संखुवासभामा जसपाको चुनावी अभियान,पार्टी विजयी भए विकाशले फड्को मार्छः नेता याक्खा

खाँदबारीः जनता समाजवादी पार्टी नेपाल (जसपा) संखुवासभाले आइतबारबाट चुनावी अभियान सुरु गरेको जनाएको छ । आइतबार जिल्ला सदरमुकाम खाँदबारीमा एक कार्यक्रम आयोजना गरेर चुनावी अभियान प्रारम्भ गरिएको जसपा संखुवासभा अध्यक्ष कवानसेन राईले जानकारी दिए ।

खाँदाबारीमा आइतबार आयोजित निर्वाचन अभियान तयारी समितिको बैठकपछि अभियान सुरु भएको अध्यक्ष राईले बताए । बैठकले कार्तिक २७ गतेभित्र जिल्लाका सबै वडा तहसम्म निर्बाचन अभियान सम्पन्न गर्ने निर्णय गरेको बताइएको छ । जसपा संखुवासभाले पार्टीका राजनीतिक समिति सदस्य दिपक याक्खालाई प्रतिनिधि सभाको उम्मेद्वार बनाएको छ भने प्रदेश सभा सदस्य सीताराम तिम्सिना र जिल्ला उपसचिव पूर्ण शेर्पालाई क्रमशः प्रदेशतर्फ (क) र (ख) मा उम्मेद्वार बनाएको छ । कार्यक्रममा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेद्वारहरु, जसपा प्रदेश समिति सदस्यहरु भरत याक्खा र टंक मोक्तानलगायत सहभागी थिए । संखुवासभाबाट जसपाले जिल्ला अध्यक्ष कवानसेन राईसहित जितमान गुरुङ र मुना राई (लिम्बू) लाई प्रदेश सभातर्फ समानुपातिक उम्मेद्वारका रूपमा अघि सारेको छ । आइतबार आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधि सभा उम्मेद्वार याक्खाले भने –‘संखुवासभाबाट पटक–पटक कांग्रेस र कम्युनिष्टहरुले जितेर गए । तर कुनै त्यस्तो महत्त्वपूर्ण कार्य गरेनन् । जनताले मसहित जसपाका उम्मेद्वारलाई जिताउनु भयो भने भ्रष्टाचार नियन्त्रण गर्दै संखुवासभामा विकासको कायपलट गर्ने छौं, यो हाम्रो प्रतिज्ञा हो । जिल्लामा विकाशले फड्को मार्ने उनको दावी छ । संखुवासभाको विकासका लागि कृषि र पर्यटन प्रवद्र्धन नै आधारस्तम्भ भएको जिकिर गर्दै याक्खाले जसपालाई जिताए जिल्लावासीले उत्पादन गरेका कृषि उपजको बजार खोजिरहनु नपर्ने, स्थानीय तहहरुमार्फत सरकारले नै कृषकका उत्पादन खरिद गर्ने ग्यारेन्टी दिइने बताए । सो अवसरमा उनले अमेरिकाको मेरिलेन्ड निवासी देविका राईबाट जसपा संखुवासभालाई प्रदान गरिएको १ थान ल्यापटप समेत हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार