इलाम : इलामको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले चुनावको समयमा जनतासमक्ष आफूले गरेका प्रतिवद्धताहरु पूरा गर्न थालेका छन् ।
चुलाचुलीका अध्यक्ष केरुङले स्थानीय तहको निर्वाचनको समयमा सामाजिक सुरक्षा भत्ता घरघरमा ल्याएर दिने बताएकोमा सो प्रतिवद्धता कार्यान्वयन गर्न थालेका हुन् ।
अध्यक्ष केरुङले बुधबार वडा नम्बर ५ देखि औपचारिक रुपमा घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेका हुन् । यसरी नै सबै वडामा भत्ता वितरणको कार्यक्रम पालिकाले तय गरेको छ । सेवाग्राहीलाई बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हैरानी खेप्नुपरेको भन्दै अध्यक्ष केरुङले बैंकसँगको सहकार्यमा घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका हुन् ।
गाउँ कार्यपालिकाको बैठकबाटै निर्णय गरेर सामान्य सेवाग्राहीका लागि प्रत्येक वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ । तर अशक्त, अपाङ्गता भएका, बालबालिका र जेष्ठ नागरिकहरुका लागि भने घरघरमै गएर भत्ता वितरण सुरु गरिएको हो ।
‘हामीले सामान्य सेवाग्राहीलाई वडावडामा शिविर संचालन गरेर भत्ता वितरण गर्छौं’ अध्यक्ष केरुङले भने, ‘तर घरबाट वडासम्म समेत आउन नसक्ने अशक्त, अपाङ्गता भएका, बालबालिका र जेष्ठ नागरिकहरुलाई भने उहाँहरुका घरमा नै गएर हातैमा थमाइदिने व्यवस्था गरेका छौं ।’ त्यस्ता सेवाग्राहीको हातहातमा भत्ता पुर्याउन अध्यक्ष केरुङ बुधबार दिनभर खटेका थिए ।
निर्वाचनका लागि आफ्नो पक्षमा मत माग्दै गर्दा केरुङले सामाजिक सुरक्षाभत्ता वितरणमा भइरहेको समस्या निराकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही अनुरुप आफू निर्वाचित भएपछि उनले घरघरमै पुगेर त्यस्तो भत्ता वितरण गर्ने व्यवस्था मिलाएका हुन् ।
‘भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीलाई बैंकसम्म आउनजान अत्यन्तै कठिन भएका कारण बैंकसँग सहकार्य गरी यस्तो व्यवस्था मिलाएको हुँ’ अध्यक्ष केरुङले भने, ‘आफू निर्वाचित भएपछि आजबाट औपचारिक रुपमा कार्यान्वयनमा ल्याएको छु । यसलाई निरन्तरता दिनेछु । ‘

योसँगै केरुङले चुनावको दौरानमा मतदाताहरुसँग गरेको एउटा बाचा पूरा भएको छ । अब गाउँपालिकाभित्रका जनप्रतिनिधि र कर्मचारीहरू सामाजिक सुरक्षा भत्ता बोकेर सर्वसाधारण जनताको घरघरमै पुग्नेछन् । यसबाट भत्ता लिनकै लागि टाढाटाढादेखि आएर बैंकमा पालो कुर्नुपर्ने झन्झट केरुङले अन्त्य गरिदिएका छन् ।
यसअघि गाउँपालिकाले चुलाचुलीमा रहेको एनएमबी बैंकमार्फत ६ वटै वडामा भत्ता वितरण गर्दै आएको थियो । त्यसो गर्दा बैंकमा सेवाग्राहीको चाप बढ्ने र टाढाटाढाबाट गाउँपालिकासम्म धाउनुपर्ने भएकाले सेवाग्राहीले हैरानी खेपिरहेका थिए । घरघरमै भत्ता आउन थालेपछि सेवाग्राही समेत खुसी भएका छन् । गाउँपालिकाको यो निर्णयबाट जनताले स्थानीय सरकार घरघरमा आएको वास्तविक रुपमा महसुस गर्न पाएका छन् ।
चुलाचुलीमा एक किस्ता त्रैमासिकमा सबै प्रकारका २ हजार १ सय ७७ जनाले २ करोड १३ लाख १७ हजार ७ सय ४ रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँछन् । जसमध्ये अन्य जेष्ठ नागरिक भत्ता १ हजार ३ सय ७१ जनाले १ करोड ५६ लाख ७२ हजार ७ सय ८८ रुपैयाँ, जेष्ठ नागरिक भत्ता (दलित) ८९ जनाले ७ लाख ४ हजार ९ सय, जेष्ठ नागरिक एकल महिला २ सय ७५ जनाले १३ लाख ६९ हजार ४ सय ७१ रुपैयाँ पाउँछन् ।
त्यस्तै विधवा (आर्थिक सहायता) २ सय २७ जनाले १७ लाख ७९ हजार ५ सय ४०, पूर्ण अशक्त अपाङ्गता आर्थिक सहायता (क वर्ग) ४२ जनाले ५ लाख २ हजार ७ सय ४०, अति अशक्त अपाङ्गता आर्थिक सहायता (ख वर्ग) १ सय ७९ जनाले ११ लाख ४२ हजार ७ सय ३६ र दलित बालबालिका ९४ जनाले १ लाख ४५ हजार ५ सय २९ रुपैयाँ पाउने गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।
चुलाचुलीमा ६ वटा वडा रहेका छन् । २०७८ को जनगणनाको प्रारम्भिक नतिजा अनुसार चुलाचुलीमा २२ हजार ८ सय ५६ जनसंख्या रहेको छ ।
अध्यक्ष केरुङ गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा ठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भई चुलाचुली गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
उनले नेकपा एमालेका ओमनारायण खनाललाई २ हजार ८ सय ९५ मतान्तरले पराजित गरेका थिए । केरुङले ६ हजार ६ सय ५० मत ल्याउँदा खनालले ३ हजार ७ सय ५५ मत मात्र ल्याएका थिए । सो पालिकामा उपाध्यक्ष बाहेक सबै वडा अध्यक्ष र सदियहरु कांग्रेसले जितेको छ ।