जहाँ पाउँदैछ एमालेले पूर्व नेताहरूबाटै चुनौती
अघिल्लो स्थानीय तह चुनावमा पूर्व सहकर्मीकै कठिन चुनौती सामना गरेको नेकपा एमालेलाई यसपटक पनि आफूबाटै फुटेर गएका नेताहरूबाट खतरा देखिन्छ। १ सय ४१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको एमालेका लागि २३ चुनावी क्षेत्रमा पूर्व नेताहरू नै प्रतिस्पर्धी छन्।
काठमाडौं। मंसिर ४ मा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा चुनावी चहलपहल बढेको छ। उम्मेदवारी दिएका राजनीतिक दलका उम्मेदवार र नेता–कार्यकर्ता यतिबेला घरदैलो कार्यक्रममा जुटिरहेका छन्। कसले बाजी मार्लान् भन्ने अनेक अड्कलबाजीहरू भइरहेका छन्।
अघिल्लो स्थानीय तह चुनावमा पूर्व सहकर्मीकै कठिन चुनौती सामना गरेको नेकपा एमालेलाई यसपटक पनि आफूबाटै फुटेर गएका नेताहरूबाट खतरा देखिन्छ। १ सय ४१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको एमालेका लागि २२ चुनावी क्षेत्रमा पूर्व नेताहरू नै प्रतिस्पर्धी छन्।
एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीका २० र दुईजना एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेकासँग एमालेका उम्मेदवार आमनेसामने हुँदैछन्। घनश्याम भुसालले एमाले छाडेर रुपन्देही -१ बाट गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका छन् ।
दाङ–१ मा शान्ता चौधरी एमालेबाट उम्मेदवार बन्दा अर्की सहकर्मी गंगा चौधरीले बागी उम्मेदवारी दिएर चुनौती बढाएकी छन् । धादिङ, सिरहा, रौतहट, रुपन्देही, सल्यान, उदयपुर, गुल्मी, मकवानपुर, दाङ, बारा, डोटी, इलाम, झापालगायतका जिल्लामा पनि एमाले र पूर्व एमालेबीच नै भिडन्त देखिएको छ ।
कहाँ कोसँग को भिड्दै
के होला इलाम -१ मा ?
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल अहिले पूर्व पार्टी एमालेविरुद्ध चुनावी मैदानमा छन्। यसअघि, ५ पटकसम्म सूर्य चिह्नबाट उठेका उनी अहिले एकीकृत समाजवादीबाट कलम चिह्न लिएर प्रतिस्पर्धामा छन्। उनीसँगै प्रतिस्पर्धामा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले उम्मेदवारी दिएका छन्।
२०४८ यताका ६ संसदीय निर्वाचनमा टिकिरहेका खनालका लागि आसन्न चुनाव फरक र चुनौतीपूर्ण छ । २०७४ सम्मका हरेक संसदीय निर्वाचनमा एमालेबाट चुनावी लडाइँ लडेका उनले पाँच जित र एक हार ब्यहोरेका छन् ।
यसपटक भने एमालेका लागि खनाल र खनालका लागि एमाले चुनौती बनेर देखिएका छन्। कांग्रेस, माओवादी र जसपाका मतदाता रिझाएर आफ्नो जित सुरक्षित गर्ने अभियानमा लागेका खनाल एमालेका लागि उत्तिकै चुनौती बनेका छन्।
पूर्वचुनावी ‘कमान्डर’ र उम्मेदवारको भिडन्त
यस्तै, प्रतिस्पर्धा पाल्पा–२ मा पनि छ। एमाले नेता ठाकुर गैरे एमालेबाट चुनाव लड्दा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डे चुनावी मैदानमा छन्। पाण्डेले यसअघि एमालेमा हुँदा त्यहाँ जितेका थिए। अहिले एमालेका उम्मेदवार गैरेलाई चुनाव जित्न पाण्डे चुनौती बनेका छन्।
गैरे २०७० को दोस्रो संविधान सभा निर्वाचनमा पाल्पा– २ बाट उम्मेदवारका आकांक्षी थिए। तर, अन्तिम समयमा पार्टीले पाण्डेलाई टिकट दियो। गैरेलाई निर्वाचनको चुनावी कमान्डर बनाइयो।
आफैं उम्मेदवार बन्ने योजनामा रहेका गैरे टिकट नपाएपछि पाण्डेलगायत पाल्पाका अन्य उम्मेदवारलाई जिताउने अभियानमा सक्रिय भए । २०७४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पनि टिकटका लागि गैरे र पाण्डेकै दाबेदारी रह्यो।
उक्त निर्वाचनमा पनि पाण्डेले नै बाजी मारे। अहिले पाण्डे नेकपा एकीकृत समाजवादीमा गएपछि गैरेको पालो आएको छ। कुनै बेला पाण्डेलाई जिताउन ‘कमान्डर’ को भूमिका खेलेका गैरे अहिले प्रतिस्पर्धी भएका छन् । त्यसैले पाल्पा २ को चुनावलाई पनि उत्सुकताका साथ हेरिएको छ।
भुसाल कि विश्वकर्मा ?
रुपन्देही १ मा अहिले घनश्याम भुसाल र छविलाल विश्वकर्मा मुख्य प्रतिस्पर्धी छन् । दुवै केही समय अघिसम्म एमाले नै थिए । पार्टीले टिकट नदिएपछि भुसालले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। सत्ता गठबन्धनको समर्थन रहेकाले भुसाललाई विश्वकर्माका लागि कडा चुनौती बनेर मैदानमा उत्रिएका छन्।
विगतका चुनावको मतको हिसाब गर्दा एउटा विश्लेषण गर्न सकिने आधार भए पनि भुसाल पार्टी नै छाडेर चुनावी मैदानमा उत्रिएको र एमाले विभाजन भएकाले नतिजा जे पनि हुन सक्ने अवस्था छ । एमाले सचिवसमेत रहेका विश्वकर्माले अघिल्लो प्रतिनिधिसभा चुनावमा कांग्रेसलाई हराएका थिए। विश्वकर्मालाई साथ दिएको राप्रपाको त्यस क्षेत्रमा सम्मानजनक मत छ।
एमालेकै बागी उम्मेदवार पनि भएको र थुप्रै कार्यकर्ताले पार्टी छाडेकाले विश्वकर्मालाई यसपटक सहज नभएको विष्लेषण गरिएको छ ।
भुसाल अघिल्लो चुनावमा रुपन्देही ३ बाट उठेर जितेका थिए। उनले राप्रपाका वरिष्ठ नेता दीपक बोहरालाई पाँच हजारभन्दा पनि बढी मतान्तरले हराएका थिए। विश्वकर्माले रुपन्देही–१ बाटै कांग्रेस नेता अब्दुल रज्जाकलाई सात हजारभन्दा पनि बढी मतान्तरले पराजित गरेका थिए । अघिल्लो निर्वाचनमा फरक–फरक क्षेत्रबाट विजयी भएका भुसाल र विश्वकर्मामध्ये यस पटक भने एकजना मात्रै संसदमा छिर्न पाउनेछन्।
आले आउलान् कि वली ?
डोटीमा प्रेम आले र एमालेका गौरी वली प्रतिस्पर्धामा छन्। ०७४ को निर्वाचनमा एमालेबाट उम्मेदवारी दिएका आलेलाई जिताउन चुनावी अभियानमा खटिएकी वली यस पटक प्रतिस्पर्धामा उत्रिएकी हुन्। प्रेम आले भने अहिले एमाले छाडेर नेकपा एसमा लागेका छन्।
एमाले र एकीकृत समाजवादीबाट दुई पटक मन्त्री भएका आले र पहिलोपटक चुनावी मैदानमा रहेकी वलीबीचको प्रतिस्पर्धा कस्तो होला हेर्न बाँकी छ।
जो पहिले गोकर्ण जिताउन खटिन्थिन्, अहिले हराउन
यस्तै पार्टी मात्र नभएर सबै आन्दोलनमा सँगै संघर्ष गरेका गोकर्ण विष्ट र रामकुमारी झाँक्री अहिले गुल्मी–२ मा आमने-सामने छन् । विष्ट एमाले र झाँक्री एकीकृत समाजवादीकी सचिव हुन् ।
उनीहरू पहिला एकै दलका नेता हुन्। यसअघि एमालेबाट समानुपातिक सांसद रहेकी झाँक्री पहिलोपटक प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उठेकी हुन्। विष्टले भने अघिल्लो पटक पनि गुल्मी–२ बाट चुनाव जितेका थिए ।
कुनैबेला विष्टका लागि नै मत माग्न झाँक्री हिँडेकी थिइन्। अहिले दुवै जना प्रतिस्पर्धी हुँदा गुल्मी २ को निर्वाचन निकै रोचक बनेको छ । २०४८ सालमा कांग्रेसका रुद्रमणी भण्डारीले जितेबाहेक सो साबिकको क्षेत्र नं ३ र हाल क्षेत्र नं २ मा वामपन्थीले जित्दै आएका छन्।
विष्ट स्वयम् २०५६ सालदेखि सो क्षेत्रमा निर्वाचन लड्दै आएका छन्। उनलाई २०६४ सालमा माओवादीका चन्द्रबहादुर थापा (सागर) ले पराजित गरेका थिए। अरू सबै निर्वाचन विष्टले जित्दै आएका छन्। यसपटक भने पूर्व सहकर्मीसँगको भिडन्तमा कस्तो नतिजा आउने हो अनुमान गर्न उनलाई नै कठिन भइरहेको छ ।
उदयपुर–२ मा पनि एमाले र पूर्वएमाले भिडन्त
उदयपुर–२ मा पनि एमाले र पूर्वएमाले भिड्दैछन्। एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा र एमालेबाट अम्मरबहादुर रायमाझी आमनेसामने भएका छन्। खतिवडा उदयपुरबाट तेस्रो पटक चुनाव लडेका हुन्। यसअघि दुई वटा निर्वाचनमा उठेका उनी एउटामा विजयी भए भने अर्कोमा पराजित ।
२०७० सालको दोस्रो संविधानसभा चुनावमा खतिवडा त्यही क्षेत्रबाट पराजित भएका थिए। रायमाझी भने पहिलोपटक संसदीय चुनावमा उठ्दै छन्। २०७० सालको निर्वाचनमा तत्कालीन उदयपुर ३ बाट कांग्रेसका नारायणबहादुर कार्की निर्वाचित भएका थिए।
त्यसपछि, २०७४ मा माओवादीका सुरेश राई ‘हिमाल’ले जिते। २०६४ मा माओवादीका मोहनबहादुर खत्री निर्वाचित भएका थिए। अब भने मुख्य प्रतिस्पर्धा खतिवडा र रायमाझीको बिचमा देखिएको छ।
चार दशक सगैसँगै भोट मागेका नेता अहिले प्रतिद्वन्द्वी
पूर्वसहकर्मीनै भिडेको अर्काे क्षेत्र हो धादिङ-१। एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे र एमाले नेता भूमि त्रिपाठी पहिलोपटक भिड्दैछन् । त्रिपाठी एक्लै चुनावी मैदानमा छन् भने पाण्डेलाई सत्ता गठबन्धनको समर्थन छ।
गत निर्वाचनमा त्रिपाठी धादिङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए भने पाण्डे सोही क्षेत्रको ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार। दुवै नेताले वाम गठबन्धनबाट विजयी बने। पाण्डे त मुख्यमन्त्री बन्न समेत सफल भए ।
त्यसो त, चुनावमा सँगसँगै भोट माग्ने यो क्रम झन्डै चार दशकदेखि जारी थियो। तर, यसपटक भने उनीहरूबीचको सहकार्य टुट्दै प्रतिस्पर्धी बनेका छन्। झन्डै चार दशकसम्म एउटै पार्टी र चिन्हसहित सहकार्य गरेका नेताद्वय पाण्डे र त्रिपाठी यस पटक फरक पार्टी र गठबन्धनबाट प्रतिस्पर्धा गर्दैछन्।
कार्यकर्ता भिड्दै पूर्व नेतासँग
मकवानपुर–२ मा पूर्वमन्त्री विरोध खतिवडा र युवा नेता महेश बर्तौलाबीच प्रतिस्पर्धा हुँदैछ । खतिवडा सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार हुन्। बर्तौला एमालेका । बहुदलीय प्रतिस्पर्धामा अहिलेसम्म चुनाव नहार्ने थोरै नेतामा खतिवडा पनि पर्छन्। २०४८ सालयता लडेका चार वटै चुनाव उनले जितेका छन्।
लगातार चुनाव जित्दै आएको भए पनि संविधान सभा निर्वाचनमा भने उनी प्रतिस्पर्धामा उत्रिन पाएनन्। २०६४ र २०७० सालको संविधान सभा चुनावमा एमालेले उनलाई टिकट दिएन।
यसपटक एमालेकै युवा नेता बर्तौला उनका प्रतिस्पर्धी छन्। विद्यार्थी राजनीतिबाट चर्चा बटुलेका बर्तौला खतिवडाकै ‘स्कुलिङ’बाट राजनीतिमा आएका हुन्। अब कसले बाजी मार्ला हेर्न बाँकी छ ।
अन्त पनि यस्तै रोचक प्रतिस्पर्धा
दाङ–१ मा शान्ता चौधरी र मेटमणि चौधरी प्रतिस्पर्धामा छन्। एकीकृत समाजवादीका उम्मेदवार हुन् मेटमणि। ०७४ को निर्वाचनमा मेटमणिलाई जिताउन शान्ता चुनावी अभियानमा थिइन् । ०७४ मा समानुपातिकबाट सांसद बनेकी शान्तालाई उनकै अर्की सहकर्मी गङ्गा चौधरीले बागी उम्मेदवारी दिएर चुनौती थपेकी छन्।
कुनै समय आन्दोलनमा सँगै होमिएका एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठ र एमालेका काठमाडौं जिल्ला समन्वय समितिका पूर्वप्रमुख शिवसुन्दर राजवैद्य पनि अहिले आमनेसामने छन्। काठमाडौं–८ मा मुख्य प्रतिस्पर्धी बनेका यी दुईमा कसले बाजी मार्ने हो हेर्न बाँकी छ ।
कास्की–२ बाट एकीकृत समाजवादीका श्रीनाथ बराल र एमाले नेतृ विद्या भट्टराई चुनावी मैदानमा छन्। ०७४ मा कास्की–२ बाट निर्वाचित रवीन्द्र अधिकारीको निधनपछि २०७६ मंसीरमा उपनिर्वाचन भएको थियो। रवीन्द्र अधिकारीकी पत्नीसमेत रहेकी एमाले नेतृ भट्टराईलाई जिताउने अभियानमा लागेका थिए श्रीनाथ बराल। अहिले भट्टराईलाई जित निकाल्न उनै बराल तगारो बनेका छन्।
ललितपुर–२ मा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र एमालेका प्रेमलाल महर्जन प्रतिस्पर्धामा छन्।
यता दैलेख–१ मा पनि एमाले र पूर्व एमाले आमनेसामने छन्। जहाँ एकीकृत समाजवादीका अम्मरबहादुर थापा र एमालेका रवीन्द्रराज शर्मा भिडेका छन्। बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशी गठबन्धनका तर्फबाट चुनावी मैदानमा हुँदा उनीसँग प्रतिस्पर्धामा छन् एमालेका केन्द्रीय सदस्य ऐन महर। महर पहिलो पटक संसदीय निर्वाचन लड्दै छन्।
डोल्पामा प्रतिनिधिसभा चुनावमा आमनेसामने छन् एकीकृत समाजवादीका धनबहादुर बुढा र एमालेका गणेशबहादुर शाही।
झापा–२ मा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे र निर्वाचनको मुखमै एमाले छाडेर माओवादी प्रवेश गरेका हरिकुमार राना प्रतिस्पर्धामा छन्।
कस्तो आउला नतिजा ?
अघिल्ला चुनावमा भोट मागेर हिँड्ने नेताहरू अहिले एमालेका उम्मेदवारविरुद्ध नै लागेपछि ती क्षेत्रको चुनावी नतिजाबारेमा अनेक अड्कलबाजी भइरहेका छन्। अघिल्लो स्थानीय चुनावमा एकीकृत समाजवादीले पाएको मत हेर्दा धेरै स्थानमा उ कमजोर छ।
तर, सत्तारुढ गठबन्धनमा रहेकाले उसलाई कांग्रेस, माओवादी, लोसपा र राष्ट्रिय जनमोर्चाको साथ छ। जसकारण उनीहरूले एमालेका उम्मेदवारलाई कडा टक्कर दिन सक्ने विश्लेषण छ।
कतिपय भन्छन्, ‘एमालेलाई विभाजित भएर गएका नेताहरूबाटै खतरा देखिन्छ। आफ्नै दलका पूर्व नेताहरूसँग आमनेसामने हुने निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले जित निकाल्न चुनौती छ।’
लोकतन्त्रमा हुने चुनावमा मैत्रीपूर्ण प्रतिस्पर्धा हुनुपर्ने हो। तर, आफ्ना पार्टीको एजेन्डा भन्दा पनि एक अर्काको कमजोरी औँल्याउँदै मत मागिरहेका छन्। पछिल्लो समय उम्मेदवारबीच चलिरहेको आरोप–प्रत्यारोपले पूर्वसहकर्मीबीचको चुनावी प्रतिस्पर्धा तिक्ततापूर्ण हुने अनुमान पनि गरिएको छ।