इलाममा खनाललाई गठबन्धनको भर,नेम्वाङलाई भने गठबन्धनको डर

इलाम : मंसिर ४ गते नजिकिंदै गर्दा इलाममा चुनावी माहोल पनि त्यतिकै तात्तिएको छ । यतिबेला उम्मेदवारहरु मतदाता रुझाउन ब्यस्त देखिन्छन् । अहिलेका युवाहरु नयाँ उम्मेदवारीको कुरा गरी रहेकाछन् भने कोही भने विकास बुझेको नेताको खोजीमा रहेका छन् । कतिपय उम्मेदवार भने कसैलाई सुईको नदिई यतिबेला सुटुक्क घरगाउँ पसिरहेका छन् त कोहि भने चोकचोकमा आफ्ना एजेण्डा सुनाई रहेका छन् । चुनावी प्रतिस्पर्धा त मत परिणामसँगै आउने नै छ । तर, यसपटकको निर्वाचन भने इलाममा रोचक हुने देखिन्छ । जहाँ कुरा भन्दा पनि पुराना अनुहार नै दोहोरिन्छन् कि नयाँ पुस्तामा हस्तातरण हुन्छ भन्नेमा प्रस्न चिन्ह खडा भएको छ ।

यस अघि इलामबाट पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल र संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधित्व गर्दै आएका छन् । स्कुल, कलेज हुँदै लामो राजनीतिक यात्रासमेत सँगै तय गरेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ पहिलो पटक इलाममा फरक दलबाट यसपटकको चुनावी परीक्षामा होमिँदैछन् । इलाम प्रतिनिधि सभा क्षेत्र नं १ बाट चुनाव लड्दै आएका खनाल यसपटक नेकपा (एकीकृत समाजवादी)का तर्फबाट चुनावी प्रतिष्पर्धामा रहेका छन् भने नेम्वाङ आफ्नो पुरानो क्षेत्र इलाम क्षेत्र नबर २ मा नेकपा (एमाले)बाट चुनाव लड्दैछन् । खनालको यो संसदीय चुनावी यात्रा लगातार सातौं पटक हो । यता नेम्बाङको संसदीय चुनावी यात्रा लगातार पाँचौं पटक हो ।

कस्लाई कति सहज ?
पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रतिनिधि सभाका लागि इलाम क्षेत्र नम्बर १ बाट निर्वाचन लड्दै छन् । २०५६ सालमा नेपाली काग्रसेका उम्मेदवार बेनुपराज प्रसाईंसंग पराजित बनेका उनी ,बाँकी पाँच वटा चुनावमा निर्वाचित भएका छन् । नेकपा एमालेबाट लगातर चुनाव जितेका उनी यो पटक पाँच दलिय गठबन्धनको सहारामा नेकपा एकिकृत समाजबादीबाट चुनाव लड्दै छन् । उनले यो चुनाव आफ्ना लागि अन्तिम बताउने गरेका छन् । जुनसुकै मूल्यचुकाएर भएपनि यो पटकको चुनाव जित्नुपर्ने उनलाई दवाव छ । यदी गठबन्धनले इमान्दार भएर सहयोग नगरेको खण्डमा यो पटकको चुनाव जित्न उनलाई निकै कठिन पर्ने देखिन्छ ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रसंग तालमेल गरेर झलनाथ खनाल १७ हजार २ सय ६७ को फराकिलो मतान्तरले विजयी बने । नेपाली काग्रेसका उम्मेदवार भुपेन्द्र कट्टेलले १९ हजार ६ सय ३८ मत प्राप्त गर्दा खनालले ३६ हजार ८ सय ५ मत पाएका थिए । आगामी मंसिरमा भने खनाललाई विगतमा जस्तो चुनाव जित्न सहज छैन । नेकपा एमालेबाट फुटेपछि उनी नयाँ पार्टी नेकपा एसबाट चुनावी मैदानमा उत्रदैछन् । स्थानियतहको निर्वाचनकोे नतिजाले पनि खनाललाई एक्लै चुनाव जित्न कठिन हुने देखिन्छ । त्यसैले उनी काग्रेस सहितको पाँच दलीय गठबन्धनको सहारामा चुनावी प्रतिस्पर्धामा छन् ।

तर यता खनाल भने कुनै संखा नमानी चुनाब जित्नेमा ढुक्क देखिन्छन् । खनालको निर्वाचन क्षेत्रमा सूर्याेदय र माई नगरपालिका तथा माइजोगमाई, सन्दकपुर र रोङ गाउँपालिका गरी ५ स्थानीय तह रहेका छन् । गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनको मत परिणामलाई हेर्दा क्षेत्र नम्बर १ मा नेकपा एस निकै कमजोर छ । सूर्योदय नगरपालिकाको प्रमुखमा नेकपा एसका उम्मेदवार रण बहादुर राई विजयी बनेका छन् ।

माई नगरपालिकाको प्रमुख र माईजोगमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् भने सन्दकपुर र रोङ गाउँपालिकाको अध्यक्ष नेपाली काग्रेसले जितको छ । ३९ वटा वडा रहेको खनालको निर्वाचन क्षेत्रमा स्थानिय निर्वाचनमा नेपाली काग्रेसले १६ ,एमालेले १५ ,समाजवादीले ७ र स्वतन्त्रले एक वडा जितेका थिए । खनालको जितका लागि पाँच दलिय गठबन्धन मध्येको काग्रेसको भूमिका महत्वपूर्ण हुने देखिन्छ । यदी कागे्रसका कार्यकर्ताले पार्टीको निर्देशन अनुसार इमान्दार भएर भोट दिएमा खनालको जित सुनिश्चित देखिन्छ ।

खनाल भर्सेस बस्नेत

विगतका निर्वाचनमा खनालको प्रतिस्पर्धी काग्रेस बन्ने गरेको थियो । तर यो पटक खनाल आफ्नै पुरानो पार्टी नेकपा एमालेसंग चुनावी मैदानमा होमिएका छन् । खनालसंग एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतको प्रतिस्पर्धा हुँदैछ । बस्नेत २ पटक इलाम नगरपालिकाको प्रमुख भइसकेका व्यक्ति हुन् । लामो समयदेखि पार्टीमा राम्रो पकड बनाएका बस्नेतका लागि पनि यो निर्वाचन भने फलामे चिउरा बन्ने देखिन्छ । किनकी बस्नेतको प्रतिस्पर्धी हेबीवेट नेतासँग रहेको छ ।

२०४८ सालदेखि अधिकांश निर्वाचनमा सहजै जित निकाल्दै आएका खनाल आगामी चुनावमा भने त्यति सजिलो सुविधामा छैनन् । २०५६ सालमा काग्रेसका बेनुपराज प्रसाईसंग पराजित बनेका खनालले यसपटक गठबन्धनका दलहरुको मत सुरक्षित पार्नुपर्ने चुनौती छ । यदि गठबन्धनबाट असहयोग भएमा खनालले २०५६ सालको नियति भोग्नुपर्ने छ ।

नेम्वाङ भर्सेस खड्का

इलामको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमाले बाट एमाले उपाध्यक्ष सुबासचन्द्र नेम्वाङ र नेपाली काँग्रेसबाट जिल्ला सभापति डम्बर खड्का चुनाबी मैदानमा रहेका छन् । खड्कको उम्मेदारी सत्तारुढ गठबन्धनबाट रहेको छ । खड्काको उम्मेदवारी परे संगै इलाम क्षेत्र नम्बर २ मा ०५६ सालदेखि अपराजित रहेका सुवासचन्द्र नेम्वाङलाई भने गठबन्धनले अप्ठ्यारो पार्ने देखिएको छ । यस पटकको निर्वाचनमा नेम्बाङलाई सत्ता गठबन्धन मुख्य चुनौती बन्नेछ । खड्का युबा नेता हुन ।

यता विकास निर्माणको काम नगरेको भन्दै एमालेसँग इलाम–२ का मतदाताको असन्तुष्टि बढेको देखिएको हो । विशेषगरी राँके–रवि सडक नबनेकामा नागरिक असन्तुष्ट रहेका छन् । ०७४ को संसदीय चुनावमा माओवादी र एमालेबीचको गठबन्धनबाट जितेका नेम्बाङले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापालाई पराजय गराएका थिए । नेम्बाङको क्षेत्रमा यो पटक एमाले फुटेका कारण आफूले जित्ने कांग्रेसको दाबी छ । एमालेको पकड मानिएको यो क्षेत्रमा चुनाव जित्ने रणनीतिका लागि कांग्रेस सहित गठबन्धन दल लागिपरेका छन् ।

इलाम दुईमा २ नगरपालिका र ३ गाँउपालिका छन् । गत स्थानीय चुनावमा कांग्रेसले इलाम नगरपालिकाको मेयर–उपमेयर नै जितेको थियो भने एमाले देउमाई नगरपालिकामा मेयर र उपमेयर जितेको थियो । यस्तै, चलाचुली गाँउपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो । फाकफोक गाँउपालिकामा अध्यक्ष, उपाध्यक्ष एमालेले जितेको थियो भने माङसेबुङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष गठबन्धनले जितेको थियो ।

प्रदेशसभामा को–को कता ?

उता प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर १ (१) मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकै नेतृ खिनु लङवा लिम्बू र एमालेकी सोभा पराजुलीबीच प्रतिष्पर्धा हुने भएको छ । लिम्बू प्रदेश १ की संस्कृति तथा पर्यटन मन्त्री हुन् भने पराजुली सन्दकपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हुन् । क्षेत्र नम्बर १ (२) मा गठबन्धनका तर्फबाट कांग्रेसका समशेर राई र एमालेका दीपककुमार थेवेबीच प्रतिष्पर्धा हुने भएको छ । राई रोङ गाउँपालिकाका निर्वातमान अध्यक्ष हुन् भने थेवे माई नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन् ।

त्यस्तै क्षेत्र नम्बर २ (१) मा गठबन्धनका तर्फबाट कांग्रेसका गोविन्द गिरी र एमालेका गणेशप्रसाद बरालबीच प्रतिष्पर्धा हुने भएको छ । गिरी पहिलोपटक संसदीय राजनीतिमा आएका छन् भने बराल जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख हुन् । क्षेत्र नम्बर २ (२) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हर्क लावती (कान्छा) र एमालेका रामबहादुर मगर रानाबीच प्रतिष्पर्धा हुने भएको छ । लावती ०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालिन सभामुख एमाले नेता सुवासचन्द्र नेम्बाङसँग क्षेत्र नम्बर २ मा प्रतिष्पर्धा गरी पराजित भएका थिए । राना भने प्रदेश १ का पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार