इलाम : पत्रकार राम योङहाङमाथि भएको दुर्व्यवहारमा संलग्न इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक देवानन्द मिश्रसहित घटनामा संलग्न प्रहरीलाई कारवाही गर्न विभिन्न पत्रकारजन्य संघसंगठनले माग गरका छन् ।
सोमबार नेपाल पत्रकार महासंघ इलाम, प्रेस सेन्टर नेपाल इलाम र प्रेस सेन्टर प्रदेश १ समितिले सोमबार छुट्टाछुट्टै प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्न दोषीलाई कारवाही गर्न मग गरेका हुन् ।
नागरिकको सुरक्षाका लागि खटिरहेको प्रहरीले नागरिकमाथि भौतिक कारवाही गर्नु र त्यस घटनाको रिपोर्टिङ गर्ने पत्रकारमाथि अभद्र व्यवहार गर्ने घटना देशको संविधान र कानुनविपरीत रहेको नेपाल पत्रकार महासंघ इलामले बताएको छ ।
महासंघ इलाम शाखाका सचिव भीम चापागाईंद्वारा हस्ताक्षरित विज्ञप्तीमा सो घटनाले सुरक्षाकर्मीबाटै प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोज्ने मनसाय छर्लङ्ग बनाएको उल्लेख गर्दै घटनामा संलग्न दोषीलाई कारवाही गर्दै नागरिकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा गर्न र त्यस अभियानमा अहोरात्र खटिरहेका पत्रकारको भौतिक, पेसागत सुरक्षा सुनिश्चित गर्न महासंघले माग गरेको छ ।
त्यस्तै प्रेस सेन्टर इलाम र प्रदेश १ समितिले देशको सुरक्षाको जिम्मा पाएको प्रहरीका जिम्मेवार अधिकारीले पत्रकार योङहाङको मोबाइल खोसेर नियन्त्रणसँगै, हिरासतमा लिने र भिडियो डिलिट गर्ने काम स्वतन्त्र पत्रकारीतामाथि डर र त्रास फैलाउने गतिविधि भएको बताउँदै घटनाको सत्यतथ्य छानविन गरि निजहरुलाई आवश्यक कारबाही गर्न माग गरेको छ ।
प्रमुख डिएसपी दिलिपकुमार गिरीको निर्देशनमा प्रहरी निरिक्षक देवानन्द मिश्रले पत्रकार योङ्हाङलाई नियन्त्रणमा लिएर माथिको आदेश भन्दै हिरासतमा राखि अभद्र व्यवहार गरि कैद गरेको भिडियो डिलिट गरेको घटनाले संविधानमा उल्लेखित प्रेस स्वतन्त्रताको हकमाथि गम्भिर प्रहार भएको विज्ञप्तीमा उल्लेख छ ।
के भएको थियो ?
एक घटनाका विवादित दुई पक्षबिच एकआपसमा सहमति भएपछि मेलमिलापका लागि इलाका प्रहरी कार्यालय पुगेका थिए । मेलमिलापका क्रममा पक्षहरुबिच सहमतिपछि एकआपसमा हात मिलाउँदै गरेको भिडियो खिचेको भन्दै प्रहरी हवल्दार तारा मगरातीले पक्षमध्येकै एक पर्भात जवेगूको मोबाइल खोसेर गालीगलौज र कुटपिट गरे । हवल्दार मगरातीले जवेगूमाथि कुटपिट गर्दै गरेको भिडियो समाचारका लागि पत्रकार राम योङहाङले खिचे । तर पत्रकार योङहाङलाई समेत मगरातीले दुर्व्यवहार गर्दै मोबाइल खोसे ।
यसरी प्रहरी हवल्दार मगरातीको ज्यादती भइरहँदा प्रहरी सहायक निरिक्षक अर्जुन सापकोटा भने मुकदर्शक भइरहे । लगत्तै प्रहरी निरिक्षक देवानन्द मिश्रले उनै जवेगूलाई नै उल्टै कुटपिट गर्दै प्रहरी हिरासतमा पठाए । त्यतिमात्र होइन, प्रहरीले कुटपिट गर्दै गरेको भिडियो खिचेको भन्दै पत्रकार योङहाङ र सँगै रहेका जवेगूका बाबु पृथीमान जवेगूलाई समेत हिरासतमा पठाए ।
उनीहरु करिब आधा घण्टापछि हिरासतमुक्त भए । हिरासतमुक्त त भए नै, तर प्रहरीको ज्यादतीको भिडियो भने सुरक्षित गर्न सकेनन् । पत्रकार योङहाङले कैद गरेको प्रहरीको ज्यादतीको भिडियो समेत प्रहरीले जबरजस्ती डिलिट गरिदिए ।
नेपाल पत्रकार महासंघ इलाम शाखाका कोषाध्यक्ष, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य समेत रहेका पत्रकार योङहाङ सौर्य राष्ट्रिय दैनिकका संवाददाता एवम् नयाँ बुलन्द डटकमका सम्पादक हुन् ।