इलामः प्रेस मञ्च नेपालका संघीय समिति सदस्य प्रेमचन्द्र झा माथि भएको साँघातिक हमलाको घट्नाप्रति प्रेस मञ्च नेपाल संघीय समितिले विज्ञप्तिसहित ध्यानाकर्षण गरेको छ ।
झालाई कात्तिक १३ गते राति ९ः३० बजेको समयमा धनुषा जिल्लाको नगराईन नगरपालिका वडा ७ स्थित छठ घाटमा साँघातिक हमला भएको हो । विज्ञप्तिमा भनिएको छ –‘आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति मात्र तीन हप्ता बाँकी रहेका बेला सञ्चारकर्मी माथि भएको यस किसिमको आक्रमण प्रयासले राज्यको निवार्चन सुरक्षा चुस्ततामा समेत गम्भीर प्रश्न खडा भएको हाम्रो ठहर छ ।’ प्रेस मञ्च नेपालले घटनाको निष्पक्ष छानबिन गरी संलग्नहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न राज्यसमक्ष जोडदार माग पनि गरेको छ ।
सञ्चारकर्मीहरूलाई निर्वाधरुपमा सूचना,समाचार संकलन र सम्प्रेषणको लागि भयरहित वातावरण बनाउन समेत प्रेस मञ्चले अनुरोध गरेको मञ्चका अध्यक्ष कमन देवनद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ।