इलाम : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष कृष्णबहादुर बस्नेतको एकपछि अर्को कर्तुत सार्वजनिक हुन थालेको छ ।
उनले आफ्नो गल्तीलाई ढाकछोप गर्न अनेकौं हतकण्टा रच्न थालेका छन् । आफ्नो गल्ती ढाकछोप गर्न तयार गरेको किर्ते कागजातमा आफ्नै सेवाग्राहीलाई प्रयोग गरेको पाइएको छ ।
वडाध्यक्ष बस्नेतले उपभोक्ता समिति गठन गरेको आम भेलाको माइन्युट फर्जी बनाएका छन् । सो फर्जी माइन्युटमा मंगलबार अन्य सेवा लिन आएका सेवाग्राहीलाई पुरानो मितिको आम भेलाको उपस्थिती बनाएर हस्ताक्षर गराएको खुलेको छ ।
उपभोक्ता समिति नै नबनाई योजनाको काम संचालन गरेको समाचार सार्वजनिक भएपछि बस्नेतले आफ्नो गल्ती ढाकछोप गर्न फर्जी माईन्युटमा सेवाग्राहीको हस्ताक्षर दुरुपयोग गरेका हुन् ।
बस्नेतले गएको १३ असोजमा माङ्सेबुङ गाउँपालिका सभाहलमा आम भेलाको आयोजना गरिएको व्यहोराको फर्जी माइन्युट खडा गरि मंगलबार सेवाग्राहीलाई हस्ताक्षर गराएका हुन् ।
वडा कार्यालयमा नागरिकताको सिफारिस लिन एवम् अन्य कामका लागि आएका सेवाग्राहीलाई वडाध्यक्षले फर्जी माइन्युटमा हस्ताक्षर गर्न लगाएको सेवाग्राहीले बताएका छ्न् ।
‘काम सकेपछि २ नम्बरका जतिले यता हस्ताक्षर गर्न आउनु भन्दै वडाध्यक्षले बोलाएर एउटा पुस्तिकामा हस्ताक्षर गर्न लगाउनुभयो’ नाम नबताउने शर्तमा एक सेवाग्राहीले भने, ‘मैले के को र कहिलेको भन्ने हेरिन र सोधिन, सिधै हस्ताक्षर गरेर फर्के । पुरानो मितिको भन्ने थाहा नै भएन, हस्ताक्षर चाहिँ आज नै गरेको हु ।’
माइन्युटको हस्ताक्षर आफैले गरेको स्वीकार गर्दै उनले त्यसरी पहिले नै उपभोक्ता समिति गठन गरेको फर्जी माइन्युट भन्ने थाहा नभएको बताइन् ।
आम भेलाको फर्जी माइन्युटमा आफु र वडासदस्यसहित ३० जनाको नाम लेखेर करिब २६ जना सेवाग्राहीको हस्ताक्षर गराएर वडाध्यक्ष बस्नेत उपभोक्ता समिति गठन गरेको फर्जी निर्णय लेखेका छन् ।
११ असोजमा पहिलो पटकको आम उपभोक्ताहरुको भेलाले समिति गठन गर्न नकसेपछि अर्को पटक भेला आयोजना गर्ने गरी भेला स्थगित भएको थियो । तर वडाअध्यक्ष बस्नेतले त्यसपछि कुनैपनि भेला आयोजना त गरेनन् नै, आफैं स्काभेटर व्यवस्थापन गरेर एक स्थानीयलाई काम गर्न लगाए ।
अहिलेको फर्जी माइन्युटमा वडाध्यक्ष बस्नेतले काम गर्न लगाइएका व्यक्ति कुशल लिम्बू इदिङ्गोलाई अध्यक्ष बनाएको देखाइएको छ । जबकी इदिङ्गोले सोमबार आफू अध्यक्षको दावेदार भएपनि समिति भने गठन भइनसकेको बताइसकेका छन् । उनले वडाअध्यक्ष बस्नेतले उपभोक्ता समिति गठन पछि गर्ने भन्दै उनैले स्काभेटरको व्यवस्थापन गरी आफूलाई काम गर्ने जिम्मा मात्र दिएको यसअघि नै बताइसकेका छन् ।
वडा अध्यक्ष बस्नेतले पनि उपभोक्ता समितिका अध्यक्ष पदमा धेरैजनाको आकांक्षा भएकाले सहमति नभएपछि समिति पछि गठन गर्नेगरी काम थालिएको वडा अध्यक्ष बस्नेतले यसअघि नै बताइसकेका छन् । तर उनले आफ्नै भनाई विपरित अहिले किर्ते माइन्युट तयार गरेका हुन् ।
यसरी किर्ते गरी तयार गरिएको माइन्युट वडा कार्यालयबाटै प्राप्त भएको छ । यस सम्बन्धी बुझ्न वडा अध्यक्ष बस्नेतलाई ९८६२७४८००८ मा पटकपटक टेलिफोन सम्पर्क गर्दा फोन उठेन ।
माङसेबुङ गाउँपालिकाले नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्र भित्रको विकास निर्माण सम्बन्धी कार्य संचालनका लागि ‘माङसेबुङ गाउँपालिकाको उपभोक्ता समिती गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४’ ९ बैशाख २०७५ को कार्यपालिका बैठकले स्वीकृत गरि लागू गरेको छ ।
उपभोक्ता समिती गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४’ को परिच्छेद २ दफा ४ उपदफा १ (क) मा आयोजनाबाट प्रत्यक्ष लाभान्वित उपभोक्ताहरुको आम भेलाबाट अधिकत सहभागितामा सम्बन्धित आयोजनास्थलमा ७ देखि ११ सदस्यीय उपभोक्ता समिति गठन गर्नुपर्ने प्रावधान छ ।
वडा अध्यक्ष बस्नेतले इदिङ्गोलाई स्काभेटर उपलब्ध गराएर सडक सरसफाईको काम गर्ने गरि जिम्मेवारी दिएका हुन् । औपचारिक रुपमा समिती गठन नभएपनि पछि मिलाउला भन्दै इदिङ्गोलाई काम गर्ने दिम्मा दिएका हुन् ।
वडा नम्बर २ को ‘वडास्तरीय सडक मर्मत’ का लागि उपभोक्ता समिति गठन नगरी सिधै काम गर्न थालिएको थियो । २ नम्बर वडाका विभिन्न सडकहरु मर्मतका लागि चालू आर्थिक वर्ष २०७९/०८० का लागि वडा सिलिङतर्फको सात लाख रुपैयाँको योजनाको काम उपभोक्ता समिति गठन नै नगरी वडा अध्यक्षको ठाडो आदेशमा काम थालिएको थियो ।
यस विषयमा माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानसँग बुझ्दा उनले यस विषयमा कार्यालयमा कुनै जानकारी नआएको बताए । ‘बाटो वडा अध्यक्ष वा कुनै व्यक्तिको नीजि लगानीमा बाटो खनिएको पनि हुनसक्छ । आजसम्म उपभोक्ता समिति गठन र काम थालिएको बारे कार्यालयमा कुनै आधिकारिक जानकारी छैन’ प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले भने ।