काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न सो दलको निर्वाचनमा देउवाले ६४ मत प्राप्त गरेका छन् ।
उनका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २५ मत प्राप्त गरे । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो ।
सभापति देउवाको उम्मेदवारीको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका थिए् ।
यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा. शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका थिए् । समितिले उम्मेदवारी दरखास्त दिन मङ्गलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरेको थियो ।
कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले यस निर्वाचनलाई महत्वपूर्ण मानिन्छ । कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।
प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणामपश्चात राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी नयाँ सरकार गठनका लागि आह्वान भएसँगै संसद्को सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल सुरु गरिसकेको छ । आम युवादेखि विभिन्न वर्गले कांग्रेसमा राजनैतीक परिवर्तनको आवश्यक औँल्याएको छ ।