निर्वाचनको झल्को दिने गरी माङसेबुङमा नमुना मतदान

इलाम : संसदीय निर्वाचनको झल्को दिने गरी इलामको माङसेबुङ गाउँपालिकाको सेवाकेन्द्र परिसर इभाङमा विहीबार नमुना मतदान सम्पन्न भएको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन शिक्षा र मतदान शिक्षा कार्यक्रम अन्तरगत निर्वाचन कार्यालय इलाम र गाउँपालिकाको आयोजनामा नमुना मतदान कार्यक्रम सञ्चालन गरेको छ ।

माङसेबुङका ६ वटै वडाका मतदाता शिक्षा स्वयम् सेविका, विद्यालयका पधानाध्यापक, गाउँपालिकाका कर्मचारीलगायत विभिन्न दलहरूको उपस्थितिमा इभाङमा कार्यक्रम सञ्चालन गरिएको हो ।

निर्वाचनमा बदरमत कम गर्ने लक्ष्य र मतदातालाई सहजताका लागि निर्वाचनका सम्पूर्ण प्रक्रियासहित नमुना मतदान कार्यक्रम आयोजना गरिएको हो।

मतदान प्रक्रियाका बारेमा जानकारी दिने, आफ्नो भोटको महत्त्व बुझाउने, आफूले चाहेको प्रतिनिधिलाई छनोट गर्न सिकाउने र बदर मत प्रतिशत घटाउने उद्देश्यले नमुना मतदान कार्यक्रम आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय इलामका सूचना अधिकारी कृष्ण लिम्बूले जानकारी दिए।

नमुना मतदानमा महिला पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगेर उम्मेदवारलाई मतदान गर्ने र मतदातालाई मतपत्र पट्याउने तरिका सिकाइएको थियो ।

नमुना मतदान कार्यक्रममा लिम्बूले निर्वाचनलाई सफल बनाउनका लागि निर्वाचन आयोग र निर्वाचन कार्यालय मात्रै नभएर सम्पूर्ण जनता र मतदाता लागिपर्नुपर्ने बताए ।

माङसेबुङ गाउँपालिकाका प्रशासकीय अधिकृत विनोदकुमार चौहानले पालिकाका ६ वटै वडाका स्वयम् सेविकाहरुले आफ्नो वडाको जनताको घर दैलोमा पुगेर मतदाता शिक्षा प्रदान गरी बदर मत न्यूनीकरण गर्दै सदर मत बढाउन भूमिका निर्वाह गर्ने बताए ।

स्थानिय तहबाट नियुक्ति भएर खटिएका स्वयम् सेविकाहरुले १८ कात्तिकदेखि ३ मङसिरसम्म निर्वाचन शिक्षा, मतदाता शिक्षा संचालन गर्नेछन् ।

इलामका राजनीतिक दल तथा उम्मेदवारहरू यतिबेला मत माग्न घरदैलोमा व्यस्त छन् तर मतदान कसरी गर्ने भन्ने कुरा मतदाताले थाहा पाएका छैन न् । दलहरूले मतदातालाई कसरी मत हाल्ने सिकाउन सकिरहेका छैनन् ।

निर्वाचन आयोगले पर्चा पम्पलेट, सञ्चारमाध्यम, सामाजिक सञ्जाल, मोबाइलका टोनमार्फत पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार