इलामः पत्रकारिता पेशालाई मर्यादित र स्वच्छ बनाउँदै पत्रकारहरुले निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्ने सहजकर्ताहरुले जोड दिएका छन् ।
मिडिया एक्सन नेपालद्वारा आयोजित पत्रकारहरूलाई निस्पक्ष रिपोर्टिङ तथा दुस्प्रचार र घृणायुक्त अभिव्यक्तिको रोकथामका विषयमा मंगलबार प्रदेश नं.१ को विराटनगरमा सम्पन्न प्रदेशस्तरीय प्रशिक्षणमा प्रशिक्षकले उक्त कुरा बताएका छन् । प्रत्रकारहरुलाई प्रशिक्षले आफ्नो अनुभवसहित अभिमुखीकरण कार्यक्रममा आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा निष्पक्ष भएर समाचार संकलन, प्रकाशन तथा प्रसारण गर्न सुझाइएका छन् । उनीहरुले घृणायुक्त अभिव्यक्ति र दुष्प्रचारबाट बच्नुपर्नेमा जोड दिइएका छन् ।
मिडिया एक्सन नेपालका अध्यक्ष एवम् सञ्चार विज्ञ लक्ष्मणदत्त पन्तले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने भन्दै निर्वाचनको बेला पत्रकारले चनाखो भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताए । उनी भन्छन्–“पत्रकारले अड्कलबाजी गरेर उम्मेदवारको पक्षपोषण गर्नु पत्रकार आचारसंहिता विपरीत हो ।” उनले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनु पर्ने बताए । समाचार संकलनका क्रममा हुन सक्ने विषयमा चनाखो बन्नु पर्ने र यस्तो अवस्थामा राजनीतिक दल तथा उम्मेद्वारले प्रभावित बनाएर समाचारमा प्रभाव पार्न सक्ने भएकाले सचेत बन्नु पर्ने धारणा ब्यक्त गरे । उनले पत्रकारलाई प्रयोग गरेर र्दुष्प्रचार गर्न सक्ने भएकाले तथ्यलाई आधार माने मात्रै समाचार प्रकाशन तथा प्रशारण गर्न आग्रह गरे । सञ्चार विज्ञ पन्तले समाचार संकलनदेखि नै सचेत बन्नु पर्ने बताए । उनले गोपनियताको विषयमा ध्यान दिदैं हरेक विषयमा सचेत बन्नु सुझाव दिए । कार्यक्रममा प्रशिक्षक प्रेस काउन्सिल नेपालका प्रमुख अधिकृत झविन्द्र भुसालले निर्वाचनको समयमा पत्रकार आचारसंहितासँगै निर्वाचन आचारसंहितालाई पनि गम्भिरतापूर्वक पालना गर्नु पत्रकारहरुको कर्तव्य भएको उल्लेख गरे । उनले काउन्सिलले सबै सञ्चारमाध्यमको अनुगमन गरिरहेकाले जिम्मेवार बनेर समाचार सम्प्रेषण गर्न आग्रह गरे । उनले पत्रकारले भ्रामक समाचार लेख्न नहुने धारणा ब्यक्त गरे । त्यस्तै मानव अधिकार विज्ञ यामबहादुर दुराले निर्वाचनको तीन वटा चरण अन्र्तगत निर्वाचन अघि, निर्वाचनको दौरान र निर्वाचन पश्चात् गरिने समाचार सम्प्रेषणमा सचेत हुनुपर्ने बताए । उनले निर्वाचन र मानव अधिकार संगसंगै जोडिने भएकाले त्यस अवस्थामा समाचार संकलन गर्दा हरेक विषयलाई ध्यान दिनुपर्नेमा जोड दिए ।
आयोजक मिडिया एक्सन नेपालकी उपाध्यक्ष प्रिंयका झाले निर्वाचनका सिद्धान्तहरु भनेको नै निष्पक्ष, स्वतन्त्र, त्रास रहित र सबैको पहुँचमा निर्वाचन हुनुपर्ने भएको हुँदा कोही पनि छुट्नु नहुने बताएकी छिन् । उनले महिलालाई यस्तो अवस्थामा गलत अफवाह फैल्याएर निरुत्साहित बनाउन सक्ने भएकाले सञ्चार माध्यम लैङ्गिक सवालका विषयमा सचेत बन्नु पर्ने बताइन् । उनले अपाङ्ग,गर्वभती महिला, ज्येष्ठ नागरिक लगायतका सवाललाई पनि सञ्चार माध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । कार्यक्रममा अध्यक्ष पन्तले निर्वाचनको निष्पक्ष मिडिया कभरेज नैतिकता र व्यावसायिकताको सवाल, प्रेस काउन्सिल नेपालका प्रमुख अधिकृत भुसालले पत्रकारहरुको आचारसंहिता, मानव अधिकार विज्ञ दुराले निर्वाचनमा स्वच्छ समाचार सम्प्रेषण र मानव अधिकारको सवाल तथा उपाध्यक्ष झाले दुष्प्रचार र घृणायुक्त अभिव्यक्तिको न्यूनिकरण र रोकथामलगायतका विषयमा सहजिकरण गरेका थिए । प्रदेश नं.१ का झापा, मोरङ र सुनसरीका पत्रकारको सहभागिता रहेको थियो ।
मिडिया एक्सन नेपालले आयोजना गरेको प्रशिक्षणले निर्वाचनका समयमा उठान गर्नुपर्ने सवाल र स्रोताको भरपर्दा पर्न सक्ने प्रभावका विषयमा ज्ञान लिने अवसर प्राप्त भएको प्रशिक्षार्थी बिनु तिम्सिनाले बताइन् । उनले निर्वाचनको समयमा पत्रकार उम्मेद्वारको मात्रै पछि कुद्ने प्रवृत्तिले समाजका धेरै सवालहरु ओझेलमा पर्ने गरेको प्रशिक्षण पश्चात थाहा पाएको उल्लेख गरिन् । त्यस्तै प्रशिक्षार्थी छविराज ढकालले उम्मेद्वारले गर्ने भाषणाको भरमा पर्दा समाजमा भ्रम सिर्जना हुन सक्ने तर्फ प्रशिक्षणबाट सिक्ने मौका पाएको बताए । उनले लैगिक समान्ताका सवाल, अल्प संख्यकका सवाल तथा निर्वाचन अघि र निर्वाचन पश्चात हुन सक्ने विषयलाई आगामी दिनमा उठान गर्ने बताए ।
अध्यक्ष पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिका सञ्चार शाखाकी कमला निरौलालगायतले शुभकामना दिएका थिए । मिडिया एक्सन नेपालका प्रदेश नं.१ का संयोजक नरेन्द्र ढकालले सञ्चालन गरेको कार्यक्रममा सहभागी पत्रकारहरुले निर्वाचनलाई निष्पक्ष बनाउन उठान गर्नुपर्ने विषयमा जिज्ञासा राखेका थिए । मिडिया एक्सन नेपालले हालसम्म १० हजारबढी पत्रकारलाई प्रशिक्षण प्रदान गरिसकेको छ ।