शैक्षिक हबको रूपमा विकास हुँदै महेन्द्रोदय माध्यमिक विद्यालय

  नयाँ बुलन्द
1.5k Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका १ स्थित महेन्द्रोदय माध्यमिक विद्यालय  सुविधा सम्पन्न शैक्षिक हबको रूपमा विकास गर्न सुरु गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको सक्रियतामा विद्यालयलाई शैक्षिक हबको रुपमा विकास गर्ने काम थालनी गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक परिवर्तनसँगै विद्यालयले फड्को मार्न थालेको हो ।

विद्यालयको संस्थापक आशिकराम बुढाथोकीको पनाती प्रकाश बुढाथोकी विव्यस अध्यक्ष र टेकधोज योङहाङ प्रधानाध्यापकमा नियुक्त भए पश्चात् विद्यालयको भौतिक, शैक्षिक, प्रशासनिक र ‍प्राविधिक क्षेत्रमा सुधार सुरु भएको हो ।

आर्थिक वर्ष २०७९/०८० मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ५० लाख बजेट विनियोजन भई कार्यान्वयनको चरणमा रहेको छ ।

हाल सो विद्यालयमा नर्सरी कक्षा संचालन गरी स्मार्ट टिभीसहितको पर्याप्त खेलकुद र शैक्षिक सामाग्री, पुस्तकालय, विज्ञापन प्रयोगशाला, प्राथमिक उपचार, तातोपानी, चिसोपानी, सभाहल र अफिस रुम र स्टाफ रुमको उचित व्यवस्थापन, सरसफाइ र शौचालयको उचित व्यवस्थापन गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षको नियमित निगरानी र प्रधानाध्यापकको प्रशासनिक चुस्तताले विद्यालयको प्रगति हुँदै गएको छ ।

विद्यालयमा विभिन्न दाताहरुको सहयोगमा अन्य व्यवस्थापनको काम भएको छ । बेलायतामा रहेका गजेन्द्र लिम्बूको सहयोगमा विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माण गरी विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्थापन गरिएको छ ।

अघिल्लो आव ०७७/७८ मा माङसेबुङ गाउँपालिकाले ३० लाख उपलब्ध गराएको थियो । सो बजेटबाट ४ कोठे पक्की भवन निर्माण भएको छ ।

सोही आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ६ लाख ५० प्राप्त भएको थियो । सो कार्यक्रमबाट ५ थान ल्यापटक र ३२ इन्चको स्मार्ट टिभी व्यवस्थापन गरिएको छ ।

त्यस्तै अमेरिकामा रहेको असोसिएसन अफ नेप्लिज मिडवेस्ट अमेरिका ‘आन्ना’ का सचिव डाक्टर ओम दाहाल मार्फत एक प्रदेश एक कम्प्युटर ल्याब परियोजना अन्तरगत नि:शुल्क २० थान कम्प्युटर र एक थान प्रोजेक्टर सहितको कम्प्युटर व्यवस्थापन गरिएको विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार