स्थानीयको लाखौ रुपैयाँ भुक्तानी नगरी फिक्कलका मनि ट्रान्सफर संचालक सम्पर्क बिहिन

इलाम : इलामको सूर्योदय नगरपालिका १४ लक्ष्मिपुरका मान बहादुर बस्नेत फिक्कल बजारमा रहेको मनि ट्रान्सफर धाएको धेरै समय भयोे । कति जोर जुत्ता फाट्यो टुङ्गो छैन तर अझै बैदेशिक रोजगारीमा रहेका ज्वाईले साउदी अरेवियाबाट पठाईदिएको पैसा पाउने अत्तोपत्तो छैन । ज्वाईले पटकपटक फोन गर्दा पहिले सोध्ने वाक्य नै पैसा आयो बुबा भन्ने रहेको छ  यता बस्नेतलाई भने सधै त्यही कुराले पिरोलिरहन्छ । ६ महिना अघि नै छोरीको नाममा ज्वाईले पैसा पठाईदिएपनी मनि ट्रान्सफरका एजेन्ट सम्पर्क विहिन बनेपछि उनले पैसा झिक्न पाएका छैनन् । यहि पैसाको कारण छोरी ज्वाईको सम्बन्धमा केही होला कि भन्ने चिन्ता समेत बस्नेतलाई थपिएको छ ।

गहभरी आँसु देखाउदै बस्नेतले भने यहि पैसाको चिन्ताले अहिले सताईरहन्छ मलाई ।  यता  पैसा पाउने आशमा पटकपटक धाउदा समेत मनि ट्रान्सफरका संचालकले भने खाली चेक दिएको झुक्याएको गुनासो सुनाउछन ।

श्री अन्तुका रमेश पोख्रेल र मनोज खड्काले संचालन गर्दे आएको यो मनि ट्रान्सफर (सनराईज मल्टि ट्रेड सेन्टर) बाट बस्नेत जस्ता धेरैले विदेशबाट पठाएको पैसा पाएका छैनन् । कहिले खातामा पैसा जम्मा नभएको त कहिले इन्टरनेट नचलेको भन्दै पोख्रेल र खड्काले सेवाग्राहलाई पैसा दिन आलटाल गर्दै आएका थिए ।

कतार ,मलेसिया,साउदी अरेविया ,कुवेत लगायतका देशबाट पठाएको पैसा आफन्तले पाएका छैनन् । पैसा नपाउनेमा सबैभन्दा धेरै सूर्योदय नगरपालिकाका रहेको सूर्योदय नगरपालिका १४ कि लीला लिम्बूले बताईन ।

सूर्योदय नगरपालिकाको फिक्कल बजारमा रहेको प्रभु मनि ट्रान्सफरको फिक्कल स्थित शाखा सनराईज मल्टि ट्रेड सेन्टरका संचालकले स्थानियको लाखौ रुपैयाँ भुक्तानी नगरी फरार भएका छन् यतिबेला ।

वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्स र स्थानियबाट सापटी लिएको पैसा लिएर संचालकमध्येका रमेश पोख्रेल सम्पर्क विहिन भएका हुन । लामो समयदेखी पैसा नपाएपछि पीडितहरु न्यायको खोजीमा दौडिरहेका छन  ।

यता मनि ट्रान्सफरका संचालकले केहीलाई भने एभरेष्ट बैकमा खाता खोल्न समेत लगाएका कुरा बाहिरअएको छ । केही दिनमा खातामा पैसा जम्मा हुने भन्दै उनीहरुलाई पैसा दिन आलटाल गर्ने गरेको पीडितहरुको भनाई छ  ।

उता केहीलाई पैसा नै नभएको चेक दिएर झुक्याउने गरेको पनि पाइएको छ । दुई जना संचालक मध्येका रमेश पोख्रेल हाल सम्पर्क विहिन छन् । लामो समयदेखि धेरैले पैसा नपाएको सार्वजनिक भएपछि उनी सम्पर्क विहिन भएका हुन् । ठगिनेमा सूर्योदय नगरपालिका,माईजोगमाई गाउँपालिका,रोङ गाउँपालिका र माई नगरपालिकाका करिब ५० जना रहेका छन् । वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको रेमिट्यान्स र केहीले सापटी दिएको पैसा लिएर पोख्रेल गायव भएको फिक्कलका  भीष्म सुवेदीले बताए ।

मनि ट्रान्सफरबाट पैसा नपाएपछि  ३० जना सम्पर्कमा आएका छन् । अन्य धेरै पैसा पाउने आशमा बसेका छन् । मनि ट्रान्सफले एक करोड भन्दा धेरैको पैसा ठगेको स्थानियको अनुमान छ । आफूहरु ठगिएको थाहा पाएपछि केहीले भने इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी गरेपनि सुनुवाई नभएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार