इलाम : मेची राजमार्गमा पर्ने भन्ज्याङबाट दुई किलोमिटरभित्र पर्छ, फाल्गुनन्द सुकिलुम्बा विमानस्थल । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र तत्कालीन पर्यटनमन्त्री प्रेम आले गत वर्ष फागुन १ मा एउटा सानो जत्था लिएर विमानस्थलको धावनमार्ग उद्घाटन गर्न आएका थिए । त्यसपछि इलाम नगरपालिकाको सौजन्यमा विमानस्थलमा तीन महिनासम्म साप्ताहिक रूपमा तारा एयरले उडान गर्यो । अहिले उडान बन्द छ ।
इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल, टर्मिनलसमेत नबनाई पूर्वप्रधानमन्त्री झलनाथ खनाल र तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेले हतारहतार गत फागुनमा उद्घाटन गरेका थिए । नगरपालिकाले हरेक साता ११ टिकटको पैसा दिँदै ३ महिनासम्म तारा एयर उडाएको थियो, अहिले बन्द छ । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर
विमानस्थल टर्मिनल र अरू पूर्वाधार नबनी तथा रुट निर्धारण नभई किन हतार–हतार धावनमार्ग उद्घाटन गरियो ? पूर्वप्रधानमन्त्री एवं इलाम–१ मा गठबन्धनका प्रत्याशी झलनाथ खनालले जवाफ दिए, ‘विमानस्थल बनाइसकेका हौं । केही–केही कुरा मात्रै बाँकी रहेको हो, अनावश्यक नकारात्मक टिप्पणी गर्ने कुरा मात्रै हो यो । तर त्यति लामो समयसम्म त्यही क्षेत्रबाट निर्वाचित नेता (सुवास नेम्बाङ) ले बेवास्ता गरेको चैं साँचो हो ।’
चुनावी क्षेत्रमा प्रचारका लागि बुधबार आइपुग्ने बताएका नेता खनालले आफ्ना योजना र सपना सुनाए । ‘सीमा मार्ग निर्माणलाई हामीले खुबै प्राथमिकता दियौं, तर चिवाभन्ज्याङदेखि काँकडभिट्टासम्मको मार्ग बनाउने कुरामा खड्गप्रसाद शर्मा ओली सरकार चार वर्षसम्म कानमा तेल हालेर बस्यो । अहिले गठबन्धन सरकार आएपछि हामीले पैसा हालेका छौं, अब काम अघि बढ्छ,’ उनले भने ।
यिनै सरोकार लिएर इलाम–२ का प्रत्याशी एवं पूर्वसभामुख सुवास नेम्बाङसमक्ष पुग्दा उनका कुरा पनि उस्तै थिए । उनलाई कान्तिपुरले ‘तपाईंको क्षेत्रमा रहेको सुकिलुम्बा विमानस्थलको कन्तबिजोग देख्नुभएको छ ? भनी प्रश्न गरेको थियो । उनले भने, ‘स्पष्ट रूपमा भनिहालौं, विमानस्थल रहेको क्षेत्र यसअघिको निर्वाचनसम्म मेरो क्षेत्रमा थिएन । विमानस्थलमा टर्मिनल भवनदेखि अरू धेरै संरचना बनाउन बाँकी छ । यो विमानस्थल मेरै प्रयास र पहलमा बनेको हो, रवीन्द्र अधिकारी पर्यटनमन्त्री भएका बेला मैले अनुरोध गरेर धावनमार्ग पिच गराएको हो । अबको चरणमा भन्ज्याङदेखि विमानस्थलको २ किलोमिटर बाटो पिच गर्ने, विमानस्थललाई संसाधन र संरचनाका आधारमा नियमित उडान गर्न सकिने स्तरमा लैजाने प्रतिबद्धता गरेको छु ।’
इलाममा यस्ता अनगिन्ती योजना छन्, जसका बारेमा एकअर्काले आरोप–प्रत्यारोप गरिरहेका हुन्छन् । स्थानीय बुद्धिजीवी धर्म गौतम भन्छन्, ‘नेताको भाषण आउनेबित्तिकै टीभीको च्यानल फेर्नुपर्ने स्थिति छ । सबै मुख्य नेताहरू सिन्डीकेटमा चलेका छन्, यिनीहरू कोही हार्दैनन् । बरु जनताले हार्नेछन् ।’
२०४६ सालपछि भएका ६ निर्वाचनमा खनाल पाँच पटक विजयी भएका छन् । २०४८ मा भएको निर्वाचनमा इलाम–१ मा कांग्रेसका तोयानाथ भट्टराईलाई पराजित गर्दै एमाले नेता खनाल विजयी भएका थिए, त्यसबेला करिब पाँच हजार मतान्तर थियो । तीन वर्षपछि २०५१ को निर्वाचनमा पनि दुवै उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो, खनाल २ सय १० मतान्तरले विजयी भए । २०५६ को निर्वाचनमा त मतान्तर जम्मा १ सय ६ मात्र भयो । तर, यसपालि पराजित हुने पालो थियो खनालको । कांग्रेसका बेनुपराज प्रसाईं विजयी भएर संसद् पुगे ।
गणतन्त्र स्थापनापछि २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा मात्र होइन, संविधान जारी भएपछि २०७४ मा भएको निर्वाचनमा पनि खनाल नै विजयी भए । २०७० मा खनालले सर्लाहीबाट पनि प्रयास गरे तर माओवादीका शम्भुलाल श्रेष्ठसँग पराजित भए । पछिल्लो निर्वाचनमा इलाम १ मा कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार मत ल्याउँदा वाम गठबन्धनका खनालले ३६ हजार मत कटाएका थिए । उता राष्ट्रिय सभाबाट संसद् यात्रा सुरु गरेका नेम्वाङ प्रतिनिधिसभामा पहिलो पटक २०५६ मा पुगेका हुन् । राष्ट्रिय सभा, संविधानसभा र प्रतिनिधिसभा गरी उनी पनि अहिलेसम्म पाँच पटक संसद् पुगिसकेका छन् ।
अलैंची, ओलन (दूध), अर्थोडक्स (चिया), अदुवा, आलु, अम्रिसो, अकबरेसहितका उत्पादनका कारण बाहिर चर्चामा आउने गरेको इलामको स्थिति पहिलेभन्दा भिन्न छ । नेताहरू स्थानीय विकास र समृद्धिका कुराभन्दा पनि राजनीतिक प्रतिशोध र दोषारोपणमा लागेका छन् । ‘अरू कुरा के गर्नु ! नेता झलनाथ ०४८ सालदेखिका हाम्रा नेता हुनुहुन्छ,’ फिक्कलवासी शिवराज दियाली भन्छन्, ‘०४० सालदेखि निर्बाध गाडी चल्न थालेको र नेता झलनाथ आएपछि सडक स्तरोन्नति, पिच गर्ने भनेर वाचा गरिँदै आएको २९ किलोमिटरको फिक्कल–नयाँबजार सडकको हालत कसले देखेको छ ? यसलाई हामी महाकच्ची सडक भनेर चिन्छौं ।’
फिक्कलदेखि नयाँ बजारसम्मको २९ किलोमिटर बाटोको अवस्था जुन पूर्वप्रधानमन्त्री एवं हालका उम्मेदवार झलनाथ खनालको क्षेत्रसमेत हो । तस्बिर सौजन्य: शिवराज दियाली
सन्दकपुर जस्ता पर्यटकीयस्थलमा पुग्ने सडक छैन । इलाम सदरमुकामको बजारदेखि १५ किमि मात्र टाढा रहेको माइपोखरी जाने सडक पनि राम्रो छैन । ‘इलाम जिल्लाका लागि मैले जेजति गर्दै आएको छु, यो अतुलनीय छ । जिल्लामा बाटाघाटा बनेका छन्, जिल्लाभर विद्युतीकरण भएको छ, शिक्षा–स्वास्थ्यमा सोचिएभन्दा बढी काम भएका छन् । अन्तु, कन्याम, माइपोखरीजस्ता पर्यटकीय केन्द्र विकास गरिएका छन्,’ नेता खनाल भन्छन्, ‘अब प्रत्येक गाउँ र वडासम्म बाटाघाटा पुर्याउने लक्ष्य छ, चियाको विकास भए पनि बजारीकरणमा समस्या देखिएका छन् । भारतको बजार अनिश्चित भइरहेका बेला अब चीनको बजार पनि खोजिनेछ । खानेपानी आयोजनाका लागि प्रत्येक पालिका र वडामा करोडौंकरोड बजेट छुट्याइएको छ ।’
नेताहरूबाट एकदमै हचुवा खाले प्रतिक्रिया आइरहेका बेला गौतमजस्ता स्थानीय बुद्धिजीवी भने ‘भूलभुलैयाजस्तो वाक्पटुताको प्रवृत्तिबाट अब जनता वाक्क भइसकेको’ बताउँछन् । कहिले सर्प पाल्न र एन्टिभेनम उत्पादनका लागि रकम लिने तर त्यसको उपलब्धि नबताउने प्रवृत्ति र राजनीतिका नाममा बौद्धिक दिवालियापन देखाउने दुवै राजनीतिक शैलीबाट जनता वाक्कदिक्क भइसकेको गौतमले बताए ।
इलाम बजारको दृश्य । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर
‘सुवास नेम्बाङले वैचारिक र बौद्धिक दिवालियापन देखाएका छन्, तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्दा उनले देखाएको मौनताका कारण उनको छवि रहेन । यस पटक जातीय हिसाबले वा बौद्धिक दिवालियापनका कारण पनि उनको मत घट्ने देखिन्छ,’ उनले भने, ‘अर्का नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनदेखि नै कांग्रेसले धोका दिएको भन्दै आएका छन्, अब उनलाई गठबन्धनले कसरी नेता मान्ला ?’
इलाम भन्नेबित्तिकै आँखामा चित्र आउँछ– स्वच्छ, स्निग्ध र सुन्दर जगत् । त्यसमाथि अलैंची, ओलन, अर्थोडक्स चिया, अदुवा, आलु, अम्रिसो, अकबरेजस्ता कृषि उत्पादनको पुरानो चिनारी पनि छ । नेता खनाल र नेम्बाङ दुवै जना यही पहिचानलाई बढाउने प्रतिबद्धतामा उभिएका छन् । सबैलाई मीठो लाग्ने संकेतमा सधैंको अमूर्त शैली झिकेर खनाल भन्छन्, ‘विकास कहिल्यै नटुंगिने प्रक्रिया हो । अब हामी नयाँ ढंगले अघि बढ्नेछौं ।’ यो ‘नयाँ ढंग’ के हो भन्नेबारेमा नेता खनालले खुलाउन र बुझाउन चाहेनन् ।
इलामस्थित बुद्धिजीवी मोहनसिंह थेबेका बुझाइमा नेताहरू आफ्ना सरोकार र आवाज उठाउने बेला अनेक बहाना बनाउँदै कुरा सुनाइरहेका हुन्छन् । ‘फेरि अर्को ५ वर्षमा अनेक बहाना बनाउँदै कुरा मिलाइरहन्छन्,’ उनले भने, ‘हामी यसैमा अभ्यस्त भइसकेका छौं ।’
चियामा चिन्ता
भारतले नेपाली चियामा लगाउन खोजेको अंकुशका बारेमा अहिलेका प्रत्याशी उम्मेदवार धेरै जानकार छैनन् । पछिल्लो समय भारत सरकारले गुणस्तरको कारण देखाउँदै नेपाली चियामा चर्को भन्सार शुल्क लगाउने तयारी थालेपछि अबको चिया उद्योग कसरी धान्ने भन्ने चिन्तामा व्यवसायी छन् । कोसेली र घरायसी प्रयोगमा १० प्रतिशत र पश्चिमा बजारमा १० प्रतिशत मात्र अर्थोडक्स चिया निर्यात हुने गरेको छ । बाँकी उत्पादनको बजार भारत हो ।
कन्याम चिया बगान । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर
‘विशेष गरी कांग्रेस सरकारले इलामको चिया उद्योगलाई निजीकरण गरेपछि एकपछि अर्को कठिनाइ अघि आएकोबारे हामी जानकार छौं,’ इलाम–२ का निवर्तमान सांसद एवं अहिलेका प्रत्याशी सुवास नेम्बाङले भने । तर यो कठिनाइ के हो अनि किन र कसरी आयो भन्नेबारेमा जवाफ दिनेभन्दा दोषारोपणमै समय खर्चने मुडमा उनी थिए । अर्का इलाम–१ निवर्तमान सांसद एवं अहिलेका प्रत्याशी झलनाथ खनाल भने ‘भारतले नटेरे चीनतिर जाने’ भन्ने आशयको प्रतिक्रिया दिएरै उम्कन चाहे ।
सीमा सडक छैन
पूर्वी भारतीय सीमा वैज्ञानिक नहुँदा सबैभन्दा पीडामा सीमा क्षेत्रका नागरिक छन् । सलकपुरदेखि सन्दकपुरसम्मको इलाम खण्डको साढे ५२ किलोमिटर क्षेत्रलाई हेर्ने हो भने बढी बाक्लो बस्ती नेपालतर्फ छ । भारततर्फ मानेभन्ज्याङ, फाटक, छब्बिसेलगायत केही स्थानमा बस्ती छ ।
फाल्गुनन्द सुकिलुम्बा विमानस्थल जाने सडक । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर
यस क्षेत्रको धेरै सीमा भारततर्फ सिंहलीला नेसनल पार्कले ओगटेको हुनाले भारतीय बस्ती कम भएको हो । भौगोलिक हिसाबले पनि निकै विकट यी क्षेत्रका बासिन्दा भारतीय पक्षले पछिल्लो समय दिने गरेको झमेलाका कारण हैरान छन् । यसको मुख्य कारण सडक पनि देखिएको छ । ‘नेपालको सीमावर्ती क्षेत्र अनुगमन गर्न पनि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ,’ बोर्डर आउट पोस्ट चिवाभन्ज्याङ, पाँचथरका वाहिनी प्रमुख गंगा पाण्डे भन्छन्, ‘यो हामीले बेहोरेको सबैभन्दा ठूलो कठिनाइ हो ।’
सीमा क्षेत्रमा नेपालतर्फ थालिएका पर्यटकीय पूर्वाधार निर्माणका काममा समेत भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध पुर्याउने गरेको छ । ‘सीमावर्ती क्षेत्रमा भारतले नै बनाएको सडक भएर आउजाउ गर्नुपर्ने अवस्था छ, तर सामानबिना मान्छे मात्र आउजाउ गर्नु भन्दै एसएसबीले निगरानी बढाएको छ,’ मानेभन्ज्याङ नाकाका राजन तामाङले सुनाए । ईकान्तिपुरबाट सभार