इलाम : नेपाली कांग्रेस परित्याग गरी इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएको जुनु माखिमले ‘खर्पन बोकेको मान्छे’ चुनाव चिन्ह पाएकी छन् ।
निर्वाचन आयोजकको कार्यक्रम तालिका अनुसार बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले माखिमलगायत तीन जना स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको हो ।
सोही क्षेत्रका अर्का स्वतन्त्र उम्मेद्वार दिपेश बोहोरालाई ‘मुढा’ र प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (२) का स्वतन्त्र उम्मेद्वार हर्कप्रसाद साम्बाले ‘जेब्रा’ चुनाव चिन्ह पाएका छन् ।
कांग्रेसकी महाधिवेशन प्रतिनिधि माखिमले समानुपातिक उम्मेद्वार बन्न चाहेकी थिइन् । उनको सिफारिस पनि भएको थियो । तर समानुपातिक उम्मेद्वारको बन्द सूचिमा नाम नपरेपछि माखिमले पार्टी परित्याग गरेकी थिइन् ।
अहिले उनी इलाम-२ बाट स्वतन्त्र उम्मेदवार बनेकी छन् । सत्ता गठबन्धनले उक्त क्षेत्रमा नेपाली कांग्रेसका सभापति डम्बरबहादुर खड्कालाई उठाएको छ भने नेकपा एमालेले पूर्व सभामुख एवं पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्बाङलाई उठाएको छ ।
सडक मुख्य चुनावी मुद्धा
माखिमको मुख्य चुनावी मुद्धा सडक रहेको छ । अहिलेपनि आफ्नो क्षेत्रमा सडकको अवस्था बेहाल रहेको बताउँदै माखिमले आफ्नो लागि पहिलो प्राथमिकता सडक रहेको बताइन् ।
सो क्षेत्रमा २०५६ सालदेखि सुवासचन्द्र नेम्बाङले लगातार निर्वाचन जित्दै आएपनि कुनै काम गर्न नसकेको आरोप लगाइन् ।
‘अहिले पनि हाम्रो क्षेत्रमा नियमित रुपमा गाडी चल्ने अवस्था छैन । अहिले अधिकांश ठाउँ भैंसी डुब्ने खाडल बनेका छन् । यसअघि जितेका प्रतिनिधिले जनआकांक्षा अनुरुप काम गर्न सुक्नुभएन’ माखिमले भनिन्, यदि मैले चुनाव जिते भने सबैभन्दा पहिलो प्राथमिकता सडक निर्माण र मर्मतमा हुन्छ ।’
बागीको आरोप, माखिमद्वारा अस्वीकार
यता सत्ता गठबन्धनले आफ्नै दलकी नेतृले स्वतन्त्र उम्मेद्वार दिनुलाई बागी उम्मेदवारको आरोप लगाएका छन् । गठबन्धनले माखिमको उम्मेद्वारी फिर्ता गराउने कोसिस गरेपनि सफल हुन सकेन । जिल्ला सभापति नै गठबन्धको तर्फबाट उम्मेद्वार बन्दा सोही क्षेत्रमा स्वतन्त्र उम्मेद्वार बन्नुले त्यो आरोप पुष्ट हुनसक्ने गठबन्धनका नेताहरुको बुझाई छ ।
तर माखिमले भने बागी उम्मेद्वार अस्वीकार गर्छिन् । आफू कसैको बागी उम्मेद्वार नभई समग्र क्षेत्र नम्बर २ को मतदाताहरुको साझा स्वतन्त्र उम्मेद्वार रहेको दावी गर्छिन् ।
‘म कसैको बागी उम्मेद्वार होइन, मैले आफ्नो पार्टिमा राजिनामा दिइसकेकाले स्वतन्त्र छु’ माखिमले भनिन्, ‘म समग्र क्षेत्रको प्रतिनिधित्व गर्ने साझा उम्मेद्वार हुँ ।’
माखिमले ठूला पार्टीहरुले जहिलेपनि पुरुषलाई मात्र उम्मेद्वार बनाउँदा महिला जहिले पछि परिरहने भएकाले महिलाले पनि नेतृत्व गर्नुपर्छ भन्ने सोचाईका साथ उम्मेदवारी दिएकी बताइन् । उनले क्षेत्रका सम्पूर्ण मतादाताहरुलाई एक मत आफूलाई दिएर जिताउन आग्रह समेत गरेकी छन् ।
१४ जना प्रतिष्पर्धी
यो क्षेत्रमा गठबन्धनका उम्मेदवार खड्का र एमालेका नेम्बाङबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन धेरै मतदाताको छ । त्यहाँ राष्ट्रिय जनमुक्ति पार्टीका खड्गबहादुर पालुङ्वा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बू, नेपाली कांग्रेस (वि.पी.) का डाकप्रसाद गौतम, सामाजिक लोकतान्त्रिक पार्टीका तिलकबहादुर मगर, लोकतान्त्रिक समाजवादी पार्टीका निरमणी माङमु लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटा, मंगोल नेशनल अर्गनाइजेशनका मणीकुमार लिम्बू (पापो), नेकपा कम्युनिष्ट पार्टीका याकबहादुर लिम्बू, नता समाजवादी पार्टी नेपालका यामप्रसाद लिम्बू र स्वतन्त्र दिपेश बोहोरा चुनावी मैदानमा छन्।