इलाम । इलामको सन्दकपूर गाँउपालिकामा अवस्थित टोड्के झरना अवलोकनमा पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । सन्दकपूरले पर्यटन पूर्वाधारसँगै सडक निर्माण गरेपछि झरना पुग्ने पर्यटकको संख्या बृद्धि भए पनि संरक्षणको अभाव छ ।
टेड्के झरना सन्दकपूर गाउँपालिका-२ मा अवस्थित सुन्दर झरना हो । अग्लो भिरबाट पानी खसेको रोमाञ्चित दृश्यमा रमाउन अहिले यो झरनामा पर्यटक आउने क्रम बढेको छ । सन्दकपूर गाउँपालिका भित्रका धेरै झरनाहरूमध्येको टोड्के झरना इलामको सबैभन्दा अग्लो झरना हो । झरनामा अहिले नेपाल, भारतको कलकत्ता र तेस्रो मुलकको पर्यटक पनि पुग्न थालेको स्थानीयको भनाई छ ।
२ सय ८० फिट अग्लो माईमझुवाको टोड्के झर्ना १० वर्ष अघि नेपालको दोस्रो अग्लो झरनामा सूचिकृत भएको थियो । झरना पुग्ने सडक, पदमार्ग र पर्यटन पूर्वाधार निर्माण गरिएपछि पर्यटकहरू पुग्ने क्रम बढेको हो ।
टोड्के झरनाको फेदीमा पुगेपछि झरनाको पानीमा देखिने सप्तरङ्गि इन्द्रेणिको मनमोहक दृश्यमा पनि रमाउन सकिन्छ । झरना क्षेत्रको पूर्वाधार निर्माणका लागि प्राकृतिक भु–बनोट संरक्षण गरि पूर्वाधार निर्माण गर्ने योजना गाउँपालिको रहेको सन्दकपूर-२ का वडाध्यक्ष सनम राईले बताउनुभयो ।
नेपाल र भारतमा पनि प्रचारप्रसारका काम गरिएकाले अहिले पर्यटकीय सिजनमा धेरै पर्यटन टोड्ने झरना पुग्ने गरेका छन् । सन्दकपुर वडा नम्बर २ मा रहेको टोड्के झर्नाको रोमाञ्चित दृश्य वरीपरीका डाडाँकाडा बाट पनि मज्जाले देख्न सकिन्छ ।