पाँचथरमा नेम्बाङ भर्सेस आङ्देम्बे,कस्ले मार्ला बाजी ?

पाँचथरः पाँचथरमा एमाले नेता बसन्त कुमार नेम्बाङ र नेपाली कांग्रेसका नेता भिष्मराज आङ्देम्बे बीच आगामी चुनावमा चुनावी भिडन्त हुने भएको छ । एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको यस जिल्लामा आङ्देम्बेलाई नेम्बाङ विरुद्ध मत दिएर विजयी गराउन गठबन्धन तमतयार भएपनि त्यति सहज भने छैन । यस पटक नेम्बाङ भर्सेस आङ्देम्बेको कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको छ ।

सत्तागठबन्धको बलियो कसरतले पाँचथरको स्थानीयतहको निर्वाचनमा कांग्रेसलाई दर्विलो बनाउन सफल बनेको दावी गर्दै विगतमा पटकपटक पराजित बनेको कांग्रेसलाई यसपटक विजयी बनाउन लागि परेको नेता आङ्देम्बेको दावी छ ।

यता एमालेका नेता नेम्बाङ हाल वहालवाल संघीय सांसद समेत रहेकोले पाँचथरका आम नागरिकको दैनिकी र उनीहरुको जीवनसंग जोडिएर विगत लामो समयदेखि राजनीतिमा होमिएको बताउँछन् ।

आङ्देम्बेको पुर्ख्यौली घर पाँचथरको फाल्गुनन्दको नवमीडाँडा हो भने नेम्बाङको फिदिम नगरपालिकामा पर्दछ । पाँचथरमा विगतका चुनावहरुदेखि नै नेम्बाङ र आङ्देम्बे चुनावी प्रतिस्पर्धा गर्दै आएका छन् । २०७४ सालमा आङ्देम्बेलाई नेम्बाङले हराएका थिए । त्यस अघि संविधानसभाको चुनावमा भने कांग्रेस नेता आङ्देम्बे निर्वाचित भए ।

कांग्रेसको १४ औं महाधिवेशनबाट  सहमहामन्त्री बनेका नेता आङ्देम्बे यसपटक निक्कै केन्द्रिय राजनितीमा पनि चर्चामा आएका छन् । जिल्लामा हुने धेरै कार्यक्रममा उनले समय दिन थालेका छन् । राजनीतिक भेटघाट र छलफल समेत बढाउन थालेका छन् । एमालेका केन्द्रिय सदस्य समेत रहेका नेम्बाङ पनि केपी शर्मा ओली नेतृत्वको सरकारमा पटक-पटम मन्त्री भएर धेरै काममा सफल बनेका छन् । तत्कालीन सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका बेला देशभरका सडक मर्मत गरेका कारण लोकप्रिय बनेका थिए तर, १ नम्बर प्रदेशको गौरवको आयोजना मानिएको आफ्नै गृहजिल्लाको भेडेटार-रवि-राँके सडक कालोपत्रको काम अलपत्र हुँदा भने उनले जिल्लाबासीको गुनासो सुन्नु परेको छ ।

०७४ सालको निर्वाचनमा वाम गठबन्धन (एमाले)का तर्फबाट उम्मेदवार बनेका नेम्वाङले ३८ हजार ६४१ मत ल्याएर विजयी हुँदा कांग्रेसका आङदेम्बेले २८ हजार २५ मत ल्याएका थिए ।

अघिल्लो निर्वाचनमा १० हजार ६१६ मतान्तरले पराजित आङदेम्बे यसपटक जित हात पार्ने दाउमा  छन् ।

त्यसबेला जनता समाजवादी पार्टी,नेपालबाट प्रेमराज लावतीले १ हजार ९९४ मत पाएको थिए । संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सागर केरुङले १ हजार ५९३ मत पाएका थिए । आगामी निर्वाचनमा पनि जसपाका उनै लावती र संलोरामबाट जस बहादुर योङ्हाङ उनीहरुको प्रतिस्पर्धी बनेर चुनावी मैदानमा उत्रिएका छन् ।

स्थानीयतहको निर्वाचनलाई आधार मान्ने हो भने पाँचथरमा एमाले बलियो देखिन्छ । एमालेका वडाध्यक्षका उम्मेदवारले यो क्षेत्रमा ३० हजार ९५८ मत प्राप्त गरेका छन् । कांग्रेसले २५ हजार ६५ मत प्राप्त गर्दा माओवादीले ११ हजार ८०८, जसपाले २ हजार ६४३, नेकपा एसले २ हजार १६१ र राप्रपाले १ हजार ९०९ मत प्राप्त गरेका छन् ।

जिल्लाका ८ पालिकामध्ये ६ पालिका कांग्रेसले जितेर पहिलो दल बनेको छ भने एमाले र माओवादीले एक-एक पालिका जितेका छन् । कांग्रेसले कुम्मायक, तुम्वेवा, फालेलुङ, फाल्गुनन्द र हिलिहाङ गाउँपालिकासहित फिदिम नगरपालिका जितेको छ । स्थानीय तहको परिणाम हेर्ने हो भने एमालेका लागि असहज देखिएको छ ।

त्यस्तै, माओवादीले मिक्लाजुङ गाउँपालिका र एमाले याङवरक गाउँपालिकामा निर्वाचित भएको छ । वडागत मतका आधारमा एमालेको सबैभन्दा बढी मत भए पनि सत्तागठबन्धनका दलहरुको मत एमालेको भन्दा बढी छ। पाँचथरमा पुरुष ७३ हजार तीन सय ६६ र महिला ६५ हजार पाँच सय ६६ गरि जम्मा १ लाख ३८ हजार ९३२ मतदादा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यहि मत परिणाको भरमा मात्रै चुनाव हारजित हुने आँकलन भन्दा पनि जनताले मंशीर ४ गते कस्को पक्षमा मत खसाल्छन् त्यसबाट दुई नेता बीच कस्ले बाजी मार्न सक्छ मत परिणाम सार्वजानिले पुष्टि हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार