इलाम : इलाम निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (२) बाट निर्वाचित रामबहादुर मगर रानालाई निकटतम प्रतिष्पर्धी उम्मेद्वार हर्कबहादुर लावती (कान्छा) ले बधाई दिएका छन् ।
इलाम सदरमुकाममा बधाई ज्ञापन कार्यक्रम आयोजना गरी लावतीले रानालाई खादा लगाएर सम्मान गर्दै बधाई र शुभकामना दिएका हुन् ।
लावतीले हार र जित निर्वाचनको नियम रहेको बताउँदै रानालाई जनताप्रति उत्तरदायी भएर सफलतापूर्वक कार्यकाल बिताउन शुभकामना दिएका हुन् ।
कार्यक्रममा रानाले पक्षपातरहित रुपमा सबैलाई समेटेर काम गर्ने प्रतिवद्धता जनाए । ‘काम गर्ने बेलामा, योजना बाँड्ने बेलामा मबाट पक्षापात हुने छैन’ रानाले भने ।
पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवम् नेकपा (एमाले) का केन्द्रीय सदस्य राना २ हजार ५ सय ८७ मतान्तर सहित निर्वाचित भएका हुन् । रानाले १३ हजार ७ सय ५४ मत प्राप्त गरेका थिए ।
निकटतम प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र) का प्रदेश सदस्य लावतीले ११ हजार १ सय ६७ मत मात्र प्राप्त गरेका थिए ।
५५ हजार ३ सय ४१ मतदाता रहेको सो क्षेत्रमा ३२ हजार १ सय ५६ मत खसेको थियो ।