इलाम : पर्यटकीय जिल्ला भनेर चिनिने इलाम सुन्दा निकै सुगम जस्तै लाग्ला । जिल्ला बाहिरका मानिसले नपुगुन्जेल निकै विकास भइसकेको बुझ्नु भएको पनि होला । इलाम देखेर वा घुमेर फर्किएकाहरूले बाहिरी रूपमा वा सडक आसपासमा त्यस्तै देखेका पनि होलान् ।
तर इलामका भित्री भागहरू अझै पनि सुगम इलाम हुने पर्खाइमा नै छन् । हो, जिल्लामा धेरै प्रकारका नगदेबाली उत्पादन हुने भएर यहाँका मानिस आर्थिक रूपमा खासै पिछडिएका छ्रैनन् । तर जति यहाँका मानिसको दिनचर्या हुनुपर्ने हो त्यो हुन सकेको छैन ।
इलामले धेरै नेता जन्मायो । यहाँबाट राजनीति सिकेर धेरै मानिस माथि पुगे तर केही गर्न सकेनन् भन्ने हाल इलामबासीले भनिरहेका छन् । यहाँ एक पार्टीका व्यक्तिमात्र माथि पुगेनन् । कुनै एक नेतालाई दोष थुपारिरहेका छैनन् यहाँका बासिन्दा । जिल्लाले नेता पाएर देश हाँक्ने प्रमुख कार्यकारी प्रधानमन्त्रीसम्म पाउँदासमेत यहाँको विकास नहुनु भनेको जिल्लाको भविष्य अन्योलमा परेको यहाँका सर्वसाधारणको भनाइ छ ।
इलाम क्षेत्र नम्वर एकबाट प्रतिनिधित्व गर्दै धेरै पटक निर्वाचित झलनाथ खनाल देशको पहिलो कार्यकारी पद अर्थात् प्रधानमन्त्री भए । तर उनले आफ्नो कार्यकालमा निर्वाचन क्षेत्र नम्बर एकमा विकासका लागि भनेर नयाँ केही काम गर्न नसकेको उनलाई भोट दिनेहरू नै बताउने गरेका छन् । सांसद विकास कोषमार्फत हुने सामान्य विकासबाहेक नयाँ र ठूला योजना झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा पार्न नसकेको सो क्षेत्रका स्थानीयको भनाइ छ ।
उनले इलाम जिल्लामा सीटीईभीटीई अर्थात् रत्नकुमार पोलिटेक्निक इन्स्टिच्युटलाई आफ्नै जग्गा दिएर हाल सञ्चालन भइरहेको छ । सो इन्स्टिच्युट उनकै कारण इलाममा आएको हो । तर सो आफ्नो घरपायक र आफ्नो निर्वाचन क्षेत्रमा निर्माण नगरेको भन्दै उनको एक नम्बर निर्वाचन क्षेत्रका बासिन्दा गुनासो गरिरहेका छन् ।
अन्य स्थानका सांसद प्रधानमन्त्री हुँदा देशका ठूला योजना आफ्ना क्षेत्रमा पार्ने काम भइरहेको छ । सडक, पुल, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासका लागि सम्बन्धित मन्त्रालयमार्फत मोटो रकम विनियोजन गरेर काम सञ्चालन भइरहेको समेत छ । तर खनालले आफ्नो क्षेत्रमा जति काम गर्न सक्थे सो अनुरुप काम गर्न नसकेको सो क्षेत्रका बासिन्दाको भनाइ छ ।
यसअघि एमालेको मत पाएर सो क्षेत्रबाट सांसद बनेका उनी यस पटक एमाले फुटेर बनेको पार्टी एकीकृत समाजवादीबाट उम्मेदवार बनेका छन् ।
संघीय निर्वाचनमा दुई वटामात्र क्षेत्र रहेको अर्को क्षेत्र नम्बर दुईमा पनि नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ दुई दशक बढीदेखि निर्वाचित भइरहेका छन् । उनले प्राय: भाषणमा इलामको क्षेत्र नम्बर दुईको अधिकांश क्षेत्रमा बत्ती पुर्याएको भाषण गर्ने गरेका छन् । सडकको स्तर त पछि स्थानिय तहले निर्माण गर्दै गरेका छन् ।
आफ्नो सांसद विकास कोषबाहेकका नयाँ योजना फसाउन नसकेका उनीमाथि त यस पटक एमालेका नेताहरूले नै खुलेर विरोध गरिरहेका छन् । एमालेबाट निर्वाचित नेम्वाङले यसअघि पटक पटक जितेर पनि केही गर्न नसकेको भनेर उनलाई जिताउन लागेका एक एमाले नेताले त उनले जिते पुन: सो क्षेत्रमा विकास नहुने भन्दै आएका छन् ।
अब पनि नेम्वाङले चुनाव जित्नु भनेको सो क्षेत्रका बासिन्दा अझ पछि पर्नु हो भनेका छन् । सो क्षेत्रमा कुनै ठूला आयोजना छैनन् । स्वास्थ्य क्षेत्रमा सो क्षेत्र अत्यन्तै पछाडि छ । शिक्षामा फड्को मार्न राम्रा कलेज नहुँदा समस्या छ । धेरै सडक बर्खामा सवारी चल्ने अवस्थामा छैनन् । सांसद विकास कोषमार्फत आउने रकमबाहेक उनले केही माखो मार्न नसकेको सो क्षेत्रका जनताको भनाइ छ ।
इलाम सदरमुकाम समेत यसै निर्वाचन क्षेत्रमा पर्छ । यहाँ रहेको सुकिलुम्बा बिमानस्थल समेत सञ्चालनमा छैन । केही समय इलाम नगरपालिकाले एकोहोरो ११ सिटको भाडा बेहोर्ने गरी सञ्चालनमा ल्याएको थियो । तर सो पनि हाल बन्द छ । यहाँ रहेको इलाम अस्पतालको अवस्था उस्तै छ ।
अस्पतालमा विशेषज्ञ नबस्दा सामान्य विरामी पर्दा पनि झापा तथा अन्य बाहिर क्षेत्रमा नै जानुपर्ने बाध्यता छ । दुइवटै निर्वाचन क्षेत्र जोडिने मेची राजमार्गमा बीचबीचमा खाल्डाखुल्डी परेर एक घण्टा समय लाग्ने सडकमा दुई घण्टा लाग्ने अवस्था आउँदा समेत निर्वाचित जनप्रतिनिधिले विकास गर्न नसकेको यहाँका स्थानीयको भनाइ छ ।