इलाम : तिहारमा दीप प्रज्वलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ ।
तिहार सुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् । तर आधुनिक शैली अंगाल्दा मौलिकता भने गुमाउँदै गएको छ ।
देउसी र भैलोमा बज्नुपर्ने मादल र बाँसुरीको साटो अचेल रेकर्डेड पप, आधुनिक र र्याप गीत बज्न थालेका छन् । साथै, मारुनी नृत्यको स्थान आधुनिक शैलीको नाचले लिएको छ ।
यमपञ्चक सुरु भएपछि इलामका गाउँघरदेखी चोकबजारमा बिरलै मात्र देउसी, भैलो खेल्ने गरेको देखिन्छ । तर उनीहरुले पनि गाउने गीत र नाचमा कुनै मौलिकता देखिन्न । इलाम गोलाखर्कका रुद्रप्रसाद नेपाल परम्परागत देउसी र भैलोलाई आधुनिकताले प्रभावित पारेकोमा चिन्ता व्यक्त गर्छन् ।
पश्चिमा संस्कृतिले नेपालको मौलिकता मेटाउन लागेको भन्दै उनले भने, ‘अहिलेको गीतमा मौलिकता कत्ति पनि छैन, मादल, बाँसुरी र हारमनी बाजा बजाएर गरिने मारुनी र सोरठीको नाच अब कहाँ हेर्न पाउनु ?’ आधुनिक प्रविधिको विकास र देखासिकीका कारण मौलिकता हराएको उनको बुझाइ छ ।
‘हामीमा मौलिकता जोगाउने भन्ने भावना विकास नै भएन, अरूको देखासिकी गर्ने बानीले कैयौँ संस्कृतिहरू लोप भइरहेका छन्,’ उनले भने ।
अर्का स्थानीय बुद्धिमान बिष्ट आधुनिक शैलीको देउसी र भैलोका कारण नेपालीको पहिचान नै गुम्ने अवस्था आउन लागेको बताए । उनले मौलिक कला, संस्कृतिको संरक्षणतर्फ युवापुस्ताको चासो बढ्नुपर्ने सुझाव दिए ।
प्रविधिको विकाससँगै आफूलाई परिमार्जित गर्नु राम्रो हो, तर आफ्नो मौलिकतालाई भुल्नु भनेको पहिचानलाई सङ्कटमा पार्नु हो, नयाँ पनि सिकौँ, अनुशरण गरौँ र पुरानोलाई पनि संरक्षण गरौँ भन्ने भवना युवापुस्तामा भएन भने भोलि विदेशी र हामीमा केही भिन्नता हुने छैन,’ बिष्टले भने, ‘नेपालीको पहिचान विश्वभर छ, त्यसैले विदेशी जस्तो नभई हाम्रो मौलिकतामा पनि रमाउन सक्नुपर्छ ।’
स्थानीय दिपेश अधिकारीले मौलिकतालाई जोगाउन युवापुस्ता नै लाग्नुपर्ने बताए । उनले बुढापाका मौलिकताको खानी भएको भन्दै उनीहरूबाट युवापुस्ताले ग्रहण गर्नुपर्ने बताउँछन् ।
अधिकारी भन्छन्, ‘अग्रजलाई सधैँ सम्मान गर्न पर्छ, उहाँहरूमा संस्कृतिका बारेमा धेरै ज्ञान छ, हामीले सिक्न सकिरहेका छैनौँ, धेरैलाई पुराना संस्कृतिका बारेमा थाहा नहुँदा पश्चिमा संस्कृतिको सिको गरेका हुन् ।’
अधिकारीले अहिले देउसी, भैलोमा अधिकांश आधुनिकता मिसिए पनि थोरै मौलिकता भने रहिरहेको दाबी गर्छन् । बढ्दो प्रविधिको विकासले गर्दा नयाँ पुस्ताले मौलिक परम्पराको संरक्षण गर्न नसकेको बताउँछन् ।