माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ स्थित चतुरेमा ‘माङसेबुङ-३ चतुरे गोलकप’ खुल्ला नकआउट फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।
२०७९ को शुभदिपावलीको अवसरमा ‘माङसेबुङ-३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले आयोजना गरेको प्रतियोगिताको उद्घाटन माङ्सेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गरे ।
स्थानीय जीवनज्योति माविको खेलमैदानमा सुरु भएको प्रतियोगितामा माङसेबुङ २ (साबिक इभाङ ३) र नाचुहाङ क्लब खलङ्गेले विजयी सुरुआत गरेको छ ।
पहिलो खेलमा आयोजक विरुद्ध २-१ को संघर्षपूर्ण जित निकाल्दै इभाङ विजयी बन्यो । जितका लागि इभाङका राजकुमार तामाङ र निमा तामाङले १/१ गोल गरेका थिए । उता आयोजकका तर्फबाट समीर राईले एकमात्र सान्त्वना गोल गरेका थिए ।
दोश्रो खेलमा माङसेबुङ २ डाडागाउँलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै नाचुहाङ क्लब माङ्सेबुङ ३ खलङ्गे विजयी बन्यो । निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा विजेता निर्धारण गर्नुपरेको थियो ।
प्रतियोगिता अन्तर्गत भोलि (सोमबार) तीनवटा खेल संचालन हुनेछन् । पहिलो खेलमा माङसेबुङ २ र सिक्तेम्बा ‘ए’ दोश्रो खेलमा सिक्तेम्बा ‘बी’ र आयोजक एवम् तेश्रो खेलमा सिक्तेम्बा भेट्रान र पावा ‘ए’ बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
इलाम र पाँचथरका २८ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल १६ कत्तिकमा हुनेछ ।प्रतियोगिताका विजेताले नगद ५० हजार ७९ र उपविजेताले ३० हजार ७९ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।
विजेताको पुरस्कार नेपाली कांग्रेस इलामका सभापति एवम् प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेद्वार डम्बरबहादुर खड्काले प्रायोजन गरेका छन् । त्यसैगरी उपविजेताको पुरस्कार नेकपा (माओवादी केन्द्र) का प्रदेश सचिवालय सदस्य एवम् प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (२) का गठबन्धनका उम्मेद्वार हर्कबहादुर लावती (कान्छा) ले प्रायोजन गरेको आयोजकले जनाएको छ ।