इलाम : किरात धर्मावलम्बीहरुको धार्मिक केन्द्र माङसेबुङमा शुक्रबारदेखि आत्मानन्द कपको १५ औं संस्करण फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका इलाम र एच.एफ.सी. सुनसरीबीच प्रतिष्पर्धा हुनेछ ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६९ औं जन्मोत्सवको अवसरमा संचालन हुने प्रतियोगिताको फाइनल ९ हुनेछ ।
प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ६९ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ६९ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, तेह्रथुम, ताप्लेजुङ र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।
अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम, एच.एफ.सी. सुनसरी, छथर गाउँपालिका तेह्रथुम, कणर्सिं सोनाम एफ.सी. ताप्लेजुङ, तिजोक युबा क्लब पाँचथर, चारतारे युवा क्लब मोरङ, जलथल एफ.सी. झापा र भारतको दार्जिलिङबाट एम.एफ.सी. सहभागी हुने निश्चित भएको छ । गतवर्ष आत्मनन्द कप उपाधि माङसेबुङ गाउँपालिकाले जितेको थियो ।
प्रतियोगिता माङसेबुङ गाउँपालिका वडा नम्बर ५ स्थित आत्मानन्द खेलमैदानमा संचालन हुनेछ ।
जन्मोत्सवको अवसरमा १७ मंसिरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत संचालन हुनेछन् । म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो), धनुकाँड, कराँतेलगायतका खेलहरु समेत संचालन हुनेछन् ।
आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरु लिङको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा प्रतियोगिता संचालन हुँदै आएको छ ।
२०६५ सालमा धर्मगुरु लिङदेनको ५५ औं जन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख ११ हजार १ सय ६९ रुपैयाँ पुगेको हो ।