राष्ट्रपति र उपराष्ट्रपति यसरी चुनिन्छन्….

  नयाँ बुलन्द
182 Shares

 

काठमाडाैँ: प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मत परिणाम आइसकेको छ। अब समानुपातिकतर्फको मात्रै मत परिणाम आउन बाँकी छ।

प्रत्यक्षतर्फको मत परिणामको टुंगो लागिसक्दा सत्ता गठबन्धन प्रमुख दल नेपाली कांग्रेस प्रत्यक्षतर्फ ५७, नेकपा एमाले ४४, नेकपा माओवादी केन्द्र १८, नेकपा एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, राष्ट्रिय स्वतन्त्र पार्टी ७, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ४, नागरिक उन्मुक्ति पार्टी ३, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी १, राष्ट्रिय जनमोर्चाले १ र स्वतन्त्रहरू ५ जनाले चुनाव जितेका छन्।

त्यस्तै, प्रदेशसभातर्फ पनि नेपाली कांग्रेस प्रत्यक्षतर्फ १११, नेकपा एमाले ९१, नेकपा माओवादी केन्द्र ५३, नेकपा एकीकृत समाजवादी १५, जनता समाजवादी पार्टी १०, राष्ट्रिय प्रजातन्त्र पार्टी ११, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९, नागरिक उन्मुक्ति पार्टी ५, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी ७, हाम्रो पार्टी नेपाल १ र १२ जना स्वतन्त्र उम्मेदवारहरुले जितेका छन्।

समानुपातिकतर्फ भने नेकपा एमाले हालसम्म पहिलो स्थानमा छ भने दोस्रोमा नेपाली कांग्रेस, त्यसपछि क्रमशः माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी रहेका छन्।

निर्वाचनको सम्पूर्ण नतिजा नसकिँदै भावी सरकारको नेतृत्व कसले गर्छ भन्ने कौतुहलता बढेको छ। निर्वाचनको परिणाम अनुसार कुनै पनि एक दलको मात्रै बहुमत नपुग्दा फेरि पनि गठबन्धन बनाएर नै सरकार बनाउने स्थिति छ। जसकारण पनि नयाँ सरकारको नेतृत्वको चासो र चिन्ता आम नागरिकमा उत्तिकै बढेको छ।

साथसाथै राष्ट्रपति/उपराष्ट्रपति को बन्ला भन्ने चासो आम मानिसमा छ। ५ वर्षका लागि चुनिने राष्ट्रपति र उपराष्ट्रपतिको को बन्ला भन्ने कौतुहहलता हुन स्वाभाविक पनि हो। तर राष्ट्रपति र उपराष्ट्रपति कसरी चुनिन्छन् भन्ने बारेमा भने आम नागरिकहरूलाई थाहा नहुन सक्छ।

राष्ट्रपतिको निर्वाचन हुनका लागि पहिलो कुरा त सम्पूर्ण प्रत्यक्ष समानुपातिक मत परिणाम आइसक्नुपर्छ। त्यसपछि बहुमत बनाएर कुनै एक दलको नेतृत्वमा सरकार गठन हुन्छ। सरकार गठन भइसकेपछि संघीय संसदको बैठक बसेको १५ दिनमा सभामुख र उपसभामुख चुन्नुपर्ने संवैधानिक प्रावधान रहेको छ। त्यसपछि मात्रै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुन्छ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि भने प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेशसभा सदस्यहरू मतदाता हुनेछन्। तर संघीय सांसदहरूले दिएको १ भोट बराबर ७९ र प्रदेशसभा सदस्यले दिएको १ भोटको ४८ मतभार हुने बताउँछन् निर्वाचन आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी सूर्यप्रसाद अर्याल।

उनले राष्ट्रपति हुनका लागि ४५ वर्ष उमेर पुगेको र कानुनले योग्य ठहरिएको व्यक्ति हुनुपर्ने बताए। उनले प्रदेशसभाका सदस्यको एक जनाले दिएको मत ४८ र प्रतिनिधिसभाका एक जना सदस्यले दिएको ७९ जोड्दै ५० प्रतिशतभन्दा बढी मत ल्याउने व्यक्ति नै राष्ट्रपतिमा विजयी बन्ने बताए।

सहायक प्रवक्ता अर्यालका अनुसार पहिलो चरणमा राष्ट्रपतिका लागि इच्छुक सबैले उम्मेदवारी दिन पाएपनि पहिलो चरणबाट निर्वाचित हुन नसकेको खण्डमा भने दोस्रो चरणमा पहिलो चरणमा पहिलो र दोस्रो बनेको उम्मेदवारहरूबीच मात्रै प्रतिष्पर्धा गराइनेछ।

पहिलो चरणमा प्रतिष्पर्धा गर्ने पहिलो र दोस्रो बाहेकका अन्य उम्मेदवार भने प्रतिष्पर्धाबाट बाहिरिने उनकाे भनाइ छ। सहायक प्रवक्ता अर्यालले दोस्रो निर्वाचनको चरणमा पनि कुनै एक उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेको खण्डमा पुनः अर्को पटक मतदान गर्दा सबैभन्दा बढी मत ल्याउने व्यक्ति नै राष्ट्रपतिमा निर्वाचित हुने प्रावधान रहेको बताए।

उनले राष्ट्रपति र उपराष्ट्रपति चुन्दा फरक लिङ्ग र फरक समुदायको हुनुपर्ने भएकाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन एकै चरणमा गर्न नसकिने स्पष्ट पारे।

प्रवक्ता अर्यालले भने, ‘‍राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि इलेक्टोरल कलेज निर्वाचक मण्डलको व्यवस्था छ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि मतदाता भनेको प्रदेशसभाका सदस्यहरू र संघीय संसदका सदस्यहरू हुन्। संघीय संसद भन्नासाथ दुई सदनलाई बुझिन्छ- राष्ट्रियसभा र प्रतिनिधिसभा। हाम्रो संविधानको व्यवस्था अनुसार प्रतिनिधिसभामा सदस्य हुनलाई योग्यता पुगेको व्यक्ति जो ४५ वर्ष उमेर पुगेको छ, त्यस्तो व्यक्तिलाई हामीले राष्ट्रपति/उपराष्ट्रपति बनाउन सक्छौँ। अर्थात् कानुनले योग्य भएका व्यक्तिहरू नै यो पदमा पुग्न सक्नुहुन्छ। एक जना प्रदेशसभाको सदस्यले दिएको मत बराबर ४८ मतभार हुन्छ। संघीय संसदका सदस्यले दिएको मतभार बराबर १ सदस्य बराबर ७९ हुन्छ। एक जनाले दिएको मत ४८ र ७९ जोड्दै जोड्दै गएर राष्ट्रपतिको निर्वाचन हुन्छ। त्यसको कुल मतको ५० प्रतिशतभन्दा बढी ल्याएर मात्र विजयी हासिल हुने व्यवस्था छ। यो दुई चरण प्रणालीबाट हुन्छ। पहिलो चरणमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न कुनै उम्मेदवारले सक्नुभएन भने दोस्रो चरणमा जान्छ। दोस्रो चरणमा पहिलो र दोस्रो मत ल्याउनेलाई मात्र राखिन्छ, अरूलाई रेसबाट हटाइन्छ। दुई जनाको बीचमा प्रतिष्पर्धा गर्दा उहाँहरूले पनि कुल मतको ५० प्रतिशत बढी ल्याउनुपर्छ। यदि दुईमध्ये १ उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सक्नुभएन भने अर्को प्रक्रिया मतदान गराइन्छ। दुई जनाकै बीचमा मतदान हुँदा जसले बढी मत ल्याउँछ, उसैलाई राष्ट्रपतिमा चुनिन्छ। राष्ट्रपति र उपराष्ट्रपति चुन्दा फरक लिङ्ग र फरक समुदायको हुनुपर्छ। पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्छ। महिला राष्ट्रपति भए पुरुष उपराष्ट्रपति हुनुपर्छ। समुदाय पनि फरक हुनुपर्छ। त्यसैले दुईवटा निर्वाचन एकै पटक गर्न सकिँदैन। महिला आउँछ वा पुरुष आउँछ, थाहा नहुने भएपछि एकै चरणमा निर्वाचन गर्न सकिँदैन।’

उनका अनुसार दुई पटक राष्ट्रपति भइसकेको व्यक्ति तेस्रो पटक राष्ट्रपति हुन पाउँदैन।

निर्वाचनपछि आउने नयाँ सांसद र प्रदेशसभाबाट केही महिनाभित्र राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखसहितका झण्डै दर्जन पदाधिकारी निर्वाचित हुँदैछन्।

संविधानले संघीय संसद गठन भएको एक महिना भित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । राष्ट्रपतिको निर्वाचन संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुने संवैधानिक व्यवस्था छ।

संविधानको धारा ६२ को उपधारा ३ ले निर्वाचन मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति अर्थात् मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था गरेको छ। निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ तथा राष्ट्रियसभाका ५९ सहित ३३४ सांसद र प्रदेशसभाका ५५० सांसद गरी कुल ८८४ सांसद राष्ट्रपतिको निर्वाचनमा सहभागी हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार