इलाम : इलामको प्रत्यक्ष तर्फको दुवै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । यसपटकको निर्वाचनमा प्रतिनिधि सभातर्फ नेकपा (एमाले) लाई फाइदा पुगेको छ भने नेकपा (एकीकृत समाजवादी) लाई क्षति पुगेको छ । प्रदेश सभातर्फ नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई फाइदा पुगेको भने नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रलाई क्षति पुगेको छ ।
प्रतिनिधि सभातर्फ अघिल्लो निर्वाचनमा दुवै क्षेत्र जितेको एमालेले यसपटक पनि जोगाउन सफल भएको छ । पार्टी विभाजनपछि गुमाएको एक सिट प्राप्त गर्न एमाले सफल बनेको छ । इलाम १ बाट एमाले जिल्ला अध्यक्ष महेस बस्नेत र २ बाट केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र निर्वाचित भएका छन् ।
उता एमाले विभाजपछि एकीकृत समाजवादीमा लागेका पूर्वप्रधानमन्त्री झलनाथ खानल पराजित भएपछि एकीकृत समाजवादीले आफ्नो क्षेत्र गुमाएको छ । यसरी प्रतिनिधिसभामा एकीकृत समाजवादीले क्षति व्यहोरेको छ ।
प्रदेश सभातर्फ भने एमालेले अघिल्लो निर्वाचनमा जितेका तीनै क्षेत्र गुमाएर माओवादीले जितेको अर्को एक क्षेत्र मात्र जितेको छ । उसले इलाम १ को प्रदेश सभा ‘क’ र ‘ख’ एवम् २ को प्रदेश सभा ‘क’ गुमाएको छ ।
एमालेले गुमाएको इलाम १ को प्रदेश सभा ‘ख’ बाट कांग्रेसका शम्शेर राई र २ को प्रदेश सभा ‘क’ बाट कांग्रेसकै गोविन्द गिरी निर्वाचित भएका छन् । प्रदेश सभा ‘ख’ मा कांग्रेसका राईले एमालेका दीपककुमार थेवेलाई ६ सय ३८ मतान्तरले पराजति गरे । २९ हजार ६ सय ४० मत खसेकोमा राईले १२ हजार सात सय ८० मत पाउँदा थेवेले १२ हजार एक सय ४२ मत पाए ।
राई रोङ गाउँपालिकाका निर्वतमान अध्यक्ष हुन् भने थेवे माई नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन् । यो क्षेत्रमा यसअघि एमालेका काजीमान कागते निर्वाचित भएका थिए ।
त्यस्तै इलाम २ को प्रदेश सभा ‘क’ मा कांग्रेसका गिरीले एमालेका गणेशप्रसाद बराललाई एक हजार दुई सय ११ मतान्तरमा पराजित गरे । ३६ हजार नौ सय २९ मत खसेकोमा गिरीले १६ हजार छ सय ६५ मत पाउँदा बरालले १५ हजार चार सय ४७ मत पाए । यो क्षेत्रबाट यसअघि एमालेका रामबहादुर मगर राना निर्वाचित भएका थिए ।
अघिल्लो निर्वाचनमा कांग्रसले कुनैपनि क्षेत्र जितेको थिएन । यसपटक भने दुई क्षेत्र आफ्नो बनाउन सफल बनेको छ ।
त्यस्तै एमालेले गुमाएको एक क्षेत्र भने विभाजनपछि बनेको एकीकृत समाजवादीले लिन सफल भएको छ । एमालेले गुमाएको इलाम १ को प्रदेश सभा ‘क’ बाट एकीकृत समाजवादीकी खिनु लङ्वा लिम्बू निर्वचित भएकी छन् । उनले एमालेकी शोभा पराजुलीलाई एक हजार नौ सय ७६ मतान्तरले पराजति गरिन् । २९ हजार ४ सय ९६ मत खसेमा लङ्वाले १३ हजार तीन सय ७० मत प्राप्त गर्दा पराजुलीले ११ हजार तीन सय ९४ मत प्राप्त गरिन् । उनी अघिल्लो विर्वाचनमा सोही क्षेत्रबाट एमालेको तर्फबाट निर्वाचित भएकी थिइन् ।
अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको क्षेत्र इलाम २ को ‘ख’ मात्र एमालेले खोसेको छ । एमालेका रामबहादुर मगर राना विजयी भएका छन् । उनले माओवादी केन्द्रका हर्कबहादुर लावती (कान्छा) लाई २ हजार ५ सय ८७ मतान्तरमा पराजित गरे । ३२ हजार १ सय ५६ मत खसेको मा रानाले १३ हजार ७ सय ५४ मत पाउँदा लावतीले ११ हजार १ सय ६७ मत पाए । यसअघि सो क्षेत्रमा माओवादी केन्द्रकै धिरेन्द्र शर्मा (रमण) निर्वाचित भएका थिए । माओवादीले सोही क्षेत्र गुमाएको छ ।