इलाम : नेकपा (एकीकृत समाजवादी) इलामले प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ (२) का बागी उम्मेद्वार हर्कप्रसाद साम्वालाई पार्टीबाट निस्कासन गरेको छ ।
एकीकृत समाजवादी जिल्ला कमिटि इलामले एक प्रेस विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बनेका नेता साम्वालाई पार्टीबाट निस्कासन गरेको जानकारी दिएका छन् ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् ।
तर इलाम २ (२) मा एकीकृत समाजवादीका नेता साम्वाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले पार्टीको निर्देशनमा समेत निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समयभित्र उम्मेद्वारी फिर्ता नलिएपछि एकीकृत समाजवादीले पार्टीको सदस्य समेत नरहने गरी निस्कासन गरेको हो ।
साम्वा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य र माङसेबुङ गाउँपालिका इन्चार्जको जिम्मेवारीमा थिए ।
सो क्षेत्रमा गठबन्धनका तर्फबाट आधाकारिक उम्मेद्वार माओवादी केन्द्रका हर्कप्रसाद लावती (कान्छा) रहेका छन् । उनको निर्वाचन चिन्ह गोलाकारभित्र हँसिया हथौडा हो ।
यसैबीच एकीकृत समाजवादीले बाम लोकतान्त्रिक गठबन्धनका साझा आधिकारिक उम्मेद्वारहरुलाई मतदान गर्न अपिल गरेको छ । एकीकृत समाजवादीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी) का झलनाथ खनाललाई ‘कलम’ चिन्हमा, प्रदेश निर्वाचन क्षेत्र नम्बर १ (१) मा नेकपा (एकीकृत समाजवादी) का खिनु लङ्वा लिम्बुलाई ‘कलम’ चिन्हमा र प्रदेश निर्वाचन क्षेत्र नम्बर १ (२) मा नेपाली कांग्रेसका शमसेर राईलाई ‘रुख’ चिन्हमा मतदान गर्न अपिल गरेको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खडकालाई ‘रुख’ चिन्हमा, प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (१) मा नेपाली कांग्रेसका गोविन्द गिरीलाई ‘रुख’ चिन्हमा र प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (२) मा नेकपा (माओवादी केन्द्र) का हर्कबहादुर लावती (कान्छा) लाई ‘गोलाकार भित्रको हँसिया हथौडा’ चिन्हमा मतदान गरी अत्याधिक मतले विजय गराउन अपिल गरेको छ ।