विजयपुर : जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रदेश १ मा विगतको तुलनामा खुम्चिएको छ ।
अघिल्लो निर्वाचनमा ३ जना प्रदेशसभा सदस्य पाएको जसपाले यसपटक समानुपातिकबाट एक सिट मात्र पाएको छ । एमालेले धोका दिएका कारण प्रदेशको सिट घटेको जसपाका प्रदेश १ इन्चार्ज रकम चेम्जोङले आरोप लगाएका छन् ।
उनका अनुसार प्रदेशका १४ जिल्लामध्ये एमालेसँग सुनसरी र मोरङ गरी २ जिल्लामा मात्रै तालमेल गरेको थियो । प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं. १ जसपाले लिएको थियो भने अन्य क्षेत्रमा एमालेलाई छाडेको थियो । यस क्षेत्रमा तालमेलअनुसार प्रतिनिधिसभामा जसपाले जित्यो भने प्रदेशसभाका २ वटै सिट एमालेले जित्यो ।
यस्तै प्रतिनिधिसभामा मोरङ क्षेत्र नं. ५ जसपाले लिएको थियो अन्य क्षेत्र एमालेलाई छाडेको थियो । तर, सो क्षेत्रमा जसपा पराजित भयो । चेम्जोङले भने, ‘एमालेले सूर्यबाट त उम्मेदवार उठाएन तर, विद्रोही उठाइदियो । एमालेले पनि जितेन अनि हाम्रा उम्मेदवार पनि पराजित बने ।’
उनका अनुसार प्रदेशभर प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्रमा मोरङ र सुनसरीका २ सहित जम्मा २० वटा निर्वाचन क्षेत्रमा जसपाका उम्मेदवार थिए । तर, कुनै क्षेत्रबाट पनि विजयी भएनन् ।
२०७४ सालमा प्रदेश १ बाट जसपाका प्रतिनिधिसभा सदस्य थिएनन् तर, प्रदेशसभामा ३ जना सांसद् थिए । तर, यसपटक प्रतिनिधिसभामा एक सिट जिते पनि प्रदेशसभामा भने एकै सिट पनि जसपाले जित्न सकेन । समानुपातिकबाट जम्मा एक सिट भने पाएको छ ।
जसपा धरान अध्यक्ष ताजुव लिम्बूका अनुसार २०७४ को निर्वाचनमा प्रदेशसभामा जयराम यादव मोरङबाट प्रत्यक्षबाट निर्वाचित भएका थिए । समानुपातिकतर्फ धनकुटाका आर्सी तुम्बा र झापाबाट राधा थापा निर्वाचित भएका थिए ।
प्रदेशसभामा सुनसरी क्षेत्र ४ (क) मा जसपाको उम्मेदवार थिए । सुनसरी क्षेत्र नं. ४ (क) का उम्मेदवार पनि पराजित भए । इन्चार्ज रकम चेम्जोङका अनुसार मोरङ क्षेत्र नं. ४ (ख), ५(ख) र ६ (ख) मा जसपाका उम्मेदवार थिए भने अन्य क्षेत्रमा एमालेका उम्मेदवार थिए । उनले भने, ‘मोरङमा एमालेले धोका दियो ।’
यसपटक समानुपातिकबाट एकसिट पाए पनि त्यही एक सिट प्रदेश सरकार बनाउन निर्णायक हुने देखिएको छ । चुनावमा एमालेसँग गठबन्धन गरेको जसपाले सरकार निर्माणका कसलाई सहयोग गर्ने भन्ने प्रष्ट भएको छैन । किनभने जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँग चुनावपछि गठबन्धन सकिएको बताएका छन् भने जसपा नेता अशोक राईले एमालेसँग सहकार्य हुने बताउँदै आएका छन् ।