इलाम : लोकतान्त्रिक बाम गठबन्धनको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम विहीबार इलामको क्षेत्र नम्बर २ अन्तरगत चुलाचुलीमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनले चुलाचुलीमा प्रारम्भिक चरणको कार्यकर्ता भेटघाट कार्यक्रम गरेको हो ।
कार्यक्रममा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार डम्बरबहादुर खड्का, क्षेत्र नम्बर २ (२) प्रदेशसभा सदस्य उम्मेद्वार हर्कबहादुर लावती कान्छा, माओवादी केन्द्रका जिल्ला संयोजक विजय खम्ब, कांग्रेस जिल्ला उपसभापति खगेन्द्र देवान, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङलगायत नेताहरुको उपस्थिती थियो ।
कार्यक्रममा गठबन्धनका नेताहरुले लोकतान्त्रि बाम गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गरी विजय गराउन अपिल गरेका थिए ।
उम्मेद्वारहरुले गठबन्धनको आचित्यसहितको आफ्नो चुनावी प्रतिवद्धता चुलाचुलीबासी समक्ष व्यक्त गरेका थिए ।
प्रतिनिधिसभा सदस्य उम्मेद्वार खड्काले प्रतिगमनको विरुद्धमा गठबन्धन भएको भन्दै संविधानको रक्षा गर्न र राष्ट्र बचाउनकै लागि गठबन्धनको उम्मेद्वारलाई जिताउन अपिल गरे । ‘संविधान मास्ने, भ्रष्ट्राचारी, तानाशाही र स्वेच्छाचारी केपी ओलीको विकल्पमा गठबन्धन बनेको छ । त्यसैले संविधानको रक्षा गर्न र राष्ट्र बचाउनका लागि हामीलाई मत दिनुहोस्’ खड्काले मतदातामासु अपिल गरे ।
प्रदेशसभा सदस्य उम्मेद्वार लावतीले लोकतन्त्रको सुदृढ, संविधानको रक्षा एवम् संघीयताको कार्यान्वयनका लागि गठबन्धन बनेको बताउँदै त्यसैका लागि गठबन्धनलाई जिताउन अपिले गरे ।
निर्वाचन चिन्ह पाएसँगै उम्मेद्वारहरु यतिबेला जनताको घरदैलोमा व्यस्त हुन थालेका छन् । गठबन्धनले शुक्रबार माई नगरपालिकामा कार्यक्रम तय गरेको छ ।