इलाम : पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट पराजित भएका छन् । खनाल आफ्नो पूर्व पार्टी नेकपा (एमाले) इलामका अध्यक्ष महेस बस्नेतसँग पराजित भएका हुन् ।
एमालेमा रहँदा आफ्नै कार्यकर्ता रहेका बस्नेतसँग खनाल दुई हजार छ सय ६२ मतान्तरले पराजित भएका हुन् । बस्नेतले २५ हजार सात सय ५० मत प्राप्त गरेका छन् । खनालले भने २३ हजार ८८ मत मात्र प्राप्त गरेका छन् ।
बस्नेत इलाम नगरका निवर्तमान नगरप्रमुख हुन् । उनले इलाम नगरका दुई कार्यकाल नगरप्रमुख भएर काम गरिसकेका छन् ।
मतदानको क्रममा प्रत्यक्ष तर्फको मतपत्र समानुपातिक निर्वाचन प्राणलीतर्फको मतपेटिका पनि खसाएको पाइएकोले अन्तिम विवरण समानुपातिक निर्वाचन प्रणाली तर्फको सम्पूर्ण मतगणना सम्पन्न भएपश्चात सार्वजनिक गरिने निर्वाचन अधिकृत राजकुमार दाहालले बताए ।
सो क्षेत्रमा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकोमा ५९ हजार १ सय ३६ मत खसेको थियो ।
पार्टी विभाजनपछि खनाल एकीकृत समाजवालीमा लागेका थिए । सत्ता गठबन्धनको बलियो साथ पाएका खनालले अप्रत्यासित हार व्यहोर्नुपरेको छ । उनले मतदानमा धाँदली भएको भन्दै पुन: मतदानको माग समेत गरेका छन् । तर उनको माग निर्वाचन आयोगले अस्वीकृत गरिदिएको छ ।
खनालले २०४८ पछिका ६ मध्ये पाँचवटा चुनाव सोही क्षेत्रबाट एमालेको तर्फबाट जित्दै आएका थिए । तर पार्टी परिवर्तनपछि छैटौं जितको खोजीमा रहेका खनालको संसद यात्रा टुङ्गिएको छ ।
खनालले २०४८ सालको आम निर्वाचन, २०५१ को मध्यावधि निर्वाचन, २०६४ सालको पहिलो संविधानसभा निर्वाचन, २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेका थिए । २०५६ सालको आम निर्वाचनमा पराजित भएका थिए । यसपटक उनकै पूर्व पार्टीका नेता बस्नेतसँग पराजित हुनुपरेको छ ।