प्रदेश १ मा एमाले पहिलो पार्टी बन्दै, सिट संख्या भने घट्यो

  राम योङहाङ
1.4k Shares

इलाम : प्रदेश १ का पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ ५६ मध्ये ५३ प्रदेशसभा निर्वाचन क्षेत्रको अन्तिम नतिजा आउँदा नेकपा (एमाले) ठूलो दल बनेको छ । उसले २४ सिट जित्दै पहिलो पार्टी बनेको हो । यद्यपि २०७४ सालको चुनावमा बाम गठबन्धन हुँदा प्रत्यक्षतर्फ ३६ सिट जितेको एमालेले यसपटक १२ सिट गुमाएको छ ।

समानुपातिकतर्फको भने अन्तिम मतपरिणाम सार्वजनिक भएपछि मात्र सबै पार्टीको सिट संख्याको निर्धारण हुनेछ । अघिल्लो निर्वाचनमा एमालेले समानुपातिकबाट १५ सिट जितेको थियो । सो निर्वाचनमा प्रदेशसभामा एमालेको एकल बहुमत थियो । तर पार्टी विभाजनपछि बहुमत गुमाएको थियो ।

त्यसैगरी अघिल्लो निर्वाचनमा ७ सिट मात्रै जितेको नेपाली कांग्रेस गठबन्धनको बलमा १५ सिट जित्दै दोस्रो दल बनेको छ । उसले अघिल्लो निर्वाचनमा समानुपातिकमा १३ सिट जितेको थियो ।

नेकपा (माओवादी केन्द्र) ले ९ सिट जितेर तेस्रो बनेको छ । अघिल्लो निर्वाचनमा बाम गठबन्धन हुँदा ११ सिट जितेको माओवादीले २ सिट गुमाएको छ । अघिल्लो निर्वाचनमा समानुपातिकमा ५ सिट जितेको थियो ।

एकीकृत समाजवादी पार्टीले ३ सिट जितेको छ । तत्कालिन एमालेबाट विभाजन भएर बनेको सो पार्टी पहिलो पटक प्रदेश सभा निर्वाचनमा सहभागी भएको हो । पार्टी विभाजन हुँदा प्रत्यक्ष र समानुपातिकका गरी १० जना एकीकृत समाजवादीतिर लागेका थिए ।

उता जनता समाजवादी पार्टी (जसपा) ले अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ जितेको १ सिट गुमाएको छ । जसपाले यस पटक कुनैपनि सिट जित्न सकेन । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ भने २ सिट जितेको थियो ।

यसपटक प्रदेश राष्ट्रिय प्रजतान्त्र पार्टी नयाँ दलका रुपका थपिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सिट जितेको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ कुनै सिट नजितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकमा एक सिट जितेको थियो ।

अघिल्लो निर्वाचनमा समानुपाति तर्फबाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समेत १ सिट जितेको थियो । उसले यसपटक पनि १ दशमलव ५ प्रतिशत मत प्राप्त गरी थ्रेसहोल्ड १ सिट जित्नेछ ।

समानुपातिक तर्फको मतगणना जारी रहेकाले कुन दलले कति सिट प्राप्त गर्छन् भन्ने यकिन गर्न सकिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार