इलामबाट सुवासचन्द्र नेम्बाङको लगातार पाँचौ जित, झलनाथ खनालको जितमा ब्रेक !

इलाम : पूर्वसंविधानसभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । नेम्बाङले नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्कालाई एक सय १४ मत अन्तरले पराजित गरेका हुन् ।

सुरुवातदेखि नै कडा प्रतिस्पर्धा भएको यो क्षेत्रमा नेम्वाङलाई चुनाव जित्न यो पटक निकै चुनौती सामना गर्नु पर्यो । कहिले अग्रता बनाउँदै त, कहिले पछि पर्दै भएपनि नेम्बाङले परिणाम आफ्नो पक्षमा पार्न सफल भए ।

६९ हजार ८५ मत खसेको नेम्बाङले ३० हजार २० मत प्राप्त गरेका थिए । उनका निकटतम् प्रतिष्पर्धी खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेका थिए ।

नेम्बाङको सो क्षेत्रबाट संसदीय चुनावी यात्राको लगातार पाँचौं जित हो । ०५६ देखि एमालेबाट लगातार त्यस क्षेत्रबाट उम्मेद्वार बन्दै आएका नेम्बाङले सबै निर्वाचन जित्दै आएका छन् ।

०५६ को संसदीय निर्वाचनमा पहिलो पटक चुनावी मैदानमा प्रवेश गरेका नेम्बाङले कांग्रेसका कुलबहादुर गुरुङलाई पराजित गरेका थिए । मुलुकको राजनीतिक परिवर्तनपछि भएको ०६४ मा भएको संविधानसभा निर्वाचनमा कांग्रेसका केशव थापालाई र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसकै भेषराज आचार्यलाई पराजित गरेका थिए । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रसँगको गठबन्धनमा कांग्रेसकै थापालाई दोश्रोपटक पराजित गर्दै पराजित गर्दै संसदमा चौथो पटक निर्वाचित बनेका थिए ।

इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका ६९ वर्षीय नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा केही समय उनी जेल समेत परेका थिए ।

२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भए । २०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री बनेका थिए ।

उनी जनआन्दोलन ०६२/०६३ सँगै पुनर्सथापित संसदका सभामुख बने । दुवै संविधानसभाको अध्यक्षको भूमिका निर्वाह गर्ने पाए । चार पटक सभामुख समेत सर्वसम्मत चुनिएका थिए ।

उता पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको भने संसदीय चुनावी यात्रामा ब्रेक लागेको छ । सातौं पटकको संसदीय चुनावी यात्रामा छैटौं पटक जितको खोजीमा रहेका खनाल पराजित भएसँगै उनको संसदीय यात्रामा ब्रेक लागेको हो ।

खनाल आफ्नो पूर्व पार्टी नेकपा (एमाले) इलामका अध्यक्ष महेस बस्नेतसँग पराजित भएका छन् । एमालेमा रहँदा आफ्नै कार्यकर्ता रहेका बस्नेतसँग खनाल दुई हजार छ सय ६४ मतान्तरले पराजित भएका हुन् । ५९ हजार १ सय ३६ मत खसेको बस्नेतले २५ हजार सात सय ५३ मत प्राप्त गर्दा खनालले २३ हजार ८९ मत मात्र प्राप्त गरे ।

खनालले २०४८ पछिका ६ मध्ये पाँचवटा चुनाव सोही क्षेत्रबाट एमालेको तर्फबाट जित्दै आएका थिए । तर पार्टी परिवर्तनपछि संसद यात्रा टुङ्गिएको छ । खनाल पार्टी विभाजनपछि खनाल एकीकृत समाजवादीमा लागेका थिए ।

खनालले २०४८ सालको आम निर्वाचन, २०५१ को मध्यावधि निर्वाचन, २०६४ सालको पहिलो संविधानसभा निर्वाचन, २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेका थिए । २०५६ सालको आम निर्वाचनमा पराजित भएका थिए । यसपटक उनकै पूर्व पार्टीका नेता बस्नेतसँग पराजित हुनुपरेको छ ।

२०७८ पुसदेखि एमालेका जिल्ला अध्यक्ष बनेका बस्नेत संसदीय चुनावको पहिलो प्रतिस्पर्धामा नै जित हासिल गर्दै झलनाथ खनालको विरासत भत्काउन सफल बनेका छन् ।

१७ भदौ २०१७ मा इलामको शान्तिपुर (हाल रोङ गाउँपालिका) मा जन्मिएका बस्नेत २०३६ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य निर्वाचित भएका थिए ।

इतिहासमा स्नातकोत्तर बस्नेत २०५४ साल अघिसम्म इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा प्राध्यापन गर्थे । राजनीति र अध्यापनका कारण उनी शान्तिपुर छाडेर इलाम बसाइँ सरेका थिए । प्राध्यापन छाडेपछि २०५४ मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा उनी एमालेबाट इलाम नगरपालिकाको मेयरमा निर्वाचित भए । त्यस्तै स्थानीय तह पुनर्संचना पश्चात २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनबाट समेत इलाम नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

प्रदेश सभामा एमालेले दुई र माओवादीले एक क्षेत्र गुमायो, कांग्रेस र ए समाजवादीलाई फाइदा

इलामको प्रत्यक्ष तर्फको दुवै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । यसपटकको निर्वाचनमा प्रतिनिधि सभातर्फ नेकपा (एमाले) लाई फाइदा पुगेको छ भने नेकपा (एकीकृत समाजवादी) लाई क्षति पुगेको छ । प्रदेश सभातर्फ नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई फाइदा पुगेको भने नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रलाई क्षति पुगेको छ ।

प्रतिनिधि सभातर्फ अघिल्लो निर्वाचनमा दुवै क्षेत्र जितेको एमालेले यसपटक पनि जोगाउन सफल भएको छ । पार्टी विभाजनपछि गुमाएको एक सिट प्राप्त गर्न एमाले सफल बनेको छ । इलाम १ बाट एमाले जिल्ला अध्यक्ष महेस बस्नेत र २ बाट केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र निर्वाचित भएका छन् ।

उता एमाले विभाजपछि एकीकृत समाजवादीमा लागेका पूर्वप्रधानमन्त्री झलनाथ खानल पराजित भएपछि एकीकृत समाजवादीले आफ्नो क्षेत्र गुमाएको छ । यसरी प्रतिनिधिसभामा एकीकृत समाजवादीले क्षति व्यहोरेको छ ।

प्रदेश सभातर्फ भने एमालेले अघिल्लो निर्वाचनमा जितेका तीनै क्षेत्र गुमाएर माओवादीले जितेको अर्को एक क्षेत्र मात्र जितेको छ । उसले इलाम १ को प्रदेश सभा ‘क’ र ‘ख’ एवम् २ को प्रदेश सभा ‘क’ गुमाएको छ ।

एमालेले गुमाएको इलाम १ को प्रदेश सभा ‘ख’ बाट कांग्रेसका शम्शेर राई र २ को प्रदेश सभा ‘क’ बाट कांग्रेसकै गोविन्द गिरी निर्वाचित भएका छन् । प्रदेश सभा ‘ख’ मा कांग्रेसका राईले एमालेका दीपककुमार थेवेलाई ६ सय ३८ मतान्तरले पराजति गरे । २९ हजार ६ सय ४० मत खसेकोमा राईले १२ हजार सात सय ८० मत पाउँदा थेवेले १२ हजार एक सय ४२ मत पाए ।

राई रोङ गाउँपालिकाका निर्वतमान अध्यक्ष हुन् भने थेवे माई नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन् । यो क्षेत्रमा यसअघि एमालेका काजीमान कागते निर्वाचित भएका थिए ।

त्यस्तै इलाम २ को प्रदेश सभा ‘क’ मा कांग्रेसका गिरीले एमालेका गणेशप्रसाद बराललाई एक हजार दुई सय ११ मतान्तरमा पराजित गरे । ३६ हजार नौ सय २९ मत खसेकोमा गिरीले १६ हजार छ सय ६५ मत पाउँदा बरालले १५ हजार चार सय ४७ मत पाए । यो क्षेत्रबाट यसअघि एमालेका रामबहादुर मगर राना निर्वाचित भएका थिए ।

अघिल्लो निर्वाचनमा कांग्रसले कुनैपनि क्षेत्र जितेको थिएन । यसपटक भने दुई क्षेत्र आफ्नो बनाउन सफल बनेको छ ।

त्यस्तै एमालेले गुमाएको एक क्षेत्र भने विभाजनपछि बनेको एकीकृत समाजवादीले लिन सफल भएको छ । एमालेले गुमाएको इलाम १ को प्रदेश सभा ‘क’ बाट एकीकृत समाजवादीकी खिनु लङ्वा लिम्बू निर्वचित भएकी छन् । उनले एमालेकी शोभा पराजुलीलाई एक हजार नौ सय ७६ मतान्तरले पराजति गरिन् । २९ हजार ४ सय ९६ मत खसेमा लङ्वाले १३ हजार तीन सय ७० मत प्राप्त गर्दा पराजुलीले ११ हजार तीन सय ९४ मत प्राप्त गरिन् । उनी अघिल्लो विर्वाचनमा सोही क्षेत्रबाट एमालेको तर्फबाट निर्वाचित भएकी थिइन् ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको क्षेत्र इलाम २ को ‘ख’ मात्र एमालेले खोसेको छ । एमालेका रामबहादुर मगर राना विजयी भएका छन् । उनले माओवादी केन्द्रका हर्कबहादुर लावती (कान्छा) लाई २ हजार ५ सय ८७ मतान्तरमा पराजित गरे । ३२ हजार १ सय ५६ मत खसेको मा रानाले १३ हजार ७ सय ५४ मत पाउँदा लावतीले ११ हजार १ सय ६७ मत पाए । यसअघि सो क्षेत्रमा माओवादी केन्द्रकै धिरेन्द्र शर्मा (रमण) निर्वाचित भएका थिए । माओवादीले सोही क्षेत्र गुमाएको छ ।

प्रदेश १ मा एमाले पहिलो पार्टी बन्दै, सिट संख्या भने घट्यो

प्रदेश १ का पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ ५६ मध्ये ५३ प्रदेशसभा निर्वाचन क्षेत्रको अन्तिम नतिजा आउँदा नेकपा (एमाले) ठूलो दल बनेको छ । उसले २४ सिट जित्दै पहिलो पार्टी बनेको हो । यद्यपि २०७४ सालको चुनावमा बाम गठबन्धन हुँदा प्रत्यक्षतर्फ ३६ सिट जितेको एमालेले यसपटक १२ सिट गुमाएको छ ।

समानुपातिकतर्फको भने अन्तिम मतपरिणाम सार्वजनिक भएपछि मात्र सबै पार्टीको सिट संख्याको निर्धारण हुनेछ । अघिल्लो निर्वाचनमा एमालेले समानुपातिकबाट १५ सिट जितेको थियो । सो निर्वाचनमा प्रदेशसभामा एमालेको एकल बहुमत थियो । तर पार्टी विभाजनपछि बहुमत गुमाएको थियो ।

त्यसैगरी अघिल्लो निर्वाचनमा ७ सिट मात्रै जितेको नेपाली कांग्रेस गठबन्धनको बलमा १५ सिट जित्दै दोस्रो दल बनेको छ । उसले अघिल्लो निर्वाचनमा समानुपातिकमा १३ सिट जितेको थियो ।

नेकपा (माओवादी केन्द्र) ले ९ सिट जितेर तेस्रो बनेको छ । अघिल्लो निर्वाचनमा बाम गठबन्धन हुँदा ११ सिट जितेको माओवादीले २ सिट गुमाएको छ । अघिल्लो निर्वाचनमा समानुपातिकमा ५ सिट जितेको थियो ।

एकीकृत समाजवादी पार्टीले ३ सिट जितेको छ । तत्कालिन एमालेबाट विभाजन भएर बनेको सो पार्टी पहिलो पटक प्रदेश सभा निर्वाचनमा सहभागी भएको हो । पार्टी विभाजन हुँदा प्रत्यक्ष र समानुपातिकका गरी १० जना एकीकृत समाजवादीतिर लागेका थिए ।

उता जनता समाजवादी पार्टी (जसपा) ले अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ जितेको १ सिट गुमाएको छ । जसपाले यस पटक कुनैपनि सिट जित्न सकेन । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ भने २ सिट जितेको थियो ।

यसपटक प्रदेश राष्ट्रिय प्रजतान्त्र पार्टी नयाँ दलका रुपका थपिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सिट जितेको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ कुनै सिट नजितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकमा एक सिट जितेको थियो ।

अघिल्लो निर्वाचनमा समानुपाति तर्फबाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समेत १ सिट जितेको थियो । उसले यसपटक पनि १ दशमलव ५ प्रतिशत मत प्राप्त गरी थ्रेसहोल्ड १ सिट जित्नेछ ।

समानुपातिक तर्फको मतगणना जारी रहेकाले कुन दलले कति सिट प्राप्त गर्छन् भन्ने यकिन गर्न सकिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार