पाँचथर : नेपाली कांग्रेसका सहमहामन्त्री तथा पाँचथरबाट सत्ता गठबन्धनको प्रतिनिधिसभा सदस्य उम्मेदवार भीष्मराज आङ्देम्बे बिहीबार चुनावी अभियानको क्रममा तुम्बेवा-५ हाङ्गुम पुगे ।
रूपान्तरित संसद् सदस्य हुँदा उनले यही ठाउँको विकासका लागि सडक, शिक्षा, खानेपानीलगायत क्षेत्रमा संसद् विकास कोषबाट लाखौं बजेट विनियोजन गरेका थिए ।
हाङ्गुम गाविसको रूपमा छँदा त्यसबेला उनले यहाँको वडा नम्बर ६ र ७ जोड्ने सडक निर्माणका लागि १० लाख, हाङ्गुम-गुम्बाडाँडा (लिम्बा) सडक निर्माणमा ७ लाख, हाङ्गुम ५ हुँदै दुर्दिम्बा जोड्ने सडकका लागि ७ लाख र इन्द्रावती माविको खेलमैदानका लागि ३ लाख बजेटको व्यवस्था गरेका थिए ।
जनताको मागअनुसार फिकुवा खानेपानी मर्मतमा एक लाख रुपैयाँ पनि आङ्देम्बेले विनियोजन गरेका थिए ।
यस ठाउँको विकासमा नेतृत्व लिएका आङ्देम्बेले बिहीबार यही ठाउँ पुगेर उनका चुनावी प्रतिष्पर्धी नेकपा एमालेका वसन्तकुमार नेम्बाङलाई सोधे एक खर्ब ५० अर्बको भौतिक पूर्वाधार मन्त्रालय चलाएर तपाईंले जिल्लाको पालिका र वडामा देखिनेगरीको विकास के गनर्नुभयो ?
उता नेम्बाङ भने नाच्दै मत मागिरहेका छन् । हरेक चुनावमा मतदातालाई प्रभावित पार्न उनी नाच्ने र विकासका एजेन्डाहरू सुनाउने गर्छन् ।
तर, २० महिना भौतिक पूर्वाधार मन्त्री हुँदा राँके-रवि-भेडेटार, फिदिम रङ्गशालाजस्ता भौतिक संरचनाहरू निर्माण गर्न नसकेको भनेर उनी आलोचित भइरहेका बेला आङ्देम्बेले विकासकै सवाललाई लिएर प्रश्न गरेका हुन् ।
नेम्बाङ २०४८ र २०५६ सांसद मात्र भए भने २०७४ मा लामो समय खर्बौँ बजेट भएको विकास मन्त्रालय सम्हाले । जिल्लाको विकास र समृद्धिको नेतृत्व गर्ने दायित्व नेम्बाङको थियो । आङ्देम्बे भने २०७० मा संविधान निर्माणका लागि सभासद भए । संविधान निर्माणमै २ वर्ष खर्चिएका आङ्देम्बेले रूपान्तरित संसदमा भने रणनीतिक महत्वको चर्चित सडकखण्ड राँके-रवि-भेडेटारलाई कालोपत्रे प्रक्रियामा अगाडि बढाएका थिए ।
संसद् विकास कोषबाट जिल्लाको अन्य ठाउँमा पनि सडक, शिक्षा, विद्य’त, पर्यटनलगायत क्षेत्रमा बजेटको व्यवस्था गरेका थिए ।
उनै आङ्देम्बे यस पटक जिल्लामा विकासको नेतृत्व गर्ने भन्दै मतदाताको आँगनमा पुगेका छन् । जिल्लामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पनि रहेको सत्ता गठबन्धनका उम्मेदवार आङ्देम्बेलाई बलिया प्रतिष्पर्धीको रूपमा हेरिएको छ ।
किनभने २०७४ सालमा नेम्बाङको जितमा निर्णायक भएको दल माओवादीसमेतको साझा उम्मेदवार आङ्देम्बे हुन् । अर्कातिर एमाले विभाजित छ । देशका केही चुनाव क्षेत्रमा तालमेल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अलग्गै चुनावमा होमिएको छ ।