इलाम : उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) आइतबार (आज) इलामको माङसेबुङ आउँदेछन् । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६९ औं जन्मोत्सवको उद्घाटन र धर्मगुरुको प्रतिमा अनावरण कार्यक्रमका लागि पुन माङसेबुङ आउन लागेका हुन् ।
किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा हुने कार्यक्रमको सबै तयारी पूरा भएको माङेन्ना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङले जानकारी दिए ।
जन्मोत्सवका अवसरमा विभिन्न कार्यक्रम गरि जन्मोत्सव मनाइदैछ ।
कार्यक्रममा सावायेहाङ नोमाङगेन्ना सेवा, नाहेन लाक्मा र विविध सांस्कृतिक कार्यक्रमको तय गरिएको छ ।
त्यस्तै १९ गते धर्मगुरु लिङदेनबाट आर्शीवचन, मिक्तोक (उपहार) वितरण, संस्थागत धन्यवादपत्र वितरण, पुस्तक/पुस्तिका विमोचन, सहित्यिक तथा साँस्कृतिक कार्यक्रम तय भएको छ । यसैगरी २० गते माङगेन्ना चामल वितरणसँगै विदाई गरिने कार्यक्रम तय भएको छ ।
हरेक वर्ष मुलुकको उच्च ओहोदाका व्यक्तिहरुको उपस्थिती हुने गर्दछ ।
माङसेबुङ गाउँपालिका २ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते जन्मिएका आत्मानन्द लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन् ।
किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनि राज्यका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती हुने गर्दछ । जन्मोत्सवमा यसअघि पूर्व राजा वीरेन्द्र शाह र ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, शुशिल कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत माङसेबुङ आइसकेका छन् ।
धुम्रपान मध्यमान निषेधित क्षेत्र
माङसेबुङ क्षेत्र धुम्रपान मध्यपान निषेधित क्षेत्र हो । माङसेबुङ गाउँपालिकाको वडा नम्बर ५ र ३ मा पर्ने माङसेबुङ रिङरोड क्षेत्रमा जाँडरक्सी, मासुमंश, धुम्रपान, जुवातास, लागुऔषध, हुलहुज्जत निषेधित छ ।
माङसेबुङ गाउँपालिकामा सार्वजनिक विदा
इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सवमा आइतबार सार्वजनिक विदा दिएको छ ।
मंसिर १८ गते धर्मगुरु आत्मानन्दको जन्मोत्सवमा स्थानीय सार्वजनिक विदा दिइएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गाउँपालिकाका तर्फबाट सूचना प्रकाशित गरी जानकारी दिएका छन् ।
किरात धर्मगुरु लिङदेनले किरात समुदायमा पुर्याएको योगदानको सम्मानस्वरुप माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिदैं आएको छ ।