ।

आदिवासी जनजातिको क्षेत्रमा काम गर्न मिलन राईको अध्यक्षतामा १५ सदस्यीय समन्वय समिति गठन भएको हो । उपाध्यक्षमा सुदेश राई, सचिवमा छलिमाया कुमाल, सहसचिवमा विजेन्द्र लिम्बु र कोषाध्यक्षमा सरु पालुङ्वा छन् ।

महिलाको क्षेत्रमा काम गर्न भीमा पौडेलको अध्यक्षतामा १३ सदस्यीय समन्वय समिति गठन भएको छ । समितिका उपाध्यक्षमा सन्तु लिम्बु, सचिवमा कला केरुङ, सहसचिवमा इश्वरा निरौला र कोषाध्यक्षमा गीता पुरी छन् ।

युवा तथा खेलकुदको क्षेत्रमा काम गर्न देवेन्द्र तुम्रोकको अध्यक्षतामा १५ सदस्यीय समन्वय समिति गठन भएको हो । समितिका उपाध्यक्षमा राजेन्द्र मगर, सचिवमा लिलानाथ बाँस्कोटा, सहसचिवमा सन्देश राई र कोषाध्यक्षमा सोफिया केरुङ छन् ।

दलित क्षेत्रमा काम गर्न जनकबहादुर नेपालीको अध्यक्षतामा ११ सदस्यीय समन्वय समिति गठन भएको छ । समितिका उपाध्यक्षमा लक्ष्मी विक, सचिवमा खगेन्द्र दर्नाल, र कोषाध्यक्षमा पवित्रा बराईली छन् ।

भाषा, साहित्य, संस्कृति तथा पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गर्न विवश बलिभद्र कोइरालाको अध्यक्षतामा १५ सदस्यीय समन्वय समिति गठन भएको छ । समितिका उपाध्यक्षमा सुन्दर कुरुप लावती, सचिवमा रुद्र प्रभात गिरी, सहसचिव चेतन आङथुपो र कोषाध्यक्षमा वविता राई छन् ।

विधागत रुपमा समन्वय समितिमार्फत गाउँपालिकाले बर्सेनि बजेटको व्यवस्था गर्दै लैजाने गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । ‘पूर्वाधार विकासमा प्राथमिकता दिँदा अन्य लक्षित वर्ग पछि पर्दै गएकाले व्यवस्थित विकास गर्न विधागत रुपमा सम्बन्धित क्षेत्रको समन्वय समिति गठन गरिएको हो’ अध्यक्ष केरुङले भने, ‘अब सम्बन्धित क्षेत्रमो नीति निर्माण, योजना निर्माण एवम् कार्यान्वयन यही समितिले गर्नेछ । हामी गाउँपालिकाबाट बजेटको व्यवस्थापन गर्नेछौं ।’ बाँकीको समेत समन्वय समिति विस्तारै गठन गर्दै लैजाने अध्यक्ष केरुङले बताए ।

प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले गाउँपालिकाको कार्यविधि अनुसार समन्वय समिति गठन गरिएको बताउँदै सबै समितिहरु गाउँपालिकाप्रति जवाफदेही भएर कार्यसम्पादन गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार