विश्वकपमा आज : क्रोएसिया र ब्राजिल तथा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुदैँ

एजेन्सी : फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुनेछ । आज क्वाटरफाइनलका दुई खेलमा प्रतिस्पर्धा हुनेछ ।

पहिलो क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिलको सामना गर्नेछ । यो खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । सन् २००२ को च्याम्पियन ब्राजिल २०१४ मा बाहेक क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको छैन ।

क्रोएसियासँग भिड्दै गर्दा ब्राजिल कीर्तिमानी छैटौं पटक विश्व च्याम्पियन बन्ने आफ्नो आशा जीवित राख्न प्रयास गर्नेछ । अन्तिम १६ मा दक्षिण कोरियालाई ४–१ ले हराएर अघि बढेको ब्राजिल सोही जितको लयलाई निरन्तरता दिन चहान्छ ।

गाब्रियल जेसस र एलेक्स टेलासलाई गुमाइसकेको ब्राजिल नेयमारको आगमनले टोलीको मनोवल बढेको छ । चोटका एलेक्स सान्ड्रोले खेल्ने सम्भावना न्युन छ । डानिलो, थियागो सिल्भा, मार्किन्हस, एडर मिलिसाओ, क्यासेमिरो, लुकास पाक्वेटा, राफिन्हा, भिनियस जुनियर र रिचार्लीसनले आक्रमण सम्हाल्ने सम्भावना छ ।

यता, लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक क्वाटरफाइनलमा पुगेको क्रोएसिया पनि ब्राजिललाई स्तब्ध पार्दै लगातार दोस्रो पटक सेमिफाइनलमा पुग्ने दाँउमा हुनेछ । अन्तिम १६ मा जापानलाई पेनाल्टी सुटआउटमा मुस्किलले हराएर क्रोएसियाले ब्राजिलसँगको भेट पक्का गरेको हो ।

तर, पेनाल्टीमा क्रोएसिया निकै भाग्यशाली रहँदै आएको छ । जोडी बोर्ना सोसा र जोसिप स्टानिसिक ब्राजिलविरुद्धको खेलमा उपलब्ध हुनेछ । डालिकले आफ्नो सुरुवाती ११ मा धेरै परिवर्तन गर्ने सम्भावना छैन, मिडफिल्ड मास्टर्स लुका मोड्रिच, मार्सेलो ब्रोजोभिच र माटेओ कोभासिचले सुरुवातमै खेल्ने सम्भावना छ ।

यस्तै अर्को खेलमा दुई पटकको च्याम्पियन अर्जेन्टिना र नेदरल्यान्ड्सबीच राति १२ः४५ बजे हुनेछ । यो खेल लुसेल आइकोनिक रंगशालामा हुनेछ । दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ ।

नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ ले तथा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले हराएर अनितम आठमा भेट पक्का गरेको हो ।

नेदरल्यान्ड्स आफ्नो पछिल्लो पाँच विश्वकपमध्ये चारपटक अन्तिम आठमा पुगेको थियो । २००६ मा अन्तिम १६ बाट बाहिरिएको नेदरल्यान्ड्स २०१० र १०१४ मा सेमिफाइनलमा पुगेका थिए । २०१० को उपविजेता नेदरल्यान्ड्स पछिल्लो १९ खेलमा अपराजित छ ।

कोडी गाक्पो, डेन्जेल डम्फ्रिज, मेम्फिस डिपाए र डेली ब्लिन्ड अर्जेन्टिनाविरुद्ध मुख्य हतियार हुनेछन् । यता, सात पटकको बालोन डि ओर विजेता लियोनेल मेस्सी निकै उच्च लयमा रहेको छ । दुई हेवीवेको भिडन्तमा कसले बाजी मार्ने त्यो हेर्न बाँकी छ ।

२०१४ को उपविजेता अर्जेन्टिनाले सन् १९९८, २००६ र २०१० मा क्वाटरफाइनलका खेल गुमाएका थिए । त्यो हार एकपटक नेदरल्यान्ड्स र दुईपटक जर्मनीसँग थियो । यसपटक अर्जेन्टिना त्यो भन्दा अघि बढ्न चहान्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार