पदवहालीमा मन्त्रीहरूका विविध प्राथमिकता

  नयाँ बुलन्द
126 Shares

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा आइतबार मात्रै प्रधानमन्त्रीमा नियुक्त नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई नेपालको ४४औँ प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको उपस्थिति थियो । समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतको उपस्थिति थियो ।

समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकार आठ सदस्यीय बनेको छ ।प्रधानमन्त्री प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । उनलाई सरकारमा दोस्रो वरीयता मिलेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक योजना तथा निर्माणमन्त्री बनेका छन् । उनी मन्त्रिपरिषद्मा तेस्रो वरीयतामा रहनेछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका छन् । उनले मन्त्रिपरिषद्मा चौथो वरीयता पाएका छन् । त्यसैगरी प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा एमालेबाट बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद ज्वालाकुमारी साह, बैतडीका सांसद दामोदार भण्डारी र धनकुटाका सांसद राजेन्द्रकुमार राई पनि मन्त्री बनेका छन् ।

त्यस्तै डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिक सांसद अब्दुल खानले पनि मन्त्रीको जिम्मेवारी पाएका छन् । उनले उद्योग मन्त्रालय लिने सहमति भएको छ । तर तीन उपप्रधानमन्त्रीबाहेक अरु चार मन्त्रीले विनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका छन् । सात दलीय गठबन्धनले अबको केही दिनमा थप मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी गरेको छ ।

राहदानी र लाइसेन्स लिन लाइन बस्नु नपर्ने

राहदानीका लागि लामालामा लाइन बस्नुपर्ने र नागरिकले हैरानी खेप्नुपरेको समस्यालाई सरकारले सम्बोधन गर्ने भएको छ । राहदानी विभाग त्रिपुरेश्वरमा मध्यरातदेखि नै नागरिक लाइनमा बस्नु परेको यर्थाथतालाई मध्यनजर गर्दै सरकारले त्यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेलगत्तै सिंहदरबारमा बसेको पहिलो बैठकले विशेषगरी राहदानी र सवारी चालक अनुमतिपत्रका सम्बन्धमा देखिएको समस्या समाधान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्मा भएका निर्णयका बारेमा जानकारी दिदैं प्रधानमन्त्री दाहालले नै राहदानी र सवारी चालक अनुमतिपत्र लिन लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय भएको जानकारी दिए ।

प्रधानमन्त्रीले भने, ‘राहदानी र सवारी चालक अनुमतिपत्रसम्बन्धी विषयमा लामालामा लाइन र नागरिकको जुन खालको पीडा देखिएको छ । त्यसलाई समयभित्रै नियन्त्रण गर्नेगरी प्रभावकारी ढङ्गले जनतालाई सेवा दिने निर्णय गरेका छौँ ।’

नागरिकले सास्ती नपाऊन् भनेर सुशासनमा केन्द्रित भएको र सबैले सङ्कल्प गरेको उनले जानकारी दिए । उनका अनुसार बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने बारेमा पनि निर्णय गरेको छ । देशमा रहेका समस्या समाधानमा केन्द्रित हुने गरी संकल्प गरेको समेत प्रधानमन्त्री दाहालले जानकारी दिए ।प्रधानमन्त्री दाहालले केही नयाँ गरौँ भन्ने संकल्पका साथ आफूहरू एक ठाउँमा उभिएको बताए । आफ्नो नेतृत्वमा सरकार गठन भएपछि जनतामा आशा जागेको उनको भनाइ छ । उनले गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट जस्तो निर्णय आएको छ, त्यसलाई अहिलेको मन्त्रिपरिषद् समेटेको उल्लेख गरे ।

प्रधानमन्त्रीले भने, ‘हाम्रा अगाडि जटिलता र चुनौतीहरू छन् । जनतामा आशा र भरोसा बढेको देखिएको छ । केही नयाँ गरिछाड्नेहरूको सङ्कल्प भएकाको केन्द्रीकरण भएको छ । त्यसकारण पनि काम गर्न मलाई सहज लागेको छ ।’ उनले मुलुकको अर्थतन्त्रमा देखिएको जटिलतालाई सुधार गर्ने, जनतामा सुशासनको प्रत्याभूति गराउने र सेवा प्रवाहमा केन्द्रीत हुने गरी पहिलो बैठकमा छलफल भएको बताए ।

अर्थतन्त्रलाई सुधार्छौं : पौडेल

नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । सोमवार साँझ अर्थमन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले बिग्रँदो अर्थतन्त्रबाट चिन्तित समस्त नेपाली समाज र अर्थसम्बद्ध संघ–संस्था सबैलाई समस्या समाधानमा आश्वस्त तुल्याउने बताए ।

चुनौति रहे पनि काबुबाहिर नभएकाले समस्या समाधान गरिने उनले बताए । अर्थ क्षेत्रका सरोकारवाला र विज्ञहरूसँगको छलफलबाट अर्थतन्त्रलाई सही दिशा दिने उनको भनाइ छ । ‘मुलुकको अर्थतन्त्र यतिबेला संकटको डिलमा छ । संकटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउनका लागि हामीले धेरै ठूलो मेहनत गर्नुपर्ने छ । आफ्नै र दुनियाँका अनुभवबाट पाठ सिकेर काम गर्छौं,’ पौडेलले भने ।

भ्रष्टाचार नियन्त्रण केन्द्रित हुने छु : श्रेष्ठ

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार न्युनिकरणमा केन्द्रित हुने बताएका छन् ।सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले भ्रष्ट्राचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताए ।

उनले सरकारको मुख्य उद्देश्य सुशासन कायम गरेर सम्बृद्धिमा फड्को मार्नु भएको दाबी गरे । उनले जनताको अपेक्षा अनुरुप शिक्षा, स्वास्थ्य, रोजगारी खाद्यान्न, आवास, खानेपानी लगायतलाई उपलब्ध गराउनुपर्ने भएकाले सोही अनुसार अनुरुप काम गर्ने बताए ।

मन्त्री श्रेष्ठले भ्रष्टाचार गर्नेहरूले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु भन्ने नसोच्न चेतावनी दिए । उनले भ्रष्टाचार गर्नेहरू र आफू अनुकूल ऐन, कानुनहरू बनाउनेहरूको दिन गएको बताए ।

निर्मलाको न्यायकालागि पहल गर्छु : लामिछाने

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो कार्याकालमा निर्मला पन्तको न्यायका लागि काम गर्ने बताएका छन् । शपथ ग्रहणपछि गृह मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिकाकी पन्तको न्यायकालागि सक्दो पहल गर्ने बताएका हुन् ।

उनले गृह मन्त्रालय सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ भएकाले आफूले उक्त मन्त्रालय रोजेको बताए । लामिछानेले गृह मन्त्रालयका बारेमा जनगुनासो बढी आउनेकाले अब पारदर्शी ढंगले काम गर्ने दाबी गरे । पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ’सञ्चारकर्मीका रूपमा काम गर्दा सबैभन्दा बढी गृहमन्त्रालयका बारेमा गुनासो आएको थियो । गृह मन्त्रालय अलि बढी नागरिकको गुनासो भएको, अलि बढी सेवा गर्नुपर्ने ठाउँ हो ।’ उनले आफूमातहत रहने निकाय र अधिकारीलाई हरेक कामकारबाहीमा स्वतन्त्र रूपले सहयोग गर्ने बताए । लामिछानेले भने, ’स्वतन्त्र रूपमा बराबर ढंगले कार्यसम्पादन गर्नेछु । हरेक कामकारबाहीमा स्वतन्त्र ढंगले सहयोग गर्ने मात्र हुन्छ कुनै हस्तक्षेप हुँदैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार