विशाल राई उपचारार्थ आयोजित कन्सर्टको आयव्यय सार्वजनिक

झापा : गत १० असोजमा झापाको दमकमा आयोना गरिएको सांगीतिक कार्यक्रमको आयव्यय सार्वजनिक गरिएको छ ।

शिवसताक्षी ८ का २९ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ आयोजित मुस्ताङ मनोरञ्जन धमाका कन्सर्टको आम्दानी र खर्च विवरण बिहीबार पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार भेटघाट गरी सार्वजनिक गरिएको हो ।

सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित राईको उपचार सहयोगार्थ सुप्रसिद्ध गायक (राईइज किंग) राजेशपायल राईसहित चर्चित गायक एकदेव लिम्बूले प्रस्तुति दिएका थिए । दमक ९ स्थित सरस्वती माविको प्राङ्गणमा भएको कन्सर्टमा सुनिला लिम्बू, ममता गुरुङ र निमा तामाङले गायकद्वयले पनि आ–आफ्नो प्रस्तुति दिएका थिए ।

कदम थिएटरको मूल संयोजन रहेको कार्यक्रममा विशाल राई बचाउ अभियान, थैली इन्टरटेनमेन्टले आयोजना गरेका थिए भने सिल्भर इन्टरटेनमेन्टले इभेन्ट मेनेजमेन्टको जिम्मा लिएको थियो ।

काठमाडौंस्थित सिभिल अस्पतालमा उपचाररत विशालको उपचारका लागि ३५ लाख बढी खर्च लाग्ने उनका दाजु धिरज राईले जानकारी दिए । अभियानका संयोजक बलु राईका अनुसार हालसम्म विशालको उपचारमा करिब १५ लाख खर्च भैसकेको छ ।

कन्सर्टमा सर्वसाधारणका लागि टिकटदर ३ सय तोकिएको थियो भने विद्यार्थीका लागि २ सय कायम गरिएको थियो । टिकट बिक्रीबाट ३ लाख ५० हजारसहित अन्य दाताहरुबाट गरी ७ लाख ६८ हजार आम्दानी भएको अभियान संयोजक राईले बताए । त्यस्तै कलाकार पारिश्रमिक, स्टेज निर्माणलगायत अन्य खर्च गरी ४ लाख ६६ हजार ६ सय खर्च हुन गएको र ३ लाख १ हजार ४ सय बचत हुन पुगेको हो । पत्रकार भेटघाटमा खर्चको आय–व्यय विवरण लिखित रूपमा प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार