पाँचथरः फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ सिङहाङस्थित फाक्तेप युथक्लबका ६८ जनालाई केलाङ प्रशिक्षण दिइएको छ ।
पालिकाको आर्थिक सहयोग र क्लबको आयोजनामा लिम्बू जातिको केलाङ नाचमा नेपालकै उत्कृष्ट भनेर सम्मानित ‘नामसामी केसामी केलाङ संस्था’द्वारा असोज २६ गतेदेखि संचालन गरिएको १३ दिने केलाङ प्रशिक्षण सोमबार सम्पन्न भएको छ ।
पछिल्लो समयमा युवा युवतीहरुले मौलिक कला सँस्कृतिको संरक्षणमा चासो नदिँदा लोप हुँदै गएकोले मौलिक कला सँस्कृतिको संरक्षण सम्बर्द्धनमा टेवा पुर्याउने उदेश्यका साथ केलाङ प्रशिक्षणको आयोजना गरिएको क्लब अध्यक्ष पञ्च कुमार चेम्जोङले जानकारी दिए ।
पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेको प्रमुख अतिथि तथा उपाध्यक्ष ठकुरसिं थेगिमको बिशेष आतिथ्यमा समापन भएको । सहभागीहरुलाई अतिथिले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
“एकीकृत विकासको अभियान” सहित फाल्गुनन्द-५,फाक्तेपमा २०७३ सालबाट आधिकारिक दर्ता भइ संचालन भएको यस क्लबले हरेक क्षेत्रमा सहयोग गर्दै आएको अध्यक्ष चेम्जोङले बताए । क्लबको सकृयतामा देश तथा विदेशबाट आर्थिक सहयोग संकलन गरि खेलकुद,रंगशाला निर्माण,सामाजिक कार्य,विकास निर्माणका काम,दैवीप्रकोप,अनाथ,अपाङ्ग,कमजोर आर्थिक अवस्थाका परिवारलाई सहयोग तथा उपचार खर्च लगायतमा सहयोग गर्दै आएको उनको भनाइ छ ।