…त्यसपछि फाल्गुनन्द राष्ट्रिय विभूति

  नयाँ बुलन्द
812 Shares

इलाम : १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सामाजिक, सांस्कृतिक योगदान छर्लंगै छ । त्यही भएर त सरकारले २०६६ साल मंसिर १६ गते विभूति घोषणा गरेको हो । त्यति बेला माधवकुमार नेपाल प्रधानमन्त्री थिए । कांग्रेस नेता डा. मीनेन्द्रप्रसाद रिजाल संस्कृतिमन्त्री थिए ।
‘महागुरु फाल्गुनन्दले विश्व शान्ति तथा मानव एकताको क्षेत्रमा महत्वपूणर् योगदान पुर्‍याउनुभएको थियो । उहाँका ऐतिहासिक योगदान आज पर्यन्त हाम्रा लागि मार्गदर्शक छन् । त्यही भएर सरकारले उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको हो’, तत्कालीन प्रधानमन्त्री नेपालले चन्द्रकुमार शेर्मा लिम्बू ‘पापोहाङ’द्वारा लिखित ‘सोह्रौं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द’ कृतिमा शुभकामना मन्तव्यमा लेखेका छन् ।
किरात धर्म तथा साहित्य उत्थान संघले औपचारिक रूपमा २०६५ सालदेखि फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग सरकारसमक्ष राख्न थालेको थियो । त्यस क्रममा चार किरात संस्था र आदिवासी जनजाति महासंघको लिखित सहमतिपत्रसहित तत्कालीन प्रधानमन्त्री नेपाललाई एउटा दस्तावेज नै उपलब्ध गराएको शेर्माकै कृतिमा संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम लिम्बूले जनाएका छन् ।
‘म लिम्बू होइन । म किरात धर्मको मान्छे होइन । तर, म संस्कृतिमन्त्री हुँदा फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गर्या हो’, नेता डा. रिजालले हालै एक कार्यक्रममा भने ।
उनै विभूतिको जन्म १९४२ साल कात्तिक २५ गते इलामको साविक इभाङ गाविस (हाल माङसेबुङ गाउँपालिका)मा पर्ने चुक्चिनाम्बा डाँडागाउँमा भएको थियो । तर, विभूतिको जन्मथलो अझै ओझेलमा छ । यो थलोलाई सांस्कृतिक तथा धार्मिक अध्ययन केन्द्रका रुपमा विकास गर्न सकिने भए पनि त्यसतर्फ पहल भएको देखिँदैन । फाल्गुनन्दले जन्मथलोबाटै समाज सुधारका कामको थालनी गरेका थिए । उनको सत्यधर्म मुचुल्का चर्चित छ । राणाशासनको जगजगीका बेला १९८८ साल वैशाख २४ गते १७ थुमका १० लिम्बूको चुम्लुङ (सभा) पाँचथरको लब्रेकुटीमा बोलाएर उनले सत्यधर्म मुचुल्का तयार गरेका थिए ।
सरकारले २०७२ साल मंसिरमा कात्तिक २५ गते सार्वजनिक बिदा दिने निणर्य गरेको थियो । तर, विभूतिलाई स्मरण गर्नुपर्ने विशेष दिनको बिदा कटौती भयो । पछिल्लो समय स्थानीय सरकारहरुले बिदा दिँदै आएकामा यसपटक १३७औं जन्मजयन्तीमा प्रदेश १ सरकारले बिदा दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार