फिदिम : गत मंगलबार हाङ्गुमकी जुनु राई चढेको जीप पञ्चमीदेखि अघि बढ्ने क्रममा उकालोमा पुगेपछि चिप्लिएर अघि बढ्न सकेन् । हिलोमा पटक–पटक जीप चिप्लिएपछि जुनुसहित जीपमा सवार यात्रुहरु कहालिएर चिच्याए ।
जीप चालक अजय पौडेलले जोखिम मोलेर सावधानीपूर्वक उकालो पार लगाएरै छाडे । उकालो पार गरेर केही सजिलो बाटो आएपछि आफ्नै जिल्लाले मन्त्री पाएर पनि सडक नबनाएको भन्दै पूर्वमन्त्री बसन्त नेम्बाङको नाम उच्चारण गर्दै आक्रोश पोखे ।
‘खै ! कुन नेताले पीच गर्छ यो बाटो ?’ लामो स्वास तान्दै राईले आक्रोश पोखिन्,’ जिम्मेवारीमा हुँदा काम नगर्ने नेताहरु यही सडकलाई चुनाबी एजेण्डा बनाएर भोट माग्न लजाएका छैनन् ।’ जिल्लाले यातायात मन्त्री पाएर पनि सडकहरुको दुरावस्था नदेखेको भन्दै यात्रुहरुले आक्रोश पोखे ।
राईसहितका यात्रुहरू सवार जीप गुडेको राँके–रवि–भेडेटार सडक हो । सडक कालोपत्रे गराउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व नेकपा एमालेका नेता वसन्तकुमार नेम्बाङले २० महिना सम्हाले । सडक भने कालोपत्रे भएन ।
२०७४ सालको प्रतिनिधिसभा चुनावमा वाम गठबन्धनको तर्फबाट उम्मेद्धार बन्दा सार्वजनिक गरेको घोषणापत्रमा पनि नेम्बाङले चुनाव जिते उक्त सडक कालोपत्रे गर्ने एजेन्डा समावेश गरेका थिए ।
२०७५ सालमा उनी आबद्ध दल एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कालोपत्रेका लागि उक्त सडकको शिलान्यास रविमा भयो । त्यसबेला तीन वर्षमा कालोपत्रे बन्ने नेम्बाङले मात्र होइन, प्रधानमन्त्री ओलीले समेत आश्वासन दिएका थिए । तर,चार बर्षमा पनि एक मिटर पनि सडक कालोपत्रे भएको छैन । २० महिना बिभागीय मन्त्री भएर पनि आफ्नै निर्वाचन क्षेत्रको सडकका लागि ठेक्केदारलाई काम लगाउन नसकेका उनै नेम्बाङले अधुरा कामलाई पूर्णता दिन भन्दै प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्धार बनेका छन् ।
यद्यपी, नेम्बाङले आफू मन्त्री हुँदा ३० वर्से पञ्चायती शासन व्यवस्था र त्यसपछिका वर्षहरूमा भन्दा पाँचथरमा धेरै बिकास गरेको दावी गरे । जबकि, भारतीय ठेकेदार कम्पनी एफ्को इन्फ्राको प्रा.लि.लाई काम गराएर कालोपत्रे गराउन २० महिना मन्त्री हुँदा पनि नेम्बाङले सकेनन् । जसले गर्दा राँके–रवि–भेडेटार सडक यात्रा गर्नै समस्या हुने गरी सुख्खा याममा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुँदै आएको छ । यता इलामका नागरिक समेत यस सडकलाई लिएर असन्तुष्ट देखिएका छ । सुबाश चन्द्र नेम्वाङको निर्वाचन क्षेत्रका बासिन्दालाई सहज ठानिएको उक्त सडक निर्माण पूरा नहुदा आक्रोशित भएका हुन । उनिहरुले नेम्वाङले सडक निर्माणमा पहल नगरेको आरोप लगाएका छ्न । २३ बर्षदेखि निरन्तर इलामको प्रतिनिधित्व गर्दै सदन सम्म पुगेपनी इलामको बिकासमा ध्यान बदिएको बताएका छ्न । उनिहरुले यसपटक भने नयाँ अनुहारको खाचो रहेको बताउदै आएका छ्न
तर, यता आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा चुनावका लागि आइतबार एमालेबाट उम्मेदवारी दर्ता गराउनुअघि नेम्बाङद्वयले नै उक्त सडक कालोपत्रे नहुनुको दोष ठेकेदार कम्पनीलाई लगाएर पन्छिए ।