माङसेबुङ : इलामको माङसेबुङमा आयोजित १५ औं संस्करणको आत्मानन्द कप फुटबल प्रतियोगिताको उपाधि छथर गाउँपालिका तेह्रथुमले जितेको छ ।
शनिबार इलामको माङसेबुङ-५ स्थित आत्मानन्द खेलमैदानमा भएको फाइनलमा तिजोग युवा क्लव पाँचथरलाई २-० गोल अन्तरले पराजित गर्दै छथर गाउँपालिकाले उपाधि कब्जा गरेको हो ।
जितसँगै तेह्रथुमले नगद ३ लाख ११ हजार १ सय ६९ रुपैयाँसहित ट्रफि प्राप्त गर्यो । उपविजेता पाँचथरले नगद २ लाख ५ हजार १ सय ६९ रुपैयाँ र ट्रफीमा चित्त बुझाउनुपर्यो ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६९ औं जन्मोत्सवको अवसरमा आत्मा पवित्र हक्चात यक्चुमले आयोजना प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, तेह्रथुम, ताप्लेजुङ र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता थियो ।
प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम, एच.एफ.सी. सुनसरी, छथर गाउँपालिका तेह्रथुम, कणर्सिं सोनाम एफ.सी. ताप्लेजुङ, तिजोक युवा क्लब पाँचथर, चारतारे युवा क्लब मोरङ, जलथल एफ.सी. झापा र भारतको दार्जिलिङबाट एम.एफ.सी. सहभागी थियो ।
प्रतियोगिता ९ मंसिरदेख संचालन गरिएको थियो ।
जन्मोत्सवको अवसरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत संचालन हुनेछन् । म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो), धनुकाँड, कराँतेलगायतका खेलहरु समेत संचालन भएका थिए ।
२०६५ सालमा धर्मगुरु लिङदेनको ५५ औं जन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख ११ हजार १ सय ६९ रुपैयाँ पुगेको हो ।