फाकफोकथुममा चितुवा आतंक,बाख्रा खाएपछि स्थानीय त्रसित

  युद्धबहादुर बोहोरा
1.9k Shares

चितुवाको तस्वीर साँङ्केतिक,खाएका बाख्राहरु वास्तविक

 

इलाम: फाकफोकथुम गाउँपालिका वडा नम्बर २ स्थित फुस्रे आसपास चितुवाले आतंक मच्चाउन थालेको छ । गतसाल इलाम र पाँचथरका सिमाना क्षेत्रका विभिन्न वडामा चितुवाले स्थानीयका गोठ र खोरमा थुनेका बाख्रा खाएर हैरानी दिएको थियो । केही समय निष्क्रिय रहेको चितुवा फेरि सक्रिय हुन थालेपछि स्थानीय त्रसित बनेका छन् । देउमाइ नगरपालिकाको सिमानामा पर्ने फाकफोकथुमको २,६ र ७ नम्बर वडामा दिनहुँजसो चितुवाले बाख्रा खान थालेपछि स्थानीय त्रसित बनेका हुन् ।

यसै हप्तामा फाकफोकथुम -७ एकतप्पा निवासी हरि खनालको एउटा बाख्रा र २ नम्बर वडाका प्रकाश बोहोरा(सिपी) को एउटा बाख्रा चितुवाले खाएको स्थानीयबासी रमेश पौडेलले बताए । बुधबार साँझ ५ बजे फुस्रेस्थित तिनजुरे बोर्डिङ स्कुल नजिकै देवीथान छेउकी इन्द्रकला खड्काको बाख्रा खाँदै गरेको स्थानीयदर्शि चित्र बहादुर पौडेलले खेद्न खोज्दा चितुवाले आक्रमणको प्रयास गरेको जानकारी दिए । यस क्षेत्रमा मानिसहरुको बाक्लो ओहोर-दोहोर हुने र विद्यार्थी पनि हिड्ने भएकाले मानवीय सुरक्षामा समेत चुनौती रहेको छ । बाख्रा खाने चितुवा मानिस माथि आक्रमण गर्ने हो कि भन्ने चिन्ता बढेको स्थानीयहरु बताउँछन् ।

बालबालिकालाई एक्लै विद्यालय पठाउन समेत डराउनुपर्ने अवस्था आएको पौडेलले बताएका छन् । नागरिकलाई त्रास फैलाउने र घरपालुवा जनावरको शिकार गर्ने चितुवा नियन्त्रणका लागि सरोकारवाला निकायले तत्काल पहल नगरे मानवीय क्षति समेत हुन सक्ने भएकाले यस समस्याको समाधान गर्न सम्बन्धीत पक्षसंग उनीहरुले आग्रह गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार