अधिकांश प्रदेश सरकारमा एमालेको दाबी

  नयाँ बुलन्द
21 Shares

काठमाडौं । सरकार निर्माणको लफडा सकिएसँगै संघ र ७ वटा प्रदेशका करिब ३ दर्जन महत्तवपूर्ण पदहरुको बाँडफाँमा सत्ता गठबन्धन केन्द्रित हुने देखिएको छ । गठबन्धनमाथि राष्ट्रपति, सभामुख, उपसभामुख, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष, ७ प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु गरी १४, प्रदेशसभा सभामुख र उपसभामुखसहित १४ जना लगायत करिब ३ दर्जन पदहरुको बाँडफाँड टुङ्ग्याउनुपर्ने दवाव छ ।

संघमा बन्ने सरकारको स्वरुपसँगै प्रदेशमा पनि यही गठबन्धनबाटै सरकार बन्ने निश्चित छ । प्रदेशहरुको संसदीय अङ्कलाई हेर्ने हो भने माओवादी केन्द्रले कम्तीमा २ प्रदेशको नेतृत्व गर्ने देखिन्छ भने बाँकी ५ वटा प्रदेशको नेतृत्व एमालेले गर्ने देखिन्छ ।

प्रदेश १ आकारमा ठूलो रहेको एमालेकै नेतृत्वमा सरकार बन्ने देखिएको छ । यो प्रदेशमा एमाले-माओवादी केन्द्र गठबन्धन दुई तिहाइ नजिकको बहुमतमा छ । ९३ सदस्य रहेको प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ । यो प्रदेशमा एमाले ४०, माओवादी केन्द्र १३, राप्रपा ६ र जसपाका १ सांसदसहित करिब दुई तिहाइ नजिकको सरकार बन्ने अवस्था छ ।

१०७ सांसद रहेको मधेश प्रदेशमा सरकार बन्न ५४ सांसद संख्या आवश्यक रहन्छ । यो प्रदेशमा एमाले २३, माओवादी केन्द्र ८, राप्रपा १, जसपा १६, जनमत पार्टी, नागरिक उन्मुक्ति १ सांसद सहित ६२ सांसद रहेको बहुमतको सरकार बन्ने भएको छ । यो प्रदेशको मुख्यमन्त्रीमा एमाले र जसपाको दाबी हुन सक्छ । यस प्रदेशमा संसदीय दलको नेता टुङ्गिनसकेकोले मुख्यमन्त्री को बन्छ भन्ने स्पष्ट छैन ।

१ सय १० सांसद रहेको बागमती प्रदेशमा सरकार गठनका लागि ५६ सांसद संख्या आवश्यक रहेको छ । एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १३ सांसदसहित बहुमतको सरकार बन्ने सम्भावना छ । यो प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो नेतृत्वमा सरकार बनाउने सम्भावना छ । ६० सांसद रहेको गण्डकी प्रदेशमा सरकार बन्न ३१ सांसद संख्या आवश्यक पर्छ ।

एमाले २२, माओवादी केन्द्र ८, राप्रपा २ सहित स्पष्ट बहुमतको सरकार बन्ने भएको छ । यो प्रदेशमा एमालेकै नेतृत्वमा सरकार बन्ने देखिन्छ । एमालेकै नेतृत्वमा सरकार बन्दा नेता खगराज अधिकारी मुख्यमन्त्री बन्ने छन् । अधिकारी एमाले गण्डकी प्रदेशका संसदीय दलका नेतामा चयन भएका छन् ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सरकार गठनका लागि ४४ सांसद संख्या आवश्यक पर्छ । २९ सांसदसहित एमाले पहिलो दल बनेको छ । यस्तै, माओवादी केन्द्र ८, राप्रपा ४, जसपा ३, जनमत पार्टी, नागरिक उन्मुक्ति ४ सांसदसहितको गठबन्धन सरकार बन्ने सम्भावना छ ।

संसदीय दलको नेतृत्व कसले गर्ने भन्ने टुङ्गो नभइसके पनि सरकारको नेतृत्व भने एमालेले नै गर्ने देखिन्छ । ४० सांसद रहेको कर्णाली प्रदेशमा सरकार गठनका लागि २१ सांसद संख्या आवश्यक पर्छ । एमाले १०, माओवादी केन्द्र १३, राप्रपा १ सांसदसहित बहुमतको सरकार बन्ने लक्षण छ । यो गठबन्धनमा माओवादी केन्द्र ठूलो दल रहेकाले सरकार पनि उसैको नेतृत्वमा बन्ने देखिन्छ ।

५३ सांसद रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सांसद संख्या आयश्यक पर्छ । यो प्रदेशमा एमालेका १० सांसद, माओवादी केन्द्र ११, राप्रपा १, नागरिक उन्मुक्ति पार्टी ७ सांसदसहितको स्पष्ट बहुमतको सरकार बन्ने देखिएको छ । यो प्रदेशमा माओवादी केन्द्र र एमालेले सरकारको नेतृत्व आलोपालो गर्न सक्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार