इलाम : जिल्ला आचारसंहिता अनुमगन समिति इलामको आदेशमा चुलाचुली गाउँपालिकाले इलामको एक अनलाइन संचारमाध्यममा प्रकाशित समाचार हटाउन पठाएको पत्रप्रति नेपाल पत्रकार महासंघ इलाम शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विहीबार साँझ महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि सञ्चार माध्यमलाई समाचार हटाउन लगाउने कार्य नै पत्रकार आचारसंहिता २०७३ विपरित रहेको स्मरण गराउँदै रुपमा नागरिकको मौलिक हकको स्वतन्त्रता हनन् हुने गरि सञ्चार क्षेत्रमा गरिने यस प्रकारका हस्तक्षप नदोहोर्याउन चेतावनी दिएको छ ।
‘निर्वाचन जस्तो लोकतन्त्रको अपरिहार्य प्रक्रियालाई सफल पार्न हरेक चुनौति मोलेर सञ्चार कर्म गरिरहने पत्रकारका लागि यो विषयले गम्भिर बनाएको छ’ महासंघका अध्यक्ष विप्लव भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘संविधानले परिकल्पना गरेभन्दा विपरित रुपमा नागरिकको मौलिक हकको स्वतन्त्रता हनन् हुने गरि सञ्चार क्षेत्रमा गरिने यस प्रकारका हस्तक्षप आगामी दिनमा नदोर्याउन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं ।’
जिल्ला आचारसंहिता अनुमगन समिति इलामको आदेशमा भन्दै चुलाचुली गाउँपालिकाले नयाँ बुलन्द अनलाइन पत्रिकालाई समाचार हटाउन पत्र पठाएको थियो ।
नयाँ बुलन्दले गत २६ असोजमा चुलाचुली गाउँपालिकाको नियमित कार्यक्रम अन्तरगत घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको समाचार प्रकाशन गरेको थियो ।
सो समाचार गाउँपालिकाको नियमित कार्यक्रम अन्तरगतको ‘घटनापरक समाचार’ भएकाले निर्वाचन आचारसंहिता प्रतिकूल होइन । आचारसंहिता प्रतिकूल नभएको समाचारको विषयमा उजुरी पर्नासाथ आचारसंहिता अनुगमन समितिले मसिनो गरी अनुगमन नै नगरी पत्राचार गरेको पाइएको छ ।
सो सम्बन्धी नेकपा एमाले इलामका उपसचिव रविन्द्र सुवेदीले आचारसंहिता अनुगमन समितिसमक्ष उजुरी दिएका थिए ।