इलामको विकासमा उम्मेदवारको जोड

इलाम : सरकारले आउँदो ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणा गरेसँगै उम्मेदवारहरू मनोनयनपश्चात् जनताका घरघरमा भोट माग्न जान थालेका छन् । उम्मेदवारहरू केहीले आफ्नो जित निश्चित भएको त केहीले आफू राम्रो र योग्य उम्मेदवार भनेर प्रचारसमेत गरिरहेका छन् । गएको २३ गते मनोनयन दर्तापछि उम्मेदवारहरू जनतामाझ आफ्ना एजेन्डासहित जान थालेका छन् । स्वतन्त्र र दलका उम्मेदवारहरू आफू र आफ्नो दलले जित्नुपर्ने भन्दै जनतामाझ भोट माग्न घरघर पुग्न थालेका छन् । इलाममा शीर्ष नेताहरूले समेत मनोनयन दर्ता गराएपछि यहाँको हारजित निकै महŒवपूर्ण मानिएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतले मनोनयन दर्ता गराएको जिल्ला भनेर पनि यहाँको चर्चा भएको हो ।

इलाममा प्रतिनिधिसभामा २५ जनाले उम्मेदवारी दिएका छन् । देशकै ठूला नेताहरूसँग जिल्लाका दुई पार्टीका जिल्ला अध्यक्षहरूबीच कडा प्रतिस्पर्धा हुने भएको हो । नेपाली राजनीतिमा हेभिवेट मानिने नेता नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको चुनावी जिल्ला हो इलाम । विगत वर्षहरूमा एउटै पार्टीबाट दुई क्षेत्रबाट निर्वाचित हुँदै आएका उनीहरूले यसपटक फरक–फरक दलबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । दुईवटा प्रतिनिधिसभा क्षेत्र र चारवटा प्रदेशसभा क्षेत्र रहेको इलाममा रहेका उम्मेदवारलाई निर्वाचनसँग सम्बन्धित रहेर तपार्इंले जित्ने आधार के भनेर कारोबारकर्मी टीका खतिवडाले गरेको कुराकानीको सार :

मेरो कामको जनताले राम्रोसँग मूल्यांकन गरेका छन्
झलनाथ खनाल
इलाम क्षेत्र नम्बर १, उम्मेदवार, गठबन्धन

इलामको क्षेत्र नम्बर १ का जनताले अगाडिदेखि नै मलाई माया गर्दै आएका छन् । जनताले पुन: मलाई मेरो काम गर्ने शैली र मेरो क्षमताको कदर गर्नुहुनेछ भन्नेमा पुन: ढुक्क छु । यस क्षेत्रका जनताका यावत् समस्या विशेषगरी चियाको समस्या छ । मैले संसद्मा पटक–पटक कुरा उठाएको छु । केही कार्यान्वयन भएको पनि छ, तर केही अझै कार्यान्वयन भएको छ्रैन । यहाँका जनताको दु:खसुखमा मैले साथ दिँदै आएको छु । एमालेबाट अलग भएर गए पनि मलाई धेरै एमाले स्थानीय नेताहरूले माया गर्नुभएको छ । साथै मेरो पार्टी नेकपा एकीकृत समाजवादी पार्टी, यसका शुभेच्छुक संस्था तथा गठबन्धनमा रहेका दलमा आबद्ध नेताहरूले नै मलाई भोट मागिरहनुभएको छ ।
गठबन्धनमा रहेका दलका नेता तथा स्थानीय नेता र जनताले गर्दा पुन: मेरो जित सुनिश्चित देखिएको छ । विगतमा के भए, कसो भए भन्नेमा हामी लाग्नु हुँदैन । हामीले भोलिको दिन हेरेर भोलि के गर्ने भनेर अगाडि बढ्नुपर्छ । भोलिका दिनलाई राम्रो बनाउन आज नै पहल गर्नुपर्छ । यो कुरा यहाँका जनताले राम्रोसँग बुझ्नुभएको छ । इलामको यो निर्वाचन क्षेत्र जिल्लाकै एक नमुना क्षेत्र पनि हो । यहाँ भएका विकास निर्माणका कामहरूले पनि जनताले मलाई झलझली सम्झिरहनुभएको छ । हामीले कसरी यो क्षेत्रलाई थप अगाडि बढाउने भन्ने विषयमा यसअघि पनि धेरै संवाद र छलफल गर्दै आएका छौं । जनताले हामीलाई यसअघि पनि रचनात्मक सुझाव दिइरहनुभएको छ । विशेष गरेर मेरो निर्वाचन क्षेत्रका जनता सचेत हुनुहुन्छ । उहाँहरूले पुन: विवेक प्रयोग गर्नुहुनेछ । पटक–पटक संसद विघठन गरेर जनताको मतको दुरुपयोग गर्ने पार्टीलाई भन्दा विकास निर्माण र देशभक्तिको भावनामा अगाडि बढेको पार्टीलाई जनताले मत दिनुहुनेछ भन्नेमा म विश्वस्त छु ।

नागरिकले जस्टिफिकेसन गर्ने हो
महेश बस्नेत
इलाम क्षेत्र नम्बर १, उम्मेदवार, नेकपा एमाले

नेता समयले बनाउने हो । समयले चैं नि प्रतिशोध र प्रतिस्पर्धी पनि बनाउँदो रहेछ । त्यसैले हामी जुन ठाउँमा उभिएका छौँ, बसेका छौँ, हामी मूलधारमा नै रहेका छौँ । हामी डगमगाएका छैनौं, हामी नीति, सिद्धान्त र विचारपछाडि परेका छैनौं । त्यसलाई लिएर अगाडि बढेका छौँ । राजनीतिमा खुला प्रतिस्पर्धा हुन्छ । त्यसलाई हामी स्वाभाविक प्रक्रिया ठान्छौँ । यसलाई सहज रूपमा स्वीकार गरिन्छ ।
उमेरका हिसाबले केही साथीहरू ज्येष्ठ हुनुहुन्छ, उहाँहरूलाई सम्मान गर्छौं । उहाँहरू कसैले विगतका दिनमा केही बढी योगदान गर्नुभएको छ, त्यो पनि स्मरण गर्छौं र उहाँहरूलाई सामाजिक हिसाबको आतिथ्यता दिन्छौँ । सम्मान दिने कुराहरूमा हामीहरूबाट कुनै कमी–कमजोरी हुँदैन । त्यसलाई हामी सहज रूपमा लिन्छौँ । प्रतिस्पर्धा हामीले गर्ने होइन । नागरिकहरूले जस्टिफिकेसन गर्ने हो । उहाँहरूको न्यायलाई हामी सर्वसम्मत ढंगले स्वीकार गर्नेछौँ । यसैमा चाहिँ लोकतन्त्र बाँचेको छ भन्ने कुरामा विश्वास लागेको छ । त्यसैले यसलाई अनौठो रूपमा मैले लिएको छैन ।

जनताले विकासको अनुभूति गरेका छन्
सुवासचन्द्र्र नेम्वाङ
इलाम क्षेत्र नम्बर २, उम्मेदवार, नेकपा एमाले

संविधानसभाबाट धर्म निरपेक्षतासहितको समाजवादउन्मुख संविधान बनाएको सौभाग्य नेपाली जनता र इलामेली जनताको माया र स्नेह पाएर दुई पटक संविधानसभामा गएर सर्वसम्मतिले संविधानसभाबाट संविधान निर्माण गरेका कारण यहाँका जनताले भोट हाल्छन् भन्ने हो । मेरो नेतृत्व, पहल र प्रयासमा संविधान निर्माणको काम सम्पन्न भयो । इलामले र सिंगो देशले पाएको यो ठूलो मौका पनि हो । निर्माण भएको संविधान व्यवहारमा राम्रो गरी कार्यान्वयन गर्नुपर्ने अवस्था आएको छ । जहाँसम्म विकासको कुरा आएको छ, विकास म निर्वाचित हुनुअगाडि इलामको हालको २ नम्बरको अवस्था एकदमै दयनीय रहेको थियो । हाल आएर यस ठाउँमा विकासको काम अघि बढेको छ । जनताले विकासको अनुभूति गरेका छन् । यस क्षेत्रको विकासमा आफू सधैं लागेको हुनाले पनि मलाई यहाँका जनताले पुन: मत दिएर जिताउनेमा म ढुक्क छु ।

समृद्ध इलाम बनाउन मेरो उम्मेदवारी हो
डम्बरबहादुर खड्का
इलाम क्षेत्र नम्बर २, उम्मेदवार, गठबन्धन
सबैभन्दा पहिला त नेपाली कांग्रेसको संगठन हाल मजबुत भएको छ । यही संगठनले हो जिताउने । अर्को कुरा, मसँग प्रतिस्पर्धा गर्ने एउटा दलको संगठन फुटेर पटक–पटक चोइटिएको छ । उहाँहरू धुजाधुजा हुनुहुन्छ । अझ अर्को कुरा, विपक्षी पार्टीका नेताले यसअघि पटक–पटक जितेर गएपछि पुन: पाँच वर्षपछि भोट माग्नबाहेक कहिले आउनुभयो ? तपाईंहरूले पनि हेरिरहनुभएको छ । यो कुरा जनताले समेत बुझेका छन् । उहाँको निर्वाचन क्षेत्रमा केचाहिँ नयाँ र राम्रा कामहरू भए, कसैले एउटा देखाउन सक्छ र ?
इलामको २ नम्बर क्षेत्रलाई विकासका हिसाबले सम्पन्न बनाउन, यहाँका जनताको दैनिकीसँग जोडिएर आउने दैनिक आम्दानी कसरी बढाउन सकिन्छ, कसरी उहाँहरूलाई सहज बनाउन सकिन्छ भन्नेमा म लाग्नेछु । मैले यसअघि पनि जनतासमक्ष आफ्नै खर्चले केही कामहरू गरेको छु । जनतालाई अप्ठ्यारो पर्दा काम गरेको छु । उहाँहरूले मलाई राम्रोसँग बुझ्नुभएको छ । नेता शासक हैन, सेवक हो भन्ने कुरा जानकारी गराउन पनि लाग्नैपर्ने भएको छ ।
इलाम क्षेत्र नम्बर २ हाल यति पछि परेको छ । स्वास्थ्य, शिक्षा, यातायात राम्रो नभएकै कारण यो क्षेत्र पछि परेको छ । जनता हाल सचेत भइसक्नुभएको छ । उहाँहरूले पटक–पटक एउटै नेतालाई जिताएर पठाउँदा विकास शून्यजस्तै बन्छ भन्ने महसुस गरिसक्नुुभएको छ । त्यही भएर पनि यो पटक नयाँ नेतृत्व छान्नुहुनेछ भन्नेमा ढुक्क छु । इलामको २ नम्बर यति धेरै पछाडि पर्‍यो, यो यहाँका जनताले बुझ्नुभएको छ । उहाँहरूकै आग्रहअनुसार मैले पार्टी र गठबन्धनका तर्फबाट उम्मेदवारी दिएको हुँ ।

इलामको विकास गर्न यहाँ आएको हुँ
केपी पालुङ्वा
इलाम क्षेत्र नम्बर २, उम्मेदवार, जनता समाजवादी पार्टी नेपाल
सफा, सुन्दर र हरियाली इलामको विकासका लागि म यहाँ आएको छु । विगत लामो समयदेखि यहाँबाट निर्वाचित भएर गएका दलका उम्मेदवारले यहाँका जनताको मतको दुरुपयोग गर्नुभएको छ । त्यसैले गर्दा इलामको विकासचाहिँ भएको छैन । जति विकास हुनुपर्ने हो त्यो भएको छैन । एउटै मान्छेले पटक–पटक जितेपछि सो क्षेत्र पछि पर्दो रहेछ भन्ने सो क्षेत्रका जनताले महसुस गर्नुभएको छ । विशेष गरेर यहाँ रहेका विभिन्न जातजाति, धर्म, संस्कृति र परम्पराहरूको उत्तिकै विकास गर्न सकियो भने हामीले यस क्षेत्रलाई नेपालकै सुन्दर ठाउँ बनाउन सकिन्छ ।
यहाँ रहेका अनेकौं जडिबुटीलाई प्रशोधन गर्ने हो भने धेरै खालका औषधि बन्नेछन् । ती औषधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बेच्न र आर्थिक उपार्जन गर्न सक्छौं । यहाँ रहेका माङ्सेबुङ गाउँपालिकालाई थप समथर भागलाई जोडेर नगरपालिका बनाउने हो भने पहाड र तराईको यो क्षेत्र एकदमै उत्कृष्ट बन्नेछ । यहाँ रहेका विभिन्न शैक्षिक थलोहरूको सुधार गरी यहाँका जनताका छोराछोरीले प्राविधिक धारको ज्ञान दिलाउन सक्ने हो भने यहीं रोजगारीसँगै यो क्षेत्रको समेत विकास हुनेछ । यहाँ भएका नेपालटार–मंगलबारे सडकको अवस्था एकदमै दयनीय भएको छ ।
राँके–रवि–दमक सडकको अवस्था उस्तै छ । यहाँका जनताले सरकारबाट जति पाउनुपर्ने थियो, त्यो हुन सकेको छैन । यहाँका जनताको आयस्तर बढाउन हालसम्म नेता र सरकारमा पुगेकाहरूले गर्न सकेनन् । समृद्ध इलाम बनाउन जिल्लावासीको दिन दैनिकीसँग जोडिएर काम गर्न सकियो भने इलाम अझ विकासको गतिमा अघि बढ्नेछ । विभिन्न प्राकृतिक सम्पदाहरूले यहाँ धेरै पर्यटक आइरहनुभएको छ । यहाँ रहेका धार्मिक स्थलहरूको प्रवद्र्धनमा समेत जोड दिने कुरामा मैले गहिरो अध्ययन गरेको छु । त्यो अध्ययनलाई सही ठाउँमा सदुपयोग गर्नका निम्ति पनि मेरो उम्मेदवारी हो, जुन यहाँका जनताले बुझिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार