इलामको सानी पाथिभरामा भक्तजन र पर्यटकको आवागमन बढ्याे


इलाम : दशैंसँगै इलामको सानी पाथिभरा मन्दिरमा भक्तजन र पर्यटकको आवागमन बढेको छ । पर्यटक र भक्तजनको बाक्लो उपस्थिति भएपछि रोङ गाउँपालिकाले प्रदेश र संघीय सरकारको समन्वयमा पर्यटन पूर्वाधार निर्माणको काम समेत सुरु गरेको हाे । यहाँ तीर्थालुको लागि खान-बस्नका लागि कुटिडाँडा बजारमा साना मझौला स्तरका होटल रेष्टुरेन्ट र मन्दिर व्यवस्थापन समितिबाट संचालित गेष्ट हाउस समेत रहेका छन् ।

मेची राजमार्गको हाँसपोखरी भएर पर्वी नेपालको प्रमुख धार्मिकस्थल सानी पाथिभरा दर्शनका लागि यात्रा तय गरिन्छ । पाथिभरा मन्दिर दर्शनका लागि कुटिडाँडा र हाँसपोखरी दुवै क्षेत्रबाट पदयात्रा गरिन्छ । धेरै भक्तजनहरूले हाँसपोखरीमा रहेको सिद्धिदेवी मन्दिरको दर्शनपछि सानी पाथिभरा दर्शनका लागि पैदल यात्रा गर्दै आएका छन् ।

भक्तजनको सुविधाका लागि यहाँ पक्कि पदमार्ग निर्माणको काम हुँदै आएको छ । हाँसपोखरीबाट पाथिभरा मन्दिरसम्म पुग्ने घोडेटो बाटोको दूरी ९ सय मिटर रहेको छ । रोङ गाउँपालिका–३ स्थित डाँडामा रहेको पाथिभरा देवीको मन्दिरको यात्राका क्रममा कुँटिडाँडाका होटलमा खाना र खाना खान पाइन्छ ।

पूर्वपश्चिम राजमार्ग चार आलीबाट उत्तर मेची राजमार्ग समाएर १ घण्टाको उकालो यात्रामा सानी पाथिभरा आइपुगिन्छ । भक्तजनको सुविधाका लागि पाथिभरा क्षेत्रमा गाउँपालिकाले निजी क्षेत्रको लगानीमा केवलकार संचालनको योजना अघि सारेको छ । पर्यटक र भक्तजनको भीड लागेपछि रोङ गाउँपालिकाले पर्यटन प्रदेश र संघीय सरकारसँगको समन्वयमा पर्यटन पूर्वाधार निर्माण गरिँदै आएको पालिका अध्यक्ष मनिकुमार साङबोले बताउनुभयो ।

चाडबाडका साथै शनिबार र मंगलबार बढी तीर्थालुको भीड लाग्ने गरेको पाथिभरामा नेपाल, भारत, भुटानसम्मका तीर्थयात्री र पर्यटकहरू आउने गरेका हुन् । तीर्थालुको लागि खाने र बस्नका लागि कुटिडाँडा बजारमा साना मझौला स्तरका होटल रेष्टुरेन्ट र मन्दिर व्यवस्थापन समितिबाट संचालित गेष्ट हाउस पनि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार