इलाम : इलामको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमाले बाट एमाले उपाध्यक्ष सुबासचन्द्र नेम्वाङ र नेपाली काँग्रेसबाट जिल्ला सभापति डम्बर खड्काले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । खड्काले सत्तारुढ गठबन्धनबाट मनोनयन दर्ता गराएका हुन । खड्काको उम्मेदवारी परे संगै इलाम क्षेत्र नम्बर २ मा ०५६ सालदेखि अपराजित रहेका सुवासचन्द्र नेम्वाङलाई भने गठबन्धनले अप्ठ्यारो पार्ने देखिएको छ । क्षेत्र नम्बर २ मा नेम्बाङको संसदीय चुनावी यात्रा लगातार पाँचौं पटक हो । ०५६ देखि एमालेबाट लगातार त्यस क्षेत्रबाट उम्मेद्वार बन्दै आएका नेम्बाङले सबै निर्वाचन जित्दै आएका छन् ।
तर यस पटकको निर्वाचनमा नेम्बाङलाई सत्ता गठबन्धन मुख्य चुनौती बन्नेछ । सो क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेस इलाम सभापति डम्बरबहादुर खड्का चुनावी मैदानमा छन् । खड्का युबा नेता हुन भने अफ्टयारोमा सबैलाई सहयोग गर्ने काम गर्दै आएका कारण लोकप्रिय नेताका रुपमा समेत परिचित छन् यसैले पनि नेम्बाङलाई सकस देखिएको हो ।
को हुन डम्बर खड्का ? अनि कसरी सुरु भयो उनको राजनीतिक र समाजिक यात्रा
इलाम नगरपालिका वडा नं ७ इलाम बजार साबिकको वडा नं २ मा २०३१ सालमा बुबा धन बहादुर खडका, आमा मन मायाको कान्छो सन्तानको रुपमा जन्म लिएका खड्काको बाल्यकाल दुखमा बित्यो । सामान्य परिवारमा जन्मिएका खड्का सानै बाट राजनैनिमा रुची राख्दथे । आदर्श माविमा नेविसंघ अध्यक्ष भएपछि शुरु भएको खड्काको राजनीतिक यात्रा २०५१ सालमा नेवि संघको जिल्ला सभापति बन्दै २७ वर्षसम्म लगातार हारेको मरब क्याम्पस, इलामको स्ववियु चुनाव दुई पटकसम्म विजयी गराएर एउटा इतिहास बनाएका थिए ।
२०६३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष निर्वाचित भई देशभरका विद्यार्थीहरुको नेतृत्व गर्दै बिभिन्न स्थानमा गएर प्रशिक्षण तथा वल्र्ड युथ फेस्टीवलमा भाग समेत लिएर इलामको नाम राख्न सफल खड्काले शसस्त्र द्वन्द्वकालमा शान्तिवार्ताको सहजकर्ताको भूमिका गर्दै द्वन्द्धबाट प्रभाबित इलामबासीलाई थोरै भएपनि मल्हम लगाउने प्रयास गरेका थिए ।
यस्तै विश्वभर फैलिरहेको कोभिड माहामारीमा पनि गरिव दुखिको उपचारकालगि हरेक काम गरेका खड्काले दुःख–सुख, आपत–विपत, गरिब–दिनखुःखी, अशक्त, अन्यायमा परेका इलामबासीहरुको साथमै रहेर काम गरिरहेकोले पनि अहिले इलाममा सबैको पृय पात्रका रुपमा रहेका छन् । नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट इलाम जिल्ला सभापतिमा खड्का विजयी बनेका हुन ।
नेम्वाङका कमजोरी
नेम्वाङलाई पहिलाका तुलनामा यो चुनाव चुनौतीपूर्ण देखिन्छ। एकातिर गठबन्धनको भार अर्कोतर्फ आफ्नै कमजोरीका कारण उनलाई गाह्रो पर्न सक्ने स्थानीय राजनीतिका जानकारहरू बताउँछन् । स्थानीय तह चुनावमा टिकट वितरणमा भेदभाव भएको भन्दै पार्टीभित्रै असन्तुष्टिसमेत बढेका छन्।
त्योसँगै विकास निर्माणको काम नगरेको भन्दै एमालेसँग इलाम–२ का मतदाताको असन्तुष्टि बढेको देखिएको हाे। विशेषगरी राँके–रवि सडक नबनेकामा नागरिक असन्तुष्ट रहेका छन् । यो सडक केही समयअघि एमाले अध्यक्ष केपी ओलीले नै उद्घाटन गरेका थिए।
इलामको ठूला ‘प्रोजेक्ट’मध्येको यो एक हो, यो सडक। उक्त सडक खण्ड धनकुटा, इलाम र पाँचथरको सिमानामा पनि पर्छ। तर काम पूरा भएको छैन। अहिले बाटोको स्थिति झन् खराब रहेको देखिन्छ। यसलाई लिएर नागरिक असन्तुष्टि बढेको हाे ।
‘एमालेले त्यत्रो हल्ला गरेर बाटो उद्घघाटन ग¥यो। तर खोइ आएन अहिलेसम्म भनेर जनताले प्रश्न गर्न थालेका छन्,’ भौगोलिक हिसाबले पनि विकट रहेको इलाम–२ मा बाटो, बिजुली, बत्तीलगायत पूर्वाधार निर्माणमा नेम्वाङले काम गर्न नसकेको भन्दै उनीमाथि असन्तुष्टि बढिरहेको हो। सामाजिक सन्जालतिर हेर्दा पनि इलाम–२ मा सडक निर्माण र अन्य विकास निर्माणका काम नभएको भन्दै नेम्वाङको आलोचना सुनिन थालेका छन्।
नेम्बाङका लागि यसकारण सकस
एमालेबाट ०४८ र ०५२ मा राष्ट्रियसभाको अध्यक्ष बनेका नेम्बाङले त्यसया ०५६, ०६४, ०७० र ०७४ मा गरी लगातार ४ पटक निर्वाचन जितेका छन् । ०७४ को संसदीय चुनावमा माओवादी र एमालेबीचको गठबन्धनबाट जितेका नेम्बाङले ३६ हजार ५ सय १७ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६५ मत ल्याएका थिए । नेम्बाङको क्षेत्रमा यो पटक एमाले फुटेका कारण आफूले जित्ने कांग्रेसको दाबी छ । एमालेको पकड मानिएको यो क्षेत्रमा चुनाव जित्ने रणनीतिका लागि कांग्रेस सहित गठबन्धन दल लागिपरेका छन् ।
३० वैशाखमा भएको चुनावी मतपरिणामको आधारमा गठबन्धनभन्दा एमाले कमजोर देखिन्छ । स्थानीय निर्वाचनमा कांग्रेस ३२ हजार ९ सय ७८, एमाले ३२ हजार ५ सय २७, माओवादी २ हजार ७१ सय ७, जसपा ५ सय ५४, एस २ सय ७७ र राप्रपाको १ सय ३० मत देखिन्छ । यो निर्वाचन क्षेत्रमा एमाले र कांग्रेसको मत भने हाराहारी देखिन्छ ।
इलाम –२ मा २ नगरपालिका र ३ गाँउपालिका छन् । गत स्थानीय चुनावमा कांग्रेसले इलाम नगरपालिकाको मेयर–उपमेयर नै जितेको थियो भने एमाले देउमाई नगरपालिकामा मेयर र उपमेयर जितेको थियो । यस्तै, चलाचुली गाँउपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो । फाकफोक गाँउपालिकामा अध्यक्ष, उपाध्यक्ष एमालेले जितेको थियो भने माङसेबुङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष गठबन्धनले जितेको थियो ।