इलाम : इलामको माङ्सेबुङ ३ स्थित चतुरेमा जारी ‘माङसेबुङ-३ चतुरे गोलकप’ खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि पीवाई फुटबल क्लब चिबुवाले आयोजकसँग प्रतिष्पर्धा गर्ने भएको छ ।
बिहीबार भएको सेमिफाइनलमा दुवै टिमले आफ्नो प्रतिष्पर्धी विरुद्ध जित निकाल्दै उपाधिका लागि फाइनलमा भेट पक्का गरेको हो ।
बिहीबारको पहिलो सेमिफाइनलमा सिक्तेम्बा फुटबल क्लबलाई ३–२ गोलको नतिजा निकाल्दै चिबुवा फाईनल प्रवेश गरेको थियो ।
दोश्रो तथा अन्तिम सेमिफाइनलमा माङमालुङ फुटबल क्लबलाई ३-१ गोलको जित निकाल्दै आयोजक फाइनल प्रवेश गरेको थियो ।
चिबुवा उपाधी कब्जा गर्ने दाउमा छ भने आयोजक उपाधि रक्षा गर्ने रणनीतिमा छ । प्रतियोगिताको फाइनल आज शुक्रबार हुँदैछ ।
प्रतियोगिताका विजेताले नगद ५० हजार ७९ र उपविजेताले ३० हजार ७९ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।
२०७९ को शुभदिपावलीको अवसरमा ‘माङसेबुङ-३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले ६ कात्तिकदेखि संचालन गरेको प्रतियोगितामा इलाम र पाँचथरका २८ टिमको सहभागिता रहेको थियो ।