किरात धर्मगुरु लिङदेनको जन्मोत्सवमा उपराष्ट्रपति पुन इलामको माङसेबुङ आउँदै

इलाम  : उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) १८ मंसिरमा इलामको माङसेबुङ आउने भएका छन् ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६९ औं जन्मोत्सवमा पुन माङसेबुङ आउने भएका हुन् ।

धर्मगुरु लिङदेनको जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्न तथा धर्मगुरुलाई शुभकामना दिन पहिलोपटक माङसेबुङ आउन लागेका हुन् ।

किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा हुने जन्मोत्सवमा विभिन्न कार्यक्रमको तय गरिएको छ । कार्यक्रमको तयारी तीब्र पारिएको माङगेना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङले जानकरी दिए ।

जन्मोत्सवका अवसरमा मंसिर १६ गते साक्मुरा वादेम्मा, १७ गते विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा लाधुङसेमी सेवा र आत्मानन्द रनिङ गोल्डकपको फाइनल संचालन, १८ गते आत्मानन्द लिङदेनको ६९ औं शुभजन्मोत्सव समारोह-२०७९ उद्घाटन, खेलकुद प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण, सावायेहाङ नोमाङगेन्ना सेवा र विविध साँस्कृतिक कार्यक्रमको तय गरिएको छ ।

त्यस्तै मंसिर १९ गते आत्मानन्द लिङदेनबाट आर्शीवचन, साहित्यिक तथा साँस्कृतिक कार्यक्रम, मिक्तोक (उपहार) अर्पण र संस्थागत धन्यवादपत्र वितरण, पुस्तक/पुस्तिका विमोचन र २० गते माङगेन्ना चामल वितरणसँगै विदाई गरिने कार्यक्रम रहेको छ ।

माङसेबुङ गाउँपालिका-२ (साबिक इभाङ–५) चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते जन्मिएका आत्मानन्द लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन् ।

किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनि राज्यका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती हुने गर्दछ । जन्मोत्सवमा यसअघि पूर्वराजा वीरेन्द्र शाह, ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, शुशिल कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, शेरबहादुर देउवा, मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी लगायत माङसेबुङ आइसकेका छन् ।

धुम्रपान मध्यमान निषेधित क्षेत्र

माङसेबुङ क्षेत्र धुम्रपान मध्यपान निषेधित क्षेत्र हो । माङसेबुङ गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने माङसेबुङ रिङरोड क्षेत्रभित्र जाँडरक्सी, मासुमंस, धूम्रपान, जुवातास, लागुऔषध, हुलहुज्जत तथा अश्लिल कार्य निषेधित क्षेत्र घोषणा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार