इलाम : इलामकाे क्षेत्र नं. २ मा सुवासचन्द्र नेम्वाङविरुद्ध योपटक नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्का मुख्य प्रतिस्पर्धी छन्। खड्का गठबन्धनको बलमा योपटक नेम्वाङको २३ वर्षे एकात्मक शासन अन्त्य गर्दै युवा नेतृत्व स्थापित गर्ने ध्येयमा छन्।
अघिल्लो पटक प्रदेशसभामा राम रानासँग हारेका खड्का योपटक एमालेका हेभिवेट नेतालाई हराउँदै आफूलाई प्रमाणित गर्ने अवसरमा छन्। नेम्वाङको क्षेत्रमा योपटक एमाले फुटेका कारण आफूले जित्ने खड्काको दाबी छ।
गत स्थानीय निर्वाचनको मत हेर्दा एमालेको पकड मानिएको यो क्षेत्रमा गठबन्धन बलियो देखिन्छ। स्थानीय निर्वाचनमा सीमित वडा बाहेक दलहरू एक्लाएक्लै निर्वाचनमा होमिएका थिए।
वडागत तर्फ कांग्रेसले ३२ हजार ९७८, एमाले ३२ हजार ५२७, माओवादीले २ हजार १०७, जसपाले ५५४, नेकपा (एकीकृत समाजवादी)ले २७७ र राप्रपाको १३० मत ल्याएको देखिन्छ। त्यस क्षेत्रमा ४२ वडामध्ये कांग्रेसले २२ र नेकपा एमालेले १७ वटा वडा जितेका छन्। त्यसैगरी माओवादी केन्द्र, राष्ट्रिय जनमुक्ति र लिम्बुवानले समान १÷१ वडा जितेका थिए ।
माईखोलाले छुट्याएको इलाम क्षेत्र नं २ मा इलाम र देउमाई नपा छन् । त्यसैगरी माङ्सेबुङ, चुलाचुली र फाकफोकथुम गापाका साथै माई नपाका ३ वटा वडा (साविक महमाई गाविस) समेत यसै क्षेत्रमा छ।
गत स्थानीय चुनावमा कांग्रेसले इलाम नपाका नगर प्रमुख र उपप्रमुख नै जितेको थियो। एमालेले देउमाई नपामा प्रमुख र उपप्रमुख जितेको थियो। यसैगरी चुलाचुली गापामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो। फाकफोकथुम गापा अध्यक्ष, उपाध्यक्ष एमालेले जितेको थियो भने माङसेबुङ गापामा एमालेले अध्यक्ष र उपाध्यक्ष गठबन्धन भित्रको जसपाले जितेको थियो ।