इलाममा तात्यो चुनावी माहोल

इलाम : आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा इलाममा पनि चुनावी माहोल तिव्र बनेको छ । यसअघि सिमित घरदैलो अभियानमा केन्द्रित रहेका यहाँका राजनीतिक दल र उम्मेद्वारहरु बिहीबारदेखि चुनाव प्रचारप्रसार खुला भएसंगै आक्रामक चुनावी प्रचारमा जुटेका छन् । समकालिन मुलुकको राजनीतिका दुई शीर्ष नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा भएको कारण पनि इलामको निर्वाचन मुलुककै चासोको विषय बनेको छ ।

दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको इलाममा राजनीतिक दल र स्वतन्त्र गरी २५ जना चुनावी प्रतिष्पर्धामा छन् । दुवै क्षेत्रमा देशका दुई ठूला नेताहरू पूर्वप्रधानमन्त्री खनाल र संविधानसभाका अध्यक्ष नेम्वाङसँग पार्टीका जिल्ला अध्यक्षहरू प्रतिष्पर्धामा छन् । विगत निर्वाचनहरुमा एउटै पार्टीबाट निर्वाचित हुँदै आउनुभएका खनाल र नेम्वाङ नेकपा एमाले विभाजनसंगै यसपटक फरक-फरक दलबाट चुनावी प्रतिष्पर्धामा रहनुभएको छ । प्रतिनिधिसभा सदस्यको लागि इलाम क्षेत्र नम्बर १ बाट उम्मेद्वार बन्नुभएका पूर्वप्रधानमन्त्री झलनाथ खनालकोसातौ उम्मेद्वारी हो । २०५६ सालमा नेपाली काग्रसेका उम्मेदवार बेनुपराज प्रसाईंसंग पराजित बन्नुबाहेक खनाल निरन्तर यहि क्षेत्रबाट निर्वाचन जित्दै आउनुभएको छ । आसन्न चुनाव आफ्नो लागि अन्तिम भएको बताउँदै आउनुभएका खनाललाई यसपटक आफ्नै पूर्वपार्टी एमालेका उम्मेद्वार महेश बस्नेत चुनौती बनेर आउनुभएको छ । नेकपा एमालेमा आएको फुटपछि पहिलो चुनावको सामना गर्नुभएका खनाललाई पाँच दलीय सत्तागठबन्धनको साथ रहेपनि आफ्नो पुरानो पार्टीको संगठन र जिल्ला तहमा लोकप्रिय रहेका बस्नेतका कारण विगतमा जस्तो सहज भने छैन् । तर,नेता खनाल भने चुनाब जित्नेमा ढुक्क देखिनुहुन्छ ।

खनालसंग प्रतिष्पर्धामा उत्रिनुभएका एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत २ पटक इलाम नगरपालिकाको प्रमुख भइसक्नुभएको छ । लामो समयदेखि पार्टीमा राम्रो पकड बनाएपनि हेभिवेट नेतासंग प्रतिष्पर्धा गर्नुपर्दा बस्नेतलाई पनि चुनाव जित्न फलामको च्युरा चपाउनुसरह हुने देखिन्छ । तर,बस्नेत भने यो कुरामा सहमत देखिनुहुन्न ।

निर्वाचन क्षेत्र नम्बर १ मा सूर्योदय र माई नगरपालिका तथा माइजोगमाई,सन्दकपुर र रोङ गाउँपालिका गरी ५ स्थानीय तह रहेका छन् ।

इलामको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुबासचन्द्र नेम्वाङ र नेपाली काँग्रेसको तर्फबाट जिल्ला सभापति डम्बर खड्काबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । खड्कालाई गठबन्धनको साथ रहँदा नेम्वाङलाई पार्टी संगठन र व्यक्तित्वको साथ छ । खड्का प्रतिष्पर्धी भएसंगै यहि क्षेत्रबाट ०५६ सालदेखि अपराजित नेम्वाङलाई भने चुनाव जित्न सकस पर्ने देखिन्छ । पटक-पटक मुलुकको राजकीय उच्च पदमा पुगेपनि विकास निर्माणको काम नगरेको नेम्वाङप्रति यस क्षेत्रका मतदाताको असन्तुष्टिलाई क्यास गर्ने खड्काको दाउ छ । तर,सुवास नेम्वाङ भने आफ्नो जितप्रति शंका नरहेको जिकिर गर्दै आउनुभएको छ ।

एमालेको पकड मानिएको यो क्षेत्रमा चुनाव जित्ने रणनीतिका लागि कांग्रेस सहित गठबन्धन दल लागिपरेका छन् । यो पटक एमाले फुटेका कारण पनि आफूले जित्ने कांग्रेसको दाबी छ ।

इलामक्षेत्र नम्बर २ मा इलाम र देउमाई गरी दुई नगरपालिका र चलाचुली, माङसेबुङ, फाकफोक  गाउँपालिका गरी ५ स्थानीय तह छन् । प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी नेतृ खिनु लङवा लिम्बू र एमालेकी सोभा पराजुली चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । क्षेत्र नम्बर १ (ख) मा गठबन्धनका तर्फबाट कांग्रेसका समशेर राई र एमालेका दीपककुमार थेवेबीच प्रतिष्पर्धा हुने भएको छ । त्यस्तै,क्षेत्र नम्बर २ (क) मा गठबन्धनका तर्फबाट कांग्रेसका गोविन्द गिरी र एमालेका गणेशप्रसाद बराल चुनावी मैदानमा छन् । क्षेत्र नम्बर २ (ख) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हर्क लावती (कान्छा) र एमालेका रामबहादुर मगर रानाबीच प्रतिष्पर्धा हुने भएको छ । दलगत उम्मेद्वार बाहेक चुनावी मैदानमा रहेका स्वतन्त्र उम्मेद्वारपनि आ-आफ्नो एजेण्डासहित मतदातामाझ गइरहेका छन् । मतदातासंग सबैजसो उम्मेद्वारले इलामको विकासलाई मुख्य एजेन्डाका बनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार